Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/८ गते
    ३५५ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पसका रुपमा स्थापित हुने प्रक्रिया अन्तिम चरण पुगेको छ ।

    आंगिक क्याम्पसको रुपमा जान सबै प्रक्रिया पुरा गरिसकेको र आगामी भदौ १० गते कुलपतिको अध्यक्षतामा बस्ने मध्यपश्चिम विश्वविद्यालयको सभाले पास गर्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।

    ‘हामीले सबै प्रक्रिया पुरा गरिसकेका छौ अब सभाबाट पास हुन मात्र बाँकी छ ’–अध्यक्ष न्यौपानेले भने ।

    अरु सबै प्रक्रिया पुरा भईसकेको र कर्मचारी स्वतः समायोजन गर्नुपर्ने सम्पत्ति हस्तातन्तरण गर्ने विषयमा समेतसँगै लिएर जानुपर्ने आफूहरुको माग रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।

    क्याम्पस आंगिक हुने निश्चित हुने भएसँगै क्याम्पसले स्नातक तहका शिक्षा, मानविकी, र व्यवस्थापन संकायका प्रथम वर्ष र स्नातकोत्तर तहमा शिक्षाको प्रथम वर्षको भर्ना समेत सुरु गरिसकेको छ । विश्वविद्यालयको आंगिक क्याम्पस भएसँगै अब सेमेस्टार प्रणालीबाट पढाई हुने क्याम्पसले जनाएको छ ।

    बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस सञ्चालक समितिका सदस्य विष्णु प्रसाद बेल्बासेले सेमेस्टर प्रणालीबाट गुणस्तरीय पढाई हुने र विद्यार्थीहरुलाई आर्थिक भार समेत कम हुने बताए । पहिले स्नातक तहको ३ वर्षे कोर्षमा ४० हजारसम्म खर्च लाग्थ्यो तर अहिले ४ वर्षे कोर्षमा ३५ हजारसम्म लाग्ने बेल्बासेले बताए ।

    क्याम्पस प्रमुख शिशिर कुमार शर्माले विश्वविद्यालयको आंगिक क्याम्सका रुपमा स्थापना गर्न २०७१ साल कार्तिकबाट प्रक्रिया सुरु गरिएको र २०७४ असोज २ गते मन्त्री परिषदको बैठकबाट दरबन्दी स्वीकृत गरिएसँगै चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिएपछि आंगिकको प्रक्रिया बढेको बताए ।

    साथै क्याम्पसले प्रवेश परिक्षा लिएर भर्ना गरिरहेको र प्रवेश परीक्षामा अनुतिर्ण हुने विद्यार्थीलाई भर्ना नलिइने क्याम्पस प्रमुख शर्माले बताए ।

    प्रतिकृया दिनुहोस्