Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/७ गते
    ३९८ पटक
    सरस्वती अधिकारी ।

    ढोंगीहरूको संसार न हो । धर्म-कर्म मान्दिनँ भन्ने कथित क्रान्तिकारी पार्टीका अध्यक्ष प्रचण्डले मध्यराति कालिबाबा भेटेको र सुनसरीको चतरा पुगेर भैँसी पुजेको खबर अलिक पुरानो भइसक्यो ।

    उनै प्रचण्डका पाइला पछ्याउँदै सुजाता कोइरालाले समेत चतरा पुगेर भैँसी पुजिन् र साढे साती ग्रहदशा शान्त गराइन् । अशिक्षितहरूको त कुरै छाडौँ, अहिले शिक्षितहरूसमेत अदृश्य शक्तिको उपासनामा लागेका छन् ।

    मान्छे कोही भगवान् हुन सक्छ वा मान्छेलाई मान्छेले नै भगवान् बनाउँछ । आस्तिकहरूमा एउटा भ्रम छ, ईश्वर छ भन्ने र नास्तिकहरू पनि भ्रममा छन् ईश्वर छैन भन्ने । ईश्वरबारे आजसम्म कसैले बताउन सकेको छैन ।

    त्यो कहानी उही मानुषीको कमलो मन यतैतिर फर्किएको त्रिवि कीर्तिपुरको हो । त्रिवि होस्टलमा बसेर अहिले अर्थशास्त्रमा स्नातकोत्तर गर्दै गरेकी एक छात्रा एउटा अदृश्य शक्तिको उपासनामा लागेकी छन् ।

    बारम्बार भन्छिन्, ‘सत्यको पछाडि लाग, हाम्रो भगवान्ले भन्नुहुन्छ । मेरो यो कुरा सुन्दा कलेज परिसरका संगीहरू हाँस्छन् र खिसी-टिउरी गर्छन् । तैपनि, जगत्को रीत हो, सत्यको एक दिन अवश्य जित हुन्छ ।’

    रसुवाको श्री कालिका हिमालय उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्दा प्राध्यापक थिए मणिलाल राई । ‘अंग्रेजी विषयका यी प्राध्यापकले कसैप्रति केही गुनासो राखेनन्, जे-जति असन्तुष्टि छ आफ्नै मनमा राखे । यिनै गुरुकी चेली हुँ म ।

    कालिका हिमालय उमाविबाट प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि उनी राजधानी खाल्डोमा प्रवेश गर्दासम्म यो सहरमा मेरो भन्नु अरू थिएन । कोही थिए त यो सहरमा रोग, शोक र भोक यी तीन चिज मात्र थिए, आफ्नो भन्नु । बसाइ थियो, कुपन्डोल र कलेज ताहाचल । एउटा यस्तो पात्र भेटियो यो खाल्डोमा ।

    लाग्दै थियो, यही नै हो मेरो सुख-दुःखमा साथ दिने । कोठाभाडा तिरेदिने, रासन खर्च दिने । गाह्रो-साह्रो पर्दा साथ दिने उही थियो । कुपन्डोलबाट ताहाचलसम्म ल्याउने-लैजाने काम गर्ने साथी थियो, नुवाकोट देवीघाट घर भएको गौतम पुडासैनी ।

    उसैसँग कलेज जाँदा-आउँदा मन साटियो । मनसँगै तन पनि साटियो । एक दिन, दुई दिन हुँदै यो प्रक्रिया निरन्तरजस्तै हुन थाल्यो । अन्ततः गौतम कतारतिर हान्नियो । विवाह गर्छु भन्ने आस देखाएर यौनसम्बन्ध राखेपछि कुलेलम ठोक्यो । मन छिया-छिया भयो ।

    मैले त्यही बेलादेखि निर्णय लिएको हो, अब कुनै केटाको मुख हेर्दिनँ, साराका सारा केटालाई धोकेबाजको संज्ञा दिन थालेँ । पुरानो कुरा सम्झँदा अमिलो भएर त्यसै–त्यसै कुँडिन्थ्यो, मन झनै छिया-छिया हुन्थ्यो । जाने ठाउँ कतै थिएन, कसलाई भन्ने ?

