Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/६ गते
    ३९६२ पटक
    सतिश निरौला ।

    विभिन्न जिल्ला अनि सहरबाट घुम्दै फिर्दै आएर बसोबास गरेकाहरु ठाउँ बाँके जिल्ला । त्यति मात्रै है विभिन्न बहाना मा बर्मा (हालको म्यानमार) छिरेका हरुसमेत पुनः स्वदेश फर्की बसोबास सुरु गरेको ठाउँ हो बाँके ।

    मेरो हजुरबुबा पनि दोश्रो विश्व युद्धको दौरान ब्रिटिश सेनाको सहयोगीका रूपमा बर्मा पुग्नु भएको थियो नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ छाडेर । बर्मा पुगेपछि आफ्नो मुलुक फर्किन मेसो नमिल्दै हजुरबुबा स्वर्गे हुनुभयो । तर वहाँको चाहाना बमोजिम आफ्ना ९ छोरा र २ छोरी सहित हजुरआमा नेपाल फर्किनु भयो ।

    हजुरबुबाले बसोबास गरेको ताप्लेजुङ चागेको घर अहिले जीर्ण अवस्थामा भेटिएको छ । त्यस्तै बाँके जिल्लामा भारतको सिमावर्ती गाउँबाट आई थुप्रैले यहाँ बसोबास गरे । त्यसैले बाँके विविधतामा एकता भएको जिल्ला हो ।

    राणा कालमा नै बाँकेको नेपाल्गन्ज सहरको रूपमा विकास गरियो । समय फेरिए सङ्गै नेपालगन्जको पनि रुप फेरिदै गयो । कुनै समय देशका मुख्य ५ सहर भित्र पर्ने नेपालगन्जले आफ्नो विकासको गति पक्डिन सकेन ।

    त्यसैले अलि पछि धकेलियो नेपालगन्ज । तत्कालीन ५ विकास क्षेत्र मध्य सुदुरपश्चिम र मध्यपश्चिम र हालको कर्णाली प्रदेश, ५ नं. प्रदेश र ७ न प्रदेशको मुख्य सहर र प्रमुख ब्यापारिक केन्द्र एवं ट्रान्जिट प्वाइन्ट रहेको नेपालगन्जले भने जस्तो गति नलिनुमा जिल्ला हाँक्ने नेतृत्वको कमिकमजोरी र राज्यको शासन सत्तामा हाम्रो न्यून उपस्थिति पनि हुनसक्छ ।

    तर, पछिल्लो पटक नेपालगन्जकै नेता सुशील कोइराला काङ्ग्रेस सभापति हुँदै प्रधानमन्त्री हुँदा समेत सुर्य बहादुर थापाले धनकुटाको मुहार फेरे जस्तो फेरिएन बाँके अनि नेपालगन्ज ।

    अहिले आएर प्रादेशिक संरचनामा मुलुक प्रवेश गरिरहँदा समेत यसको अवसर पनि छोप्न सकेन नेपालगन्जले । कैलाश मानसरोवर प्रवेशको मुख्य इन प्वाइन्ट हो नेपालगन्ज । नेपालगन्जमा रहेको एयरपोर्टलाई अब स्तरोन्नतिको पहलकदमीको कुरो उठिरहेको छ ।

    यहाँबाट अब एकैपटक सबै देशको उडान भर्ने गरि विमानस्थलको अपग्रेडिङ्ग गर्न नसकेपनि भारतका मुख्य सहरहरु लखनउ, बराणानासी, दिल्ली, मुम्बई लगायतका सहरमा हवाई उडान गर्न सकियो भने नेपाल्गन्ज जाग्न सक्छ ।

    नेपालगन्ज सहर पुरानो सहर । तरपनि यो सहरमा थुप्रै समस्या र कमजोरी छन् । एउटा सहर वास्तवमा सहर हुन हुनु पर्ने आधारभूत संरचना समेत देखिदैन नेपालगन्जमा । यत्रो पुरानो सहरमा घुमफिर गर्दै गर्दा सहरका मुख्य स्थानहरु त्रिभुवन चौक, धम्बोजी चौक, न्युरोड, बिपि चौकमा मात्र हैन कही कतै शौचालय जानुपर्ने अवस्था आए सार्वजनिक शौचालय भेटिदैन ।

    ढल निकासको समस्या अझै उस्तै छ । फोहोर ब्यबस्थापन नेपालगन्जका लागि चुनौती नै हो । भएको सानो चिडियाखाना समेत गए गुज्रेको अवस्थामा छ । बालक्रिडा स्थल, मनोरञ्जन स्थल, पार्क, बगैचा केही भेटिदैन नेपालगन्जमा ।

    एउटा सहरले सहरको आकार ग्रहण चाहिने आधारभूत निर्माण र भएका संरचनाको ब्यबस्थापन गर्न नसक्नु पनि दुर्भाग्य हो । यस्तो पुरानो सहरमा एक हजार जना क्षमता सभागृह छैन । सानोतिनो समिट (सम्मेलन, कन्फ्रेन्स) नेपालगन्ज गर्ने अवस्था नहुनु पनि लज्जाको बिषय नै हो । हामी सँग भएको रामलिला मैदानलाई आधुनिकीकरण र ब्यबस्थापन गर्न सकेका छैनौ ।

    रानीतलाउ सुक्खा तालमा परिणत भएको छ । प्रशस्त पार्किङको लागि अझै दृष्टि पुग्न सकेको छैन । सवारीसाधनको ब्यबस्थापन पनि नेपालगन्ज को अर्को चुनौती हो ।

    सहरका थुप्रै समस्या अनि चुनौतीका बीच हाम्रो सहर नेपालगन्ज लड्खडाउँदै अघि बढ्दै गर्दा अहिले राजकीय सत्ताको एउटा अवसर देखा परेको छ । बाँकेका इस्तियाक राई सहरी विकास मन्त्री बन्न पुगेका छन् । यो एउटा महत्वपूर्ण अवसर हो नेपालगन्जका लागि अनि स्वयं मन्त्री राईको पनि यो अवसर हो ।

    नेपालगन्जमा हुन नसकेको बिकास, नेपालगन्जले नपाएको निकाश अनि केही भौतिक संरचना सहित नयाँ मुलुकको रूपमा जङ्गबहादुरले मुगल सम्राटहरुका विरुद्ध अंग्रेजलाई सघाए बापत तत्कालीन इस्ट इन्डिया कम्पनीबाट उपहार पाएको यो जिल्लालाई अघि बढाउन सके ।

    बाँके जिल्ला अनि नेपालगन्ज सहरको त कायापलट हुन्छ नै यसले सँगसँगै बाँकेको तेस्रो ठुलो सहरका रूपमा खजुरालाई अघि बढाउन अनि कोहलपुर र राँझाको विकासलाई पनि टेवा पुर्याउने छ ।

    कसैका विरुद्ध लडिदिएर कुनै समय आफ्नै मुलुकको एउटा गुमाएको क्षेत्र पुनः उपहार स्वरुप फिर्ता हुनु चानचुने र सामान्य कुरो होइन । तसर्थ पनि नेपालगन्ज सहरको खास महत्व हुनुपर्छ । एउटा स्वतन्त्र रास्ट्रका लागि आफ्नु गुमेको सिमा फिर्ता हुनुले जुन महत्व राख्छ । त्यो हामीले बुझ्न जरुरी छ ।

    संयोगवश अहिले उनै जङ्गबहादुर कै पछिल्लो पुस्ता यो सहरको उपमहानगरको मेयरको रूपमा काम गरिरहँदा अब उनले आफ्ना पूर्वजले फिर्ता ल्याएको भुभागका निम्ति के कति गर्छन् हेर्न बाँकी नै छ ।

    www.nepalgunjnews.com

    प्रतिकृया दिनुहोस्