Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२२ गते
    ३०६ पटक
    नेपालगन्ज ।

    ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु भएको छ । नेपालगन्ज म्याराथनको चौथो संस्करणकालागि बिहिवारदेखि दर्ता आवेदन खुल्ला गरिएको छ ।

    खेलाडी आवेदन दर्ता फारम मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, बाँके जिल्ला एथलेटिक्स संघको कार्यालय तथा न्यरोडस्थित क्रियटिभ ह्याण्ड्सको कार्यालयबाट वितरण भईरहेको छ ।

    नेपालगन्ज म्याराथनका संरक्षक विजय लामासँगको बृहत छलफल पछि तयारी अगाडि बढाइएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले बताए ।
    नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सरका रुपमा ब्राइटल्याण्ड स्कुल नै रहनेछ । यसको नाम ब्राइटल्याण्ड नेपालगन्ज म्याराथन हुनेछ । यस बर्ष पनि पुरस्कार राशीमा बृद्धि गरिनेछ ।

    दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ । नेपालगन्ज म्याराथनमा खुल्ला पुरुषतर्फ ४२ किलोमिटर दौड, महिला खुल्लातर्फ २१ किलोमिटर हाफ म्याराथन रहेका छन् ।

    त्यस्तै हरेक बर्ष झैं विद्यालय स्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड पनि समावेश गरिएको छ । यसमा पनि नगद पुरस्कार व्यवस्था गरिएको छ ।

    अपाङगता भएका व्यक्तिहरुका लागि खुला दुई किलोमिटर ट्राइसाइकल दौड पनि नगद पुरस्कारसहित राखिएको छ । त्यस्तै बिभिन्न पेशा र व्यवसायमा संलग्नहरुलाई लक्षित गरी तीन किलोमिटर वाकाथन पनि समावेश गरिएको छ ।

    नेपालगन्ज उपमहानगरपालि, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकालाई जोड्ने म्याराथनमा स्थानीय तथा राष्ट्रियस्तरका धावकहरु सहभागि हुने गर्दछन् । साथै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन् ।
    खेलाडी सहभागिताको जिम्मेवारी बाँके जिल्ला एथलेटिक्स संघको रहेको छ ।

    एथलेटिक्स संघका पदाधिकारीहरुसँगको हालै बसेको बैठकले नेपालगन्ज म्याराथनमा करिब दुई हजार जना सहभागि गराउने तयारी गरेको छ । पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत र तेस्रोमा जुम्लाका दुर्गाबहादुर बुढा उपाधि जितेका थिए ।

    प्रतिकृया दिनुहोस्