    कोही साथी थिएन । एउटै विस्तरामा सुत्दा कपडा खोल्ने साथी त पाइन्छ यहाँ तर दिल खोल्ने मान्छे को नै पाइन्छ र रु कसैले यो कुरा सुने भने हाँसोको पात्र बनाउँछन् र हावामा उडाउँछन् । कहाँ जाऊँ रु के गरुँ रु र कसलाई भनौँ रु यस्तै पीडाले बारम्बार पिरोलिरहन्थ्यो । यस्तैमा कुपण्डोलकै घरपट्टी दिदीको संगतमा एउटी माताबारे सुनेँ ।

    उनी थिइन्, कल्याणी माता । दोलखामा जन्मिएकी कल्याणी माता सानैदेखि अरूका भविष्य बताउँथिन् । उनको इच्छा थियो, आजन्म अविवाहित बस्ने तर बुबा-आमाले कलिलै उमेरमा विवाह गराइदिए । विवाहपछि नै कौमार्य भंग भयो, उमेरमा बाउ समानका मान्छेसँग विवाह भयो ।

    विवाहपछि नै उनी राजधानी प्रवेश गरिन् । अनेक ठक्कर, हन्डर र चोट खाँदै हुर्किइन् । श्रीमान्को देहावसानपछि उनको चोटमाथि चोट र व्यथामाथि व्यथा थपियो । अरूको हात हेरेर भविष्यवाणी गर्न थालिन् । यही अवधिमा एक जना डिएसपीको हात हेरिन् र भनिदिइन्, ‘तिमीले चोरेको धन थुपारेको देखिन्छ’, यसो भन्दा ती डिएसपीले धम्क्याए ।

    अर्को एक जनाको जीवनकै अन्तिम क्षणमा छौ भनिदिइन् । दैवसंयोग एक साता नबित्दै प्राणपखेरु उड्यो । त्यसपछि उनलाई बोक्सी देख्न थाले । उनले सो काम छाडिदिइन् र होटल व्यवसाय गर्न थालिन् । होटल सञ्चालन गर्दा भाडा तिर्न नसकेर घरपट्टीले तथानाम भने, ‘मसँग विवाह गर्, तँलाई सुख हुन्छ ।’ महिलाको शत्रु रूप नै त हो भन्ने गरिन्छ ।

    एकातिर रूपवती हुनु अर्कोतिर असहाय ! दुनिया सहयोगको नाममा नजिकिन्थे र आफ्नो कामवासना पूर्ति गर्न खोज्थे । उनै कल्याणी माताले दरबार हत्याकाण्ड हुनुपूर्व दरबारमा अनिष्ठ हुने बताइन् ।

    अखबारमा खबर छापियो, कल्याणी माताको आयु सकिएको भनेर । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको घरनजिकै थियो, उनको आश्रम । यही आश्रममा आएर शरत्सिंह भण्डारीले आफ्ना स्वर्गीय आफन्तका नाममा लाखौँ चढाएका छन् ।

    बुद्धले कतै भनेका छन् नि तत् त्वम असि, जसको आशय हो आफ्नो ईश्वर आफैँ हौँ । दुनियामा ईश्वरको खोज र मूर्तिको पूजा भ्रम हुन् । कल्याणीको आशय पनि यही हो । आफ्नो ईश्वर आफैँ । सकेसम्म आफूले आफैँलाई रूपान्तरण गर्ने हो एक बारको जुनीमा । अरूको चियो, चर्चा र निन्दा होइन, आफ्नै आत्मालोचना ठूलो कुरा हो ।

    कल्याणीको मार्ग यही रहेको जानेपछि म पनि उनको अनुयायी बनेको हुँ । साथीहरू, इष्टमित्र र आफन्त दुनियाथरी कुरा काट्छन्, तैपनि आफू सत्यको बाटो हिँड्ने हो

    । कलेज परिसरमा माता भन्छन्, जिस्क्याउँछन्, खिसी गर्छन् तैपनि एउटा कुरा गान्धीकै उक्ति मार्मिक लाग्छ, ‘सबसे बडा हे रोग क्या कहते हो लोक । आफ्नो मानो खाएर अरूका कुरा काट्नेहरूलाई भन्नु केही छैन ।

    धर्म नबुझेका मान्छेहरूले धर्मबारे के भन्न सक्छन् ? असत्यहरूको भीडमा सत्य आलोचित हँुदो रहेछ तर एकदिन सत्यले जितेरै छाड्नेछ । म विश्वस्त छु ।

    स्रोत : सारङ्गी न्यूज डटकम

    प्रतिकृया दिनुहोस्