आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१० गते
    २०१३ पटक
    सनत रेग्मी ।

    नेपालगन्जमा ट्यालेन्ट शो र सौन्दर्य प्रतियोगिताहरु प्रारम्भ गरिंदैछन् । त्यसमा नेपालगन्जमा रुढिग्रस्त समाज मानिएका छोरी बुहारीहरुको आश्चर्य लाग्दो सहभागिता देखियो । हिजोसम्म घरबाट बाहिर निस्कन न पाइने वर्ग आज स्टेजमा उत्रिइसकेको छ । यो नेपालगन्जको बदलिंदो समाज परिवर्तनको ठूलो फड्को हो ।

    सुरुमा नेपालगन्ज सानो थियो । यहाँका नागरिकहरुको सोंच पनि साँघुरो थियो । बिस्तारै नेपालगन्ज बिस्तारित हुँदै गयो । तर, भौतिक रुपमा बिस्तारित भए पनि मानसिकतामा परिवर्तन आएको थिएन ।

    तर, आज भने नेपालगन्ज बदलिने प्रक्रियामा अघि बढेको छ । आज मानसिकतामा पनि परिवर्तन आएको छन देखिन थालिएको छ ।

    एउटा समय थियो, नारी शिक्षाका लागि खोलिएको सरस्वती विद्यालयमा विद्यार्थी छात्रा भर्ना गर्न घरघर धाउनु पथ्र्यो । अभिभावकहरुलाई सम्झाउन हम्मेहम्मे सबै थोक देखिएपनि अनुहार देखिनु हुन्न भन्ने परम्परामा बाँचेको थियो नेपालगन्जको स्त्री समाज, हिन्दुहरुमा पर्दा प्रथा र मुस्लिमहरुमा बुर्काले मुख ढाक्ने प्रथा निकै कडाइका साथ पालना गराइन्थ्यो ।

    चौध पन्ध्रकी छोरी हुनासाथ उसलाई घरबाट निस्कन मनाही थियो । ४०/५० बर्षकी अधवैसे नारी बाहेक अरुको अनुहार देखिन्नथे । १५ बर्षकी छोरी हुनासाथ बिहे गरिदिने चलन थियो । सहशिक्षाको प्रचलन थिएन । पछि मंगल माष्टर साहेको पाठशालामा केही प्रगतिशिल परिवारबाट छात्राहरुलाई मंगल स्कुलमा सहशिक्षाको प्रबन्ध भएपनि कडा अनुशासन थियो ।

    कुनै केटी कुनै केटासँग गफ गरेको पाइएमा अनुशासात्मक कारवाही स्वरुप दुवै हत्केलामा बेतको डाम सहनु पर्दथ्यो । मंगल स्कुलको सहशिक्षा २०२० सालतिर मात्र नारायण हाइ स्कुलमा लागु भयो । त्यतिबेलासम्म निम्न वर्गका, मधेसीमूलका छात्रा अथवा उच्च वर्गका चेतनशील परिवारका छात्राहरु सरस्वती विद्यालयमा पढ्ने गर्दथे ।

    पहाडीमूलका केटीहरु नै अधिकांशः स्कुलमा पढ्दथे । यहाँका रैथाने वैश्य परिवारमा पाँच छ क्लाससम्म केटीलाई पढाएर बिहे गरिदिने चलन थियो । एक दुई घटना बाहेक अन्तरजातीय विवाह हुने गरेको थिएन । पहाडी मूल र मधेसी मूलका बीचमा वैवाहिक सम्बन्ध हुन्थेन । यत्रो नेपालगन्जमा २००८ सालतिर एकजना महिला सक्रिय देखिन्थिन । तिनी पनि लखनउबाट आएकी हुनाले ।

    २००७ सालको जनक्रान्तिमा गोपाल बहादुर श्रेष्ठकी श्रीमति र घरबारीटोलका कर्माचार्य बन्धुहरुका अतिरिक्त महाकाली मिल निरकी नानी बाबा शर्मा बाहेक कुनै महिलाको सहभागिता थिएन । नेपालगन्जकी रतन देवी शर्मा र धेरै पछि रुक्मिणी चटर्जी शिक्षिकाका रुपमा देखिएका थिए । बाँकी शिक्षिकाहरु भारतबाट ल्याउनु पर्दथ्यो ।

    निकै साँघुरिएको समाज थियो नेपालगन्जको । २०१७ सालमा पंचायत व्यवस्था आएपछि खुलेको नेपाल महिला संघले लक्ष्मी देवी शर्मा, माधुरी शर्मा, गीता राणा, रीना तुलाचन, श्यामांतक मणि राणाहरु महिला नेतृका रुपमा देखा पर्न थालेका हुन् ।

    उहाँहरुले महिलाहरुलाई सांगठनिक रुपमा अगाडि ल्याउन जतिसुकै प्रयत्न गरेपनि मैले सम्झन सक्ने मधेशीमूलका महिलाहरु देख्न सकिन । बडो धीमो गतिमा नेपालगन्जमा परिवर्तन आइरहेको थियो । यति धीमो थियो कि परिवर्तनको अनुभव गर्न सकिंदैन थियो ।

    प्रगतिशीलताको पनि रुचाउन नचाहने समाज देखिन्थ्यो नेपालगन्ज । धार्मिक चाड पर्व मेला बाहेक अन्य सांस्कृतिक गतिविधि घरको पर्दाभित्र सीमित थिए ।

    स्कुल कलेजको विकास भएपछि बल्ल खेलकुदको विकास प्रारम्भ भएको थियो । अलिअलि छोरीहरु फाटफुट सार्वजनिक समारोहहरुमा देखिए पनि पहाडी मूल बाहेक मधेशीमूलका रैथानेहरु परम्पराबाट प्रगतिशीलता तर्फ बढ्न रुचाउँदैनन् थिए । मुस्लिम परिवार त अझै जडमुक्त हुन सकेको छैन ।

    नेपालगन्जको इतिहासलाई मैले दुई चरणमा विभाजन गरेको छु । म समाजशास्त्री त होइन तर पनि मेरो दृष्टिकोणमा नेपालगन्जका वि.सं. १९१७ देखि २०३० सालसम्म नेपालगन्जको निर्माणकाल र त्यसपछि यताको विकासकालको रुपमा लिएको छु । एउटा नगरको रुपमा निर्माण भएर पूर्ण आकार पाएको नेपालगन्ज २०३० सालमा हो ।

    त्यसपछि नेपालगन्जको बिस्तार र विकासका प्रयासहरु व्यक्तिगत र सामुहिक रुपमा हुन थालेका हुन् । सामाजिक संघ, संस्थाहरु पनि समयानुकुल परिवर्तन हुन थालेका हुन् । नेपालगन्जमा औद्योगिक विकास, व्यापारिक विकास, सांस्कृतिक विकासका प्रक्रियाहरु त्यसपछि प्रारम्भ भएको हो ।

    खेलकुद विकास समितिको विधिवत गठन भएर व्यवस्थित रुपमा खेलकुद विकासको प्रारम्भ पनि यही समयमा भएको हो । खेलकुदमा क्रिकेट, भलिबल, वेट लिफ्टिङ र फुटबल खेलको क्रमशः विकास भएको हो । नेपालगन्जले त्यसपछि नै महिला क्रिकेट, सुटिङ्ग आदीमा खेलाडी उत्पादन गर्न थालेको हो ।

    २०१५/०१६ सालतिर सांस्कृतिक र रंगमंचको विकासको थालनी भएको भएपनि २०३० सालपछि प्रेम प्रकाश मल्ल, महेन्द्र बहादुर हमाल, बभ्रुवाहन सिंह आदी सक्रिय रुपमा सांस्कृतिक क्षेत्रका लागि परेका थिए ।

    जसले सांस्कृतिक कार्यक्रमहरुमा मात्र नभई नेपाल अधिराज्यमै नेपालगन्जको चिनारीको रुपमा कहरवा नृत्यलाई लोकप्रिय बनाएका थिए । कल्पना शाह, सुषमा शाह, रचना बस्नेत, गीता क्षेत्री आदी नेपालगन्जका कहरवा नृत्यका कुशल कलाकारका रुपमा नेपाल अधिराज्यमा सुपरिचित नाम भइसकेका थिए ।

    कहरवालाई लोकप्रिय बनाउन महेन्द्र बहादुर हमालको महत्वपूर्ण भूमिको थियो । तर, विडम्वना के भने नेपालगन्जको अवधी समाजको सांस्कृतिक विकासमा पनि पहल पहाडी मूलबाटै भयो ।

    तर पनि त्यसलाई पछ्याउँदै मधेशीमूलका लोक र सांस्कृतिक कलाकार देखा परेनन्, हुवलाल नेपाली र लोकनाथ बर्मा बाहेक । महिला सहभागिता त छंदै थिएन ।

    साहित्यिक क्षेत्र नितान्त व्यक्तिगत अभिरुचिको क्षेत्र भएकाले उर्दु, हिन्दी र नेपालीमा साहित्यक लेखनको प्रारम्भ २००७ साल पूर्वदेखि नै देखिन्छ । तर, २०६० साल पूर्व सम्म हिन्दी उर्दुका पुस्तक प्रकाशित भएको मलाई जानकारी छैन । यी सबै त्यतिबेलासम्म फुटकर लेखनमा सीमित थिए ।

    अब आज भने त्यो परिस्थिति छैन । नेपालगन्जको परिवर्तन दिशामा अघि बढिरहेको छ । नेपालगन्ज बदलिंदैछ । भौतिक विकासका क्षेत्रमा अझै धेरै गर्न बाँकी भए पनि । बाटो घाटो चौडा भएका छन् । नयाँ–नयाँ भवन बन्दैछन् । नयाँ सडक सेतु विक चौक बसपार्क रोडले नेपालगन्जको अनुहार फेरिएको छ ।

    औद्योगिक प्रतिष्ठानहरु धमाधम खुल्दै छन् । तारे होटल मात्रै पनि चार÷पाँच वटा भैसकेका छन् । मध्यम स्तरका स्तरीय होटल पनि थुप्रै भैसके । वाटरपार्क परियोजना नेपालगन्ज रिङ्गरोड परियोजना र ठूलो सभा हल र बोर्ड पिच्छे सामुदायिक भवनहरुको निर्माण तिर पनि सोंच्दै छ नेपालगन्ज ।

    समाजमा परिवर्तन पनि देखा पर्न लागेको छ । नयाँ संविधानले नारी सहभागिता बढाएसँगै नेपालगन्जका रैथाने परिवार र मुस्लिम परिवारबाट महिला नेतृहरु देखा पर्न थालेका छन् ।

    सामाजिक संघ, संस्थाहरुमा मधेशीमूलका हिन्दु र मुस्लिम परिवारका महिलाहरुको पनि सहभागिता बढेको छ । जुन परिवार पाँच क्लास भन्दा माथि छोरीबेटि पढाउन चाहँदैन थियो । ती परिवारबाट डाक्टर, इन्जिनियर, नर्स, उद्योगपतिका रुपमा महिला सहभागिता प्रष्ट देखिन थालेको छ ।

    मुस्लिम समाज वेद समाज भनिन्छ । २०३५/३६ सालतिर मेरा मित्र सुलेमान सिद्दिकी आफु राजनीतिक क्षेत्रमा भएपनि सामाजिक कारणले पढेलेखेकी आफ्नी धर्मपत्नीलाई सामाजिक क्षेत्रमा लाग्न दुरुत्साहित नै गर्दथे । उनको देहावसान पछि सामाजिक सक्रिय भएकी मोहम्मदी सिद्दिकीले आफ्नो समाजसँग निकै संघर्ष गर्नु परेको थियो । तर, आज थुप्रै मुस्लिम महिलाहरु विभिन्न सामाजिक संघ, संस्थामा सक्रिय भएर लागेका छन् ।

    शिक्षा, संस्कृति र साहित्य क्षेत्रमा मुस्लिम महिलाहरुको सहभागिता बदलिंदो नेपालगन्जको स्वरुप हो । नेपालगन्जमा ट्यालेन्ट शो र सौन्दर्य प्रतियोगिताहरु प्रारम्भ गरिंदैछन् । त्यसमा नेपालगन्जमा रुढिग्रस्त समाज मानिएका छोरी बुहारीहरुको आश्चर्य लाग्दो सहभागिता देखियो । यो नेपालगन्जको बदलिंदो समाज परिवर्तनको ठूलो फड्को हो ।

    नेपालगन्ज बन्द समाजको दिशाबाट समाजको दिशामा अघि बढिरहेको छ ।

    हिजोसम्म घरबाट बाहिर निस्कन न पाइने वर्ग आज स्टेजमा उत्रिइसकेको छ हिजोसम्म लामो घुँघट काढेर सडकमा आफ्नो सांस्कृतिक परम्परा निभाउने समाज आज बिहे, न्वारन र अन्य पर्वमा आधुनिक नृत्य गर्दै सडकमा हिडेको देखिन थालिएको छ । रंगमञ्चको विकास हुने हो भने यस समाजका महिलाहरु पनि राष्ट्रिय कलाकार भएर निस्कन सक्ने वातावरण तयार भैरहेको छ ।

    हिजो साहित्यको क्षेत्रमा महिला सहभागिता अत्यन्तै थोरै देखिन्थ्यो । आज मधेशीमूल र मुस्लिम महिलाहरु आफ्नो भावना प्रकट गर्न साहित्य गोष्ठीहरुमा देखिन थालिएको छ । महिला उद्यमीहरुको उद्योग व्यापारमा अभिरुचि बढे अनुसार तथा कथित वेद समाजमा महिलाहरु पनि उद्योग व्यापारका क्षेत्रमा अघि बढिरहेका छन् ।

    दु्रत गतिमा परिवर्तन तर्फ लम्कन खोजिरहेको नेपालगन्जलाई सामाजिक अभियन्ता, नगरका अगुवा, स्थानीय सरकार सबै तिरबाट वक्अपको आवश्यकता छ । खोजेको परिवर्तन अनुसार सहजीकरणमा सघाउने आवश्यकता छ ।

    एउटा नयाँ कर्पोरेट संस्कृतिको उदय हुँदैछ । नेपालगन्जमा यस संस्कृतिले समाज परिवर्तित हुनुका साथ यसका बाइ प्रोडक्टका रुपमा आउने विकृतिबाट समाजलाई जोगाएर लैजाने दुरदृष्टि र सजगताको पनि त्यत्ति नै आवश्यकता छ ।

    विकसित हुँदै गएको सबै खाले मिडिया र पत्रकारहरुको समाजलाई टाढासम्म नियाल्न सक्ने बौद्धिक व्यक्तित्व र साहित्यकारहरुलाई बदलिंदो नेपालगन्जका सकारात्मक पक्ष र नकारात्मक पक्षको विश्लेषणका लागि अन्तरक्रिया पनि हुनु पर्छ ।

    नेपालगन्ज बदलिंदो छ । यसको बदलाव्लाई सकारात्मक दिशा प्रदान गर्न नेपालगन्जको सबै पक्षले हातेमालो गर्न आवश्यक रहेको छ ।

    #दैनिक नेपालगन्जबाट ।

    प्रतिकृया दिनुहोस्