आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२ गते
    ७८ पटक
    जनकपुर ।

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभाका सभामुख सरोज राय यादवले बताए ।

    काठमाडौबाट १०ः३० बजे जनकपुर आउने प्रधानमन्त्री सिधै त्यहाँबाट प्रदेशसभामा सम्बोधनका लागि जाने बताइएको छ । एयरपोर्टमा ओर्लेपछि उनको स्वागतमा मुख्यमन्त्री लालबाबु राउतलगायत मन्त्रिपरिषद्का अन्य सबै मन्त्री पुग्नेछन् । प्रधानमन्त्री ओलीको स्वागतमा एयरपोर्ट पुग्न सबै मन्त्री तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले हिजै निर्देशन दिइसकेका छन् ।

    एयरपोर्टदेखि प्रदेशसभा भवनसम्म ठाउँ ठाउँमा ओलीको स्वागतका लागि स्वागतद्वार निर्माण गरिएको छ । प्रदेशसभामा ओलीले सम्बोधन गरिसकेपछि सभामुख सरोज राय यादवको निवासमा खानाको व्यवस्था गरिएको छ ।

    ओलीलाई मिथिला खाना दाल, भात, रोटी, तरकारी, तरुवा, माछा लगायतका परिकार खुवाउने तयारी रहेको सभामुख यादवले बताए । सभामुख यादवको निवासमा खाना खाएर प्रधानमन्त्री ओली सहिद रामवृक्ष यादवका स्मृतिमा आयोजना गरिएका कार्यक्रममा भाग लिन बरमझिया जाने बताइएको छ । साथमा नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि हुनेछन् ।

    ओलीका साथमा केन्द्रबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक व्यवस्था तथा यातायात मन्त्री रघुवीर महासेठ, शिक्षा मन्त्री गिरीराजमणी पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव पनि जनकपुर आउने सम्भावना रहेको अध्यक्ष यादवले बताए ।

    केन्द्रबाट जाने मन्त्रीहरुका लागि प्रदेशसभामा छुट्टै बस्ने व्यवस्था मिलाइएको छैन । सभामुख यादवले भने, ‘केन्द्रबाट आउने मन्त्रीका लागि प्रदेशसभामा छुट्टै व्यवस्था गरिएको छैन । उहाँहरु आउनुभयो भने दर्शकको रुपमा आगाडी बस्ने व्यवस्था मिलाइनेछ ।’

    प्रतिकृया दिनुहोस्