Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/४/९ गते
२९२ पटक
नेपालगन्ज ।

मुलुकको राजनितीक विवाद संंविधान निर्माण भएपछि सकिएको प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले बताएका छन् ।

संविधान निर्माण भएसँगै राजनितिक विवाद सकिएको भन्दै उनले अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी रहेको बताए । बाँकेको नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको नयाँ शैक्षिक भवनको मंगलबार शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।

सभामुख महराले संघियता कार्यान्वयनको चरणमा भएकोले त्यसलाई सफल बनाउनको लागि आफुहरु विभिन्न कानुन बनाउने तयारीमा जुटेको जानकारी दिए । संघियता कार्यान्वनको चरणको रहेको भन्दै उनले विभिन्न कानुनहरु बनाएर त्यसलाई सहज बनाइने बताए ।

देशमा अहिले रहेको असहज स्थिती केही दिनभित्रै हट्ने उनले दाबी समेत गरे । आफुले विभिन्न दलका शिर्ष नेताहरु र सरकारसँग विभिन्न चरणमा कुरा गरिरहेको बताउदै सभामुख महराले सम्भवत आउदो १० गतेभित्र असहज स्थिती सहज हुने बताए ।

सभामुख महराले नेपालगञ्ज पश्चिम नेपालको शैक्षिक हब भएकाले यहाँको शैक्षिक विकासमा आफ्नो सबैखाले सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सोही क्याम्पसमा ४० वर्षअघि आइएस्सीमा अध्ययन गरेका सभामुख महराले आफ्नो विद्यार्थी जीवनको भोगाइका स्मरणीय पलहरु पनि सुनाएका थिए ।

उक्त अवसरमा संघीयसभाका सांसदद्वय नन्दलाल रोकाय र महेश्वर गहतराजले क्याम्पसको पूर्वाधार र शैक्षिक विकासमा विद्यार्थीको अहम् भूमिका हुने बताए ।

कार्यक्रममा शिक्षाका विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएको प्राध्यापक गोपालप्रसाद अधिकारी र मोहनजङ्ग शाहलाई महराले कदरपत्र प्रदान गरेका थिए । एक वर्षभित्र निर्माण सक्ने गरी ३० कोठे नयाँ क्याम्पस भवनका लागि सरकारले रु छ करोड ८९ लाख लागत खर्च अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्