Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/२८ गते
    ४५७ पटक
    नेपालगञ्‍ज ।

    पूर्वी रुकुमको केटा। पश्चिम रुकुमकी केटी। एक दिन केटाले अर्कै ठाउँमा डायल गर्दा १८ वर्षकी केटीको मोबाइलमा घण्टी बज्यो । सामान्य कुराकानी भयो । फोनमा चिनजान भयो।

    गलत नम्बरबाट आएको फोनबाट सामान्य चिनजान भएपछि केटाले लगातार फोन गर्न थाल्यो । दुई दिनसम्म त केटीले फोन उठाइनन् । केटाले फोन गरेको गर्‍यै गर्न थालेपछि केटीले फोन उठाउन थालिन्। दुवैका बीचमा कुराकानी हुन थाल्यो।

    लगातार तीन महिनासम्म उनीहरुकाबीचमा फोनवार्ता भइरहे । फोनमा दुवै जनाको ‘गहिरो’ माया बस्यो । उनीहरु फोनको कुराकानीबाटै एक अर्कामा छुट्न नसक्ने भए । भागेर भारतमा जाने र उतै काम गरेर बस्‍ने निधोमा पुगे। रुकुमबाट दुवै जना नेपालगञ्‍ज आए।

    भारत प्रवेश गर्दै गर्दा नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था केआई नेपालले रोक्यो । भारतमा गएर जे काम पाइन्छ, त्यही गर्ने र माया प्रेमलाई मूर्त रुप दिन उनीहरु घरबाट भागेर निस्केका थिए । दुवै जनालाई आफन्त बोलाएर जिम्मा लगाइएको छ ।

    अर्की सिन्धुलीकी केटी पनि फेसबुकबाट झांगिएको प्रेमलाई सफल बनाउन भारत जादै गर्दा नेपालगञ्ज नाकामा समातिएकी छन्। प्यूठानका केटासँग फेसबुकमा चिनजान हुँदै मायाप्रेममा परेकी किशोरी भारतमा गएर काम गर्ने भन्दै भागेर हिडेकी थिइन् । यी दुवै जनालाई केआई नेपालले रोकेर राखेको छ। आफन्तलाई बोलाएर जिम्मा लगाउने तयारी भएको केआई नेपालकी इन्चार्ज अपना भट्टले बताइन् ।

    कहिल्यै नगएको, नचिनेको ठाउँमा जादा जोखिममा पर्न सकिन्छ भन्‍ने हेक्का नराखेर निस्केका किशोरलाई काउन्सिलिङ गरेर फिर्ता पठाइएको छ । पहाडी जिल्लाका कतिपय किशोरीहरु भारतमा सजिलै काम पाइने, सामान सस्तो पाइने, घुम्‍न पाइने भन्दै हचुवाको भरमा भारततिर जान थालेको पाइएको छ ।

    एसइइ पास भएपछि नेपालगञ्जमा कुन कलेज राम्रो छ भनेर बुझ्‍न आएका पहाडी जिल्लाका दुई किशोरी दिल्ली घुम्‍न जाने भन्दै निस्किएपछि नाकामा समातिएका छन् । गाउँका मान्छेहरु दिल्ली गएको, सस्तो सामान पाएको बताएको सुनेका दुई किशोरी नेपाली दुई हजार तीन सय रुपैया बोकेर दिल्ली हिडेका थिए । दुईमध्ये एकजनासँग मोबाइल थियो ।

    नेपालगञ्जसम्म पहिलो पटक आएका किशोरीहरु भारतको दिल्ली जान कस्सिएका थिए । ‘राम्रो ठाउँ छ, घुम्ने र सस्तो पाइने भएकाले नेपालगञ्ज बस्दा चाहिने सामान लिएर आउने’ उनीहरुको उद्देश्य थियो । पैसा भने बाहिरी गोजीमा तीन सय नेपाली र भित्र लुकाएर राखेको दुई हजार नेपाली थियो ।

    नचिनेको ठाउँमा किशोरीहरु जान थालेकाले जोखिममा पर्न सक्ने भन्दै केआई नेपालले नाकामा रोकेर आफन्त बोलाई जिम्मा लगाएको छ। फेसबुक, फोनबाट माया प्रेम बसेर भारत जान थालेका किशोर किशोरी, घुम्न भनेर हचुवाका भरमा हिडेका किशोरीमात्रै होइन, यो नाकामा खाडी जान निस्केका धुरन्धर महिलाहरु पनि भेटिने गरेका छन्।

    भारत हुँदै खाडी जान थालेकी इलामकी एक महिलालाई संस्थाले रोक्दा उल्टै हप्काएकी छन्। ‘म देश खाएर शेष भएको मान्छे हुँ। मलाई तिमीहरुले किन रोक्छौं । मलाई सबै कुरा थाहा छ । जे पर्छ-पर्छ म खाडी जान्छु, रोकेका कर्मचारीहरुलाई ती महिलाले भनिन्, तिमीहरुले मलाई यहाँ रोक्छौं भने मेरो माग पूरा गर्नुपर्छ।’ यी महिलालाई भने केआईले प्रहरीलाई जिम्मा लगाएको थियो ।

    यता, प्रहरी र माइती नेपालले बाग्लुङ, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकका महिलालाई नाकामा रोकेर घर फिर्ता पठाउने तयारी गरेको छ। यिनीहरु खाडी मुलुक जान थालेका थिए । नेपालगञ्‍ज नाका कटाउन लागि परेका नविनकुमार श्रेष्ठलाई प्रहरीले समातेर मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाएको छ।

    प्रतिकृया दिनुहोस्