Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२८ गते
    १२०३ पटक
    नेपालगञ्ज ।

    अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका दोषीहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

    २०७० सालदेखि अदालतले गरेको फैसला कार्यान्यन गर्नेतर्फ सक्रिय भएको प्रहरीले उक्त अभियानलाई निरन्तरता दिँदै प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटेको टोलीले फरार व्यक्तिहरुलाई पक्राउ गर्न थालेको हो ।

    अभियानअन्तर्गत बाँके प्रहरीले हालसम्म सात जनालाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको बाँके प्रहरीले जनाएको छ ।

    वन मुद्दामा दोषी करार भई अदालतबाट जरिवाना तोकिएका बाँके रझेना २ वस्ने खेमलाल थारुलाई भाद्र १५ गते पक्राउ गरिएको छ । जघन्य अपराधमा उनलाई अदालतले दोषी ठहराउँदै ९ हजार ४ सय रुपैयाँ जरिवाना गरेको थियो ।

    यस्तै लेनदेन मुद्दामा १ वर्ष कैद तोकिएका नेपालगञ्ज १९ का तिर्थराम कलवार, लागु औषध मुद्दामा १३ दिन कैद सजाय पाएका नेपालगञ्ज १ वस्ने सरोज थापा, चोरी मुद्दामा २ महिना ४ दिन कैद र २१ हजार जरिवाना तोकिएका कोहलपुर २ का राजेश वैगारलाई पक्राउ गरिएको छ ।

    यस्तै जबरजस्ती करणी मुद्दामा अदालतबाट ३ वर्ष ६ महिना कैद सजाय सुनाइएका वैजनाथ १ वस्ने पदम सुनार र नाम नखुलाइएका एकजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    उता कर्तव्य ज्यान मुद्दामा फरार रहेका १ जनालाई समेत प्रहरीले पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको छ ।

    प्रतिकृया दिनुहोस्