आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/३० गते
    २३१ पटक
    कोहलपुर ।

    कोरोनाको महामहारीले देश संकटमा परेका बेला राप्तीसोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको गाडी मोह देखिएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला जोखिम व्यवस्थापन कम गर्न रकम अभाव भइरहेको बेला राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले स्कार्पियो गाडी खरिद गरेका छन् ।

    महामारीका बेला अधिकृत बस्नेतले गाडी खरिद गरेपछि राप्ती सोनारी गाउँपालिका स्थानीयलगायत जनप्रतिनिधि समेत रुष्ट बनेका छन् । ४४ लाख ९५ हजार रुपैयाँ परेको उक्त गाडी भुसाल इन्टरनेशनल नेपालगन्जबाट खरिद भएको जिन्सी शाखाका महेन्द्र खड्काले बताए ।

    गाडी खरिदका लागी गाउँपालिका बोर्ड बैठकबाट पारित गराउनु पर्ने भए पनि प्रशासकीय अधिकृत बस्नेतले जनप्रतिनिधिलाई थाहै नदिई गाडी किनेको आरोप लागेको छ । ठूलो रकम खर्च गर्दा अनिवार्य रूपमा बोर्ड बैठकबाट पास गराउनु पर्छ ।

    असार मसान्तको कोलोजिङका बेला प्रशासकीय अधिकृतबाट गाडी किन्ने प्रस्ताव बोर्ड बैठकमा आए पनि त्यस विषयमा छलफल नै नभएर गाडी किनिएको नाम नबताउने सर्तमा एक जनप्रतिनिधिले बताए ।

    ती जनप्रतिनिधिका अनुसार यो महामारीका बेला गाडी खरिद प्रक्रियालाई पछि सार्न भने पनि प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने भन्दै एक्कासि गाडी आएपछि अचम्म लागेको बताए ।

    गाउँपालिकामा यस अघि नै दुईवटा गाडी छन् । टाटा जिनानको एउटा गाडी र अर्को स्कार्पियो । गाउँपालिकामा दुईवटा गाडी पहिलेदेखि नै भए पनि अधिकृतले आफ्नो व्यक्तिगत सेवा सुविधाको लागि गाडी किनेको अधिकृत बस्नेतमाथि आरोप लागेको छ ।

    यस अघि पनि बोर्ड बैठकबाट निर्णय नभएका कुरालाई कागजी रूपमा आफूखुसी पछिबाट घुसाउने प्रवृत्तिले गर्दा कर्मचारीले मनोमानी तवरले आफूपायक काम गर्ने गरेको आरोपसमेत एक जनप्रतिनिधिले लगाए ।

    लामो समय देशमा जारी लकडाउन, निषेधाज्ञा, डुबान र कटानका कारण जनतालाई दुई छाकको जोहो गर्न सकस भइरहेको बेला स्कार्पियो गाडीलाई पहिलो प्राथमिकतामा राखेर अधिकृत बस्नेतले गाडी झिकाएपछि राप्तीसोनारी–२ स्थित कचनापुरका स्थानीय रुष्ट बनेका छन् ।

    उक्त क्षेत्रमा बर्षातको समयमा राप्ती नदीमा उर्लेर आउने बाढीले बर्सेनि स्थानीयको दशौं विघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । बर्सेनि बाढीले खेतीयोग्य जमिन कटान गरे पनि स्थानीय टुलुटुलु हेर्न बाध्य छन् ।

    यसरी वर्षातको समयमा उर्लेर आएको बाढीले कचनापुर, टिकुलीपुर, मदुई, हरिहरपुर, राजपुर, शम्शेरगन्जका खेतीयोग्य जमिन बर्सेनि कटान त गरिनै रहेको छ भने अर्कोतर्फ ती वस्तीसमेत कटानको उच्च जोखिममा रहेका छन् ।

    गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतसहितको टोली कटान क्षेत्रको अनुगमनमा आए पनि स्थानीयको समस्यालाई बेवास्ता गरी रकम अभाव देखाएर कटान समस्या समाधान गर्नुको साटो अधिकृत बस्नेतले लाखौं रुपैयाँको गाडी किनेका छन् ।

    ‘बोर्ड बैठकमा छलफल नै नभएर गाडी किनियो । बैठकमा गाडी किन्ने बारे प्रस्थाव आए पछि त्यस विषयमा छलफल हुन नपाउँदै गाडी किनिएको हो,’ राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मदन ओलीले भने,‘ गाउँपालिकामा दुईवटा गाडी पहिलेदेखि नै थियो ।

    यस्तो बेलामा लाखौं रुपैयाँको गाडी किनेर डुबान र कटान पीडितको समस्यालाई बेवास्था गरियो ।’ बोर्ड बैठकमा छलफल नभएका र केही निर्णय पछि घुसाइने प्रवृत्तिले पनि यस्तो समस्या आएको अध्यक्ष ओली बताउँछन् ।

    प्रतिकृया दिनुहोस्