Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२६ गते
१२३१ पटक
बुटवल ।

प्रदेश ५ ले प्रदेश नामाकरण र स्थायी राजधानीको टुङ्गो लगाउन समिति गठन गरेको छ । बिहिबार भएको संसदको दोस्रो अविधेशनको अन्तिम बैठकमा प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि विशेष समिति गठन गरेको हो ।

दाङ वा बुटवल प्रदेशको स्थायी राजधानी हुने विषय पेचिलो बन्दै गएपछि समिति गठन गरिएको हो । बैठकमा प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तिले तीन महिनामा प्रतिवेदन बुझाउने गरी १५ सदस्यीय विशेष समितिको नाम घोषणा गरेका थिए ।

समितिको सदस्यहरुमा रुपन्देहीबाट तुल्सी चौधरी र रमा अर्याल रहेका छन् । अर्घाखाँचीबाट कल्पना पाण्डे, निर्मला क्षेत्री र चेतनारायण आचार्य छन् ।

त्यस्तै कपिलवस्तुबाट विष्णु पन्थी र सहषराम यादव, पाल्पाबाट वीरबहादुर राना र नारायण आचार्य, बर्दियाबाट भुवनेश्वरी चौधरी, रोल्पाबाट दीपेन्द्र कुमार पुन, प्युठानबाट तारा जीसी, गुल्मीबाट दिनेश पन्थी, दाङबाट सरस्वती गौतम र बाँकेका बाबुराम गौतम रहेका छन् ।

समितिले तीन महिनामा पूर्वाग्राही नभई उचित र सवैलाई स्वीकार्य हुने गरी प्रतिवेदन प्रदेश सरकारलाई बुझाउने छ । मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रतिवेदन बनाउँदा सदस्यहरुले आफु कहाँको हो भनि नभनी तयार गरे विवाद उत्पन्न नहुने बताए ।

सदस्यहरुले आग्रह पूर्वाग्राह नभई प्रतिबेदन बनाए नामकरण र स्थायी राजधानीको टुंगो लगाउन ग्राहो नहुने उनको भनाई छ ।

जनतालाई विभाजन गर्ने गरी सरकारले काम गर्ने भन्दै मुख्यमन्त्री पोखरेलले सबैलाई सहजता, अनुकुल र स्वीकार्य हुने गरी नामकरण र राजधानीको टुंगो लगाउने बताए ।

प्रतिकृया दिनुहोस्