आज : २०७७ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/३० गते
    ४१ पटक
    एजेन्सी ।

    कयौं एप र उपकरण सुरक्षाका लागि पासवर्ड अति आवश्यक हुन्छ। पासवर्ड याद गरी राख्नु सजिलो काम भने होइन। यति धेरै पासवर्ड, कापीमा टिपेर राख्न पनि सम्भव छैन।

    पासवर्ड याद रहोस् भनेर हामी आफूलाई सजिलो लाग्ने शब्दहरू राख्छौं। तर, यसरी सजिला पासवर्ड राख्नु एप र उपकरणका लागि राम्रो वा सुरक्षित नहुने प्रविधि-विज्ञहरू बताउँछन्।

    उसो भए सुरक्षित तवरमा पासवर्ड कसरी राख्ने ?

    प्रविधिसम्बन्धी समाचार लेख्ने भारतीय अखबार टेक-हिन्दुस्तान टाइम्सका अनुसार पासवर्ड राख्दा निम्न कुरामा ध्यान दिनुपर्छः

    १. एउटै पासवर्ड धेरै एप वा उपकरणमा कहिल्यै प्रयोग गर्नु हुँदैन। किनकी यदि कसैले तपाईंको कुनै एउटा एप वा उपकरण ह्याक गर्‍यो भने, उही पासवर्ड अरूमा पनि प्रयोग गर्ने कोशिस गर्छ। र, एकै पासवर्ड भए सबैमा उसको पहुँच हुन्छ।

    २. आफ्नो नामथरको पासवर्ड राख्नु हुँदैन। आमाबुबा, भाइबहिनी वा नातेदारको नाम पनि प्रयोग गर्नु हुँदैन। अरूलाई यी पासवर्ड पत्ता लगाउन सजिलो हुन्छ।

    ३. आफ्नो क्रेडिट वा डेबिट कार्डको पिन नम्बर र आफ्नो फोन नम्बर पनि कदापी प्रयोग गर्नु हुँदैन।

    ४. आफ्नो जन्म दिन वा विवाह वार्षिकोत्सवको मिति राख्नु हुँदैन।

    