Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/३० गते
४६१३ पटक

बाँकेको कोहलपुर नगरपालिकाका वडाहरुले घरजग्गाको मूल्याङ्कन तीन सय प्रतिशतले बृद्धि गरेपछि स्थानीयबासीले विरोध जनाएका छन् । वडाहरुले एकिकृत सम्पति करको नाममा तीन सय प्रतिशतसम्म कर बढाएपछि विरोध सुरु भएको हो ।

सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत आधार मानेर स्थानीयतहले ३० प्रतिशतसम्म कर बढाउन सक्ने व्यवस्था भएपनि नगरका वडाहरुले मनोमानी तरिकाले तीनसय प्रतिशतसम्म कर बृद्धि गरेको कोहलपुर नगरपालिका वडानम्वर ८ का स्थानीयबासी पूर्णप्रसाद आचार्यले वताउनुभयो ।

कोहलपुर नगरपालिका ८ पिपरी राजमार्ग क्षेत्रको घरजग्गा सरकारी मूल्याङ्कन अनुसार १६ लाख कायम छ । तर वडा कार्यालयले चलनचल्दीको भन्दै त्यसको मूल्याङ्कन २४ लाख बढाएर ४० लाख पु¥याइएको कालिबहादुर ओलीले बताउनुभयो । स्थानीयबासीसँग समन्वय र सहकार्य नगरेर हचुँवाका भरमा वडाहरुले कर बढाएपछि वडा नम्वर ८ का काँग्रेस र राप्रपाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले नगरपालिकाको ध्यानाकर्षण समेत गराएका छन् ।

काँग्रेस वडा नम्वर सातका सभापति बेलबहादुर बस्नेतले संघको निर्देशन विपरित स्थानीय तहमा कर निर्धारण गरिएको बताउनुभयो ।

घरजग्गा मूल्याङ्कनको आधार के हो ? आचार्य भन्नुहुन्छ–‘स्थानीयबासीसँग छलफल नै नगरेर मनोमानी तरिकाले कर बढाएर जनतालाई ढाड सेक्ने काम भयो, यो स्विकार्य छैन् ।’ ‘करमात्र बृद्धि गर्ने तर सेवा चाही नदिने यो कस्तो स्थानीय सरकार हो ?’ अर्का स्थानीय नेपबहादुर बुढाथोकीको प्रश्न छ ।

वडाहरुले मापदण्ड विपरित कर असुलेको गुनासो नगरपालिकामा आएको उपमेयर सन्जुकुमारी थारुले स्विकार गर्नुभएको छ । उहाँले तत्काल संशोधनको तयारी भइरहेको पनि बताउनुभयो ।

प्रतिकृया दिनुहोस्