Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/२७ गते
    ७८५ पटक

    म स्वास्थ्य सेवामा प्रवेश गरेको झन्डै ३ वर्ष पुग्न लाग्यो । तर, आज पनि सुरुवातका दिनजस्तै नयाँ जस्तो लाग्छ र काम गर्ने जाँगर चल्छ । निकै रहरले पढेकाले पनि होला, मलाई भर्खर मात्रै अनमी भएर काम थालेको जस्तो लाग्छ ।

    सुष्मा कोइराला मेमोरियल क्याम्पस नेपालगञ्जबाट ०७२ सालमा अनमी पास गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा रहेर रोभिग अनमीको पदमा रही ६ महिना करारमा काम गरेँ । त्यसपछि आफ्नै घर भएको बाँकेको डुडुवागाँउपालिका वडा नं. ३ बनकट्टीमा रहेको स्वास्थ्य चौकीमा ढाई महिना काम गरेँ ।

    ०७४ सालमा लोकसेवा पास गरेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले २५ दिनको सुत्केरी अवस्थामा नै जिल्लाको सबै भन्दा बिकट ठाउँको रुपमा परिचित रग्दा स्वास्थ्य चौकीमा मेरो दरबन्दी कायम ग¥यो ।

    सुत्केरी बिदा माग गर्दा पनि नलगाड नगरपालिकाले कुनै पनि हालतमा बिदा दिन नसक्ने बताएपछि कार्यालयमा हाजिर भएर सदरमुकाम खलंगा आएँ ।

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग अनुरोध गरेपछि ९८ दिन बिदा पाउनु पर्ने ठाउँमा ४९ दिनको बिदा दिने निर्णय गर्नुभयो । ४९ दिनको बिदा पनि म र मेरो बच्चाका लागि निकै राहत भएको थियो ।

    बुवाको काख गुमाउँदा

    म जन्मेको ६ महिनामै बुबाको मृत्यु भएपछि उहाँको न्यानो काख महशुस गर्न पाइन । मेरो परिवारमा मेरो आमा, दाजु र म मात्र थियौं । दाजु लामो समयसम्म जनताको हितका निम्ती भन्दै युद्धमा जनमुक्ती सेनाको कमाण्डर भएर लड्दालड्दै सुर्खेतमा नेपाली सेनाको नियन्त्रणमा परे ।

    कैदी जीवन बिताईरहेको अवस्थामैै कारागारमा सुरुङ्ग खनेर आफ्ना साथीहरूसँगै फाग्न सफल भए । तर पनि बाँकेमा पुग्नेबित्तिकै फेरि नेपाली सेनाले नियन्त्रणमा लिई हत्या गरेर बेपत्ता बनायो । दाजुले युद्धको मैदानमा रहेका बेला नै विवाह गर्नुभएको थियो ।

    वैवाहिक जीवनमा बाधिएको केही महिनामै नेपाली सेनासँगको भिडन्तमा भाउजुले पनि बिरगती प्राप्त गर्नुभयो । दाई र भाउजु परिर्वतनका निम्ती संघर्ष गर्दागर्दै शहिद भएपछि म र मेरो आमा मात्रै बाँकी रह्यौं । त्यही बेला फेरि नेपाली सेनाले मेरो घरमा छापा मारी मेरो आमालाई नजरबन्द बनाई बेपत्ता बनायो ।

    लामो खोजी गरे पश्चात बाँकेको फुल्टेक्रमा रहेको नेपाली सेनाको ब्यारेकमा आमालाई माओवादी भन्दै चरम यातना दिँदै राखेको थाहा पाएँ ।
    १ महिनासम्म आमालाई सेनाले यातना दिएपछि आमाको मानसिक सन्तुलन गुम्यो । त्यस पश्चात सेनाले नेपालगंज कारागारमा राख्न पठाएको ३ महिनापछि आमालाई कारागार मुक्त गरियो ।

    स्वास्थ्यकर्मीको व्यवहारले उब्जाएको चाहाना

    कारागारबाट मुक्त भएपछि आमाको लामो उपचार पश्चात स्वास्थ्य स्थितीमा सुधार आयो । आमाको उपचार गराउँन जादा गरिब र धनी भएकै आधारमा स्वास्थ्यकर्मीबाट भएको विभेद देखेर विभेदका विरुद्ध लड्न मैले स्वास्थ्यकर्मी बन्ने चाहाना बनाएँ । त्यो मेरो चाहाना मात्रै थिएन, मेरी आमाको पनि चाहाना थियो ।

    कुरा २०६५-०६६ सालतिरको हो । तत्कालीन समयमा नेपाली सेनाले दिएको चरम यातनाकै कारण आमालाई क्यान्सर भयो । आमाको उपचारका लागि रुपैयाँ नभएपछि उहाँको नाममा रहेको जग्गा बिक्री गरेँ ।

    उपचारका लागि भारतको लखनउ लगेँ । तर लाख प्रयत्न गर्दा पनि उहाँलाई जोगाउन सकिन । मेरो जीवनको एक्लो र पूर्ण सहारा आमा नै नरहेपछि मेरो लागि संसार शून्य भो । चारैतिर अन्धरकारले छायो । तर पनि गर्नैपर्ने मृत्यु संस्कार सबै गरेँ । अनि आमाको सपना पुरा गर्ने अठोटकासाथ संघर्ष गर्ने संकल्प लिएँ ।

    आलमसँगको भेट

    २०६८ सालमा नेपालगंजमा बसेर पत्रकारिता गर्दै आइरहनु भएका मुस्लिम युवा आलम खानसँग भेट भयो । हाम्रो भेटघाट र कुराकानी बाक्लिदै गयो । परिवारमा एकपछि अर्कोको मृत्यु सहेकी मैले मेरा कुरा सुनिदिने मान्छे भेटे जस्तो भयो । मुस्लिमहरू आफ्ना कुरामा निकै विश्वासी र पक्का हुन्छन् भन्ने बुझेकी थिएँ । उहाँसँगको संगतले मेरो बुझाई सही रहेछ भन्ने लाग्यो ।

    संयोग नै भन्नुपर्छ, आलमसँगको मेरो भेट । उहाँ पनि कम्युनिष्ट हुनु हुँदोरहेछ । उहाँसँगको भेटले मेरो परिवारका सम्पूर्ण सपनाहरू पुरा हुने आशा पलाए मेरो मनमा । हाम्रो इस्लामीक संस्कार अनुसार विहे भो ।

    विहेलगत्तै अनमी पढ्नका लागि नेपालगंजमा फाराम भरेँ । परीक्षा दिएँ । परीक्षामा पास पनि भएपछि अनमी पढ्ने बाटो खुल्यो । अनमीको परीक्षामा ९१.९५ प्रतिशत आएपछि हामी दुवै जना हर्षित भयौं ।

    जागिर शुरु

    मैले जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा रोभिग अनमीका लागि परीक्षा दिँदा एक नम्बरमा नाम निकाली होलियामा गर्भवती जाँच, सुत्केरी गराउँने र परिवार नियोजन साधनबारे जानकारी दिने अवसर प्राप्त भएको थियो ।

    मैले होलियामा काम गर्र्न सुरु गरेपछि त्यहाँका महिलाहरू स्वास्थ्यप्रति अलि बढी सजग भएजस्तो लागेको थियो । गर्भ रहेदेखि नै नियमित स्वास्थ्य केन्द्रमा गएर जाँच गराउने, सुत्केरी हुने र पछि पनि जाँच गराउने क्रम बढ्दै गयो ।

    म अहिले कार्यरत रहेको रग्दाको चौखामा पहाडी समुदायको बाहुल्य छ । सो समुदायका महिलाहरूमा पनि स्वास्थ्य संस्थामा आएर जाँच गराउने, सल्लाह लिने र सुत्केरी हुन पनि स्वास्थ्य केन्द्रमै आउनुपर्छ भन्ने चेतना बढ्न शुरु भएको छ ।

    यति मात्र होइन, सन्तान पनि जन्मान्तर गरेर जन्माउनुपर्छ भन्ने सोचको विकास भएको छ । यहाँका धेरै महिला जन्मान्तरका लागि डीपो र पिल्सको प्रयोग गर्छन् । पछिल्लो समय भने नरप्लान्ट र आइयूसीडी प्रयोग गर्नेको संख्या पनि बढेको छ ।

    यस क्षेत्रमा कण्डम प्रयोग गर्नेहरूको संख्या भने निकै कम छ । स्वास्थ्य केन्द्रबाट निकै कमले मात्रै कण्डम लैजान्छन् । बाहिर मेडिकलबाट किनेर लैजानेचाहिँ हुन सक्छन् । यस विषयमा महिलाहरूसँग सोध्दा उनीहरूमध्ये धेरैको जवाफ हुन्छ, ‘श्रीमानले रक्सी खाएका हुन्छन, कण्डम प्रयोग गर्नै मान्दैनन् ।’

    पुरुषहरूको यस्तै प्रवृत्तिका कारण यहाँ परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेमा महिलाकै संख्या बढी छ । हाम्रो स्वास्थ्य चौकीमा किशोर–किशोरीमैत्री सेवा पनि छ्, जहाँ विवाहित किशोर–किशोरी परामर्श लिन आउँछन् ।

    अविवाहित किशोर–किशोरी भने खासै आउँदैनन् । किशोर–किशोरीले स्वास्थ्य तथा प्रजनन स्वास्थ्यबारे जानकारी लिन संकोच मान्ने प्रवृत्ति कायमै छ ।

    स्थानीयहरूले स्वास्थ्य केन्द्रबाट सबै किसिमको उपचार सेवा खोज्ने भएकाले त्यस अनुसारको सेवा–सुविधा उपलब्ध गराउनुपर्ने देखिन्छ । जस्तैः स्वास्थ्य केन्द्रमै शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने व्यवस्था हुन आवश्यक छ ।

    कहिलेकाहिँ सुत्केरीहरू निकै जटिल अवस्थामा आइपुग्छन् । नजिकै अस्पताल र एम्बुलेनसको साधन समेत नभएको ठाउँ भएकोले उनीहरूलाई अर्को अस्पताल रिफर गर्दा पु¥याउन ढिलो हुने खतरा हुन्छ । शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा भविष्यमा सुरु होला भन्ने आशा छ ।

    सरकारले यस्तो नीति अपनाओस्

    सरकारले बल्ल त सबै स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था गरेको छ । हामीकहाँ पनि एक वर्षदेखि डाक्टर हुनुहुन्छ । गाउँमै डाक्टर पाएपछि स्थानीय निकै खुसी भएका छन् । यसबाट सानोतिनो उपचारका लागि धाएर शहर जानुपर्ने बाध्यता हटेको छ ।

    मैले जागिर खाएपछि काखमा छोरीलाई च्यापेर विरामीहरूको उपचार गर्दै आएको छु । स्वास्थ्य सेवा नियमावली र निजामति कर्मचारी ऐनमा सुत्केरी महिला कर्मचारीलाई एक वर्षसम्म दुर्गम ठाउँमा दरबन्दी कायम गरिने छैन ।

    कर्मचारीलाई सुबिधा हुने ठाउँ राख्ने व्यवस्था हुँदाहुँदै पनि स्थानीय निकाय, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य मन्त्रालयलेसमेत खासै चासो देखाएको छैन ।

    त्यसमा पनि आफू जस्तै महिलाको सेवा गर्न पाउँदा र जानेका कुरा सिकाउन पाउँदा आनन्द लाग्छ । सुत्केरी महिलालाई घर नजिकै राखेर काममा लगाउने सरकारले नीति लिन जरुरी छ । स्थानीय सरकारदेखि केन्द्र सरकार समेत सुत्केरी कर्मचारीप्रति सम्वेदनशील नभएको देख्दा निकै दुःख लागेको छ ।

    पीडा जसले भोगेको हुन्छ, उसैलाई मात्रै थाहा हुन्छ । बाँकीले त महशुस गरिदिने हो । शिशु र आमाको स्वास्थ्यका बारेमा अरुलाई चेतना दिने मैले आफै सुत्केरी अवस्थामा आराम नपाएको कुराले भने बेलाबेलामा आफैमाथि राज्यले अन्याय गरेको आभास हुन्छ । सरकारले यस्तो कुरामा नीति बनाएर कार्यान्वयन गर्न जरुरी छ ।

    (सिमा घर्तिमगर खानले महिला खबरसँग गरेको कुराकानी जस्ताको तस्तै)

    #महिला खबरबाट साभार

    प्रतिकृया दिनुहोस्