Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/२१ गते
    ११२७७ पटक
    नेपालगन्ज ।

    ओद्यौगिक शहरको रुपमा रहेको नेपालगन्ज नगरका विभिन्न भागहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । नेपालगन्ज नगरलाई आधुनिक सुरक्षा प्रणालीसँग जोड्नको लागि अत्याधुनिक सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

    सिसिटिभी क्यामेरा सञ्चालनको सोमबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले उद्घाटन गरे ।

    नगरका विभिन्न १६ वटा स्थानमा ५६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।

    केही महिनाअघि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको संयोजकत्वमा नेपालगन्ज सिसिटिभी व्यवस्थापन समिती गठन गरिएको थियो ।सोही समितीले विभिन्न क्षेत्र तथा व्यक्तिबाट संकलन गरेको रकमबाट सिसिटिभी क्यामेरा जडान गरिएको हो । नेपालगन्ज सिसिटिभी व्यवस्थापन समितीका उपाध्यक्ष प्रेम सुवेदीका अनुसार हालसम्म २७ लाख ८१ हजार ८ सय रुपैया समितीको खातामा जम्मा भएको छ । उनका अनुसार विभिन्न व्यक्ति तथा संस्थाबाट १७ लाख ९४ हजार ३ सय रुपैया दिने प्रतिबद्वता भएको छ ।

    समितीका संयोजक वैश्यका अनुसार सिसिटिभी जडानमा ३३ लाख ९७ हजार २ सय ६७ रुपैया र छपाई, कदर पत्र, शिलालेख , मिटिङमा चियापन लगायतमा २ लाख १० हजार ८ सय ६० रुपैया खर्च भएको छ ।

    नगरमा विभिन्न भागहरुमा जडान गरिएका सिसिटिभी क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । कार्यक्रममा बोल्ने सहभागिहरुले सिसिटिभीले नेपालगन्जको सुरक्षा व्यवस्था चुस्त दुस्त राख्नमा सहयोग पु¥याउने बताएका थिए । उनीहरुले प्रहरीलाई सिसिटिभीको सही सदुपयोग गर्न आग्रह समेत गरे ।

    नगरका अन्य ठाउँहरुमा पनी सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने नगरबासीले बताएका छन् । नेपालगन्जका राझा, भुजयगाउ, कारकादो, पुष्पलाल चौक, धम्बोझी, विपी चौक, गणेशमान चौक, भेरी अस्पताल चौक, त्रिभुवन चौक, त्रिवेणी चौक, शहीद सेतु विक चौक, बसपार्क चौक र बाइपास रोड लगायतका मुख्य चौकमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।

    सिसिटिभी क्यामरा जडान गर्ने कार्यमा सहयोग पु¥याउने व्यक्ति तथा विभिन्न संघ संस्थालाई कदर पत्र दिइएको थियो ।

    प्रतिकृया दिनुहोस्