आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/३१ गते
    ५१ पटक
    नेपालगञ्ज ।

    अवैध बाटोको प्रयोग गरेर मानिसहरुलाई भारत प्रवेश गराउने गिरोहका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुसँगै रहेका ५४ जना नेपाली नागरिकहरुलाई सोमबार मध्यराती डुडुवा गाउँपालिकाको खडैचाबाट प्रहरीले उद्दार गरेको थियो । कोरोना महामारीका कारण सीमा क्षेत्र सिल हुँदा अवैध बाटोबाट भारत छिराउने गिरोह सक्रिय भनेको हो ।

    जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष टोलीले ५४ जनाको उद्दार गर्नुका साथै दुई जना गिरोहका सदस्यहरुलाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

    ‘अवैध बाटोको प्रयोग गरेर मध्यरातमा भारत प्रवेश गर्न खोज्ने ५ महिला र ४९ जना पुरुष गरी ५४ जनाको उद्दार गरेका छौं’ उनले भने, ‘अवैध बाटोको प्रयोग गरेर भारत जाने कार्यक्रममा सहजिकरण गर्ने दुईजनालाई समेत नियन्त्रणमा लिएका छौं ।’ मानिसहरुबाट केही रकम लिएर भारत छिराउने गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

    उद्दार गरिएकाहरुमा रुकुम, रोल्पा, दाङ, बर्दिया, बाँके लगायतका जिल्लाका मानिसहरु रहेका छन् । पक्राउ पर्नेमा मानिसहरुलाई भारत छिराउने गिरोहका नेपालगञ्ज घर भएका सेराज अहमद राई र दाङ तुलसीपुर घर भएका अमर गन्र्धव हुन् । उद्दार गरेकाहरुले भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्न जान लागेको बताएका थिए ।

    अवैध बाटोबाट भारत पठाएबाफत ठेकेदारलाई ६ हजार रुपैयाँ दिनुपर्ने सर्त रहेको उद्दार गरिएका एक जनाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भारतको सिमला लैजादै गरेको अवस्थामा ५४ जनालाई उद्दार गर्नुका साथै गिरोहका दुई जनालाई पक्राउ गरिएको बताए ।

    पक्राउ परेका दुई जनालाई भने हिरासतमा लिएर थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

    पक्राउ परेका युवाले ती नेपालीलाई भारतको सिम्रामा लैजान लागेको र त्यहाँ काम लगाइदिने जिम्मा अर्कैले लिएको बयान प्रहरीमा दिएका छन् । उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको छ ।

    कोरोना भाइरसको महामारीका कारण अहिले कामविहीन भएकाहरू लुकिछिपी भारत जानेहरूको संख्या उल्लेख्य छ । कतिपय पहिले नै भारतमा काम गरिरहेका तर लकडाउनका कारण फर्किएकाहरू पनि उतै जान लागेका हुन् ।

    वैधानिक बाटोबाट जान सम्भव नभएपनि नेपालीहरुले अवैध बाटोबाट भारत प्रवेश गर्न खोज्ने गर्दछन् ।

    प्रतिकृया दिनुहोस्