Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२९ गते
१६८ पटक
काठमाडौं ।

साढे ३८ क्विन्टल सुन तस्करीका एकजना लगानीकर्ता भनिएका ‘बाजेको सेकुवा कर्नर’का मालिक चेतनाथ भण्डारीविरुद्ध छानबिन विशेष समितिले मोरङ जिल्ला अदालतमा आरोपपत्र दायर गरेपछि उनी फरार छन् ।

समितिको म्याद सकियो, प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले बुझिसकेका छन् । यस प्रकरणमा फेरि महानगरीय अपराध महाशाखाले अनुसन्धान थालिसकेको छ ।

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वको छानबिन टोलीले सुन तस्करीमा भण्डारीको संलग्नता पुष्टि गर्दै उनको स्वामित्वमा रहेका बाजेको सेकुवामा शिलबन्दी गरेको थियो । फरार भण्डारी अमेरिकामा छन् ।

नेपालमा बन्द भएको ‘बाजेको ब्रान्ड’ उनले अमेरिकाको न्युयोर्क, बाल्टिमोर र क्यानडाको टोरोन्टोमा खोलेका छन् । त्यसका लागि अफिसियल वेभसाइट समेत तयार भइसकेको छ । अहिले अमेरिकाको न्युयोर्कमा ‘बाजेको सेकुवा’ खोलिएको छ ।

उक्त विज्ञापनमा काठमाडौंमा रहेका विभिन्न शाखाको सफलताको प्रचार गरिएको छ । जसमा गृह मन्त्रालयले ताला लगाइसकेको छ । कास्की, चितवन, इटहरीलगायतका ठाउँमा पनि सफल भनी वेभसाइटमा प्रचार गरिएको छ ।

यसैबीच, चेतनकी पत्नी निकीता भण्डारी भने काठमाडौं फर्किएर भएको सम्पत्ती बेचविखनमा सक्रिय रहेकी छन् । स्रोतका अनुसार निकीता केही साता अघि नेपाल आएर ‘बाजेको सेकुवा’का नाममा रहेको चलअचल सम्पत्ती बिक्रिका लागि ग्राहक खोजीरहेकी छन् ।

बालुवाटारको अपार्टमेन्ट, जग्गा जमिन र नेपालका विभिन्न ठाउँमा बाजेको सेकुवा, चेतन र निकिताको नाममा रहेको सम्पत्ती बेचेर अमेरिका जानका लागि निकिता काठमाडौं आएकी हुन् ।

अमेरिकामा लगानी गर्ने व्यापार भिषा पाएका आप्रवासीलाई त्यहाँ कानुनी रुपमा स्थायी अनुमति (ग्रिनकार्ड) दिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अमेरिकाको व्यापारिक सहर न्युयोर्कदेखि नै बाजेको सेकुवाको व्यापार उनीहरूले थालेका हुन् ।

सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएको चुडामणी उप्रेती ‘गोरे’को नातामै मामा पर्ने चेतनाथले नेपाल प्रहरीबाट भागेर अमेरिकी नागरिक हुनका लागि यस्तो उपाय अपनाएका हुन् ।

सो प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालिन अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलसँग सनमको लास व्यवस्थापनका विषयमा सिनामंगलमा रहेको बाजेको सेकुवामा गोरेपत्नी नर्बदा खरेल निरुसँगको छलफल चेतनाथले नै गराइदिएका थिए । यसको मध्यस्ततामा पनि चेतनाथको भूमिका रहेको अनुसन्धानमा खुलेको थियो ।

www.dainiknepal.com बाट साभार गरिएको ।

प्रतिकृया दिनुहोस्