आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१८ गते
    ४९ पटक
    सप्तरी ।

    सप्तरी र सिरहा जिल्ला हेर्ने गरी राजविराजमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना गरिएको छ ।

    कृषकलाई सहयोग पुर्याउने उद्देश्यले प्रदेश नं २ को सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना गरिएको केन्द्रको बुधबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गरेका हुन् ।

    साविकको जिल्ला कृषि विकास कार्यालयमा नयाँ नामसहित स्थापना गरिएको कार्यालयको उद्घाटन गर्दै मन्त्री साहले नयाँ सोचका साथ अगाडि बढी किसानका समस्या समाधानमा अग्रसर हुन कर्मचारीलाई निर्देशन दिए ।

    मन्त्रालयले केन्द्रलाई आवश्यक सहयोग गर्ने र केन्द्रले किसानलाई सहयोग गर्नुपर्ने भन्दै उनले ३ महीनाभित्र हुने अनुगमनमा किसानले सुविधा नपाए कारवाहीका लागि तयार रहन चेतावनी दिए ।

    पहिलेभन्दा बढी व्यवस्थित ढङ्गले सञ्चालित हुनुपर्ने भन्दै प्रदेश मन्त्रालयअन्तर्गत मलखादको टेण्डर प्रक्रिया भएमा मात्र कमिशनको खेल अन्त्य भई सप्तरी र सिरहाका किसानले समयमै मलखाद पाउने बताए । कूल ४८ कर्मचारी रहेको जिल्ला कृषि विकास कार्यालय विस्थापित गरी १७ दरबन्दी भएको केन्द्रले दुई जिल्लामा सेवा पुर्याउन कठिनाइ हुने कर्मचारीले बताए । पुरानो जिल्ला पशु सेवा कार्यालयमा नयाँ नामसहितको पशु सेवा विज्ञ सम्पर्क केन्द्रको कार्यालय उदघाटन गरिएको छ । पशु सेवा विज्ञ केन्द्र भने सिरहामा रहने छ ।

    मन्त्रालयले प्रदेशभित्र ६ कृषि ज्ञान केन्द्र तथा ६ पशु सेवा विज्ञ केन्द्र स्थापना गरी कृषि र पशु सेवालाई कृषककाबीचमा सहज पहुँचको व्यवस्था गरेको मन्त्री साहले बताए । उनले कार्यालय स्थापना हुँदा केन्द्र सरकारको अधिकार प्रदेश सरकारमा आएको र प्रदेश सरकारले स्थानीयतहको कामलाईसमेत सहयोग पुर्याउने बताए ।

    कृषि र पशुपालनलाई व्यावसायिक बनाउन विज्ञको सेवा दिने, आधुनिकीकरण र यान्त्रिकीकरणबारे तालीम दिने र सबै स्थानीय तहलाई संयोजन गर्न नयाँ कार्यालय स्थापना गरिएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत किसुनदेव राउतले बताए ।

    प्रतिकृया दिनुहोस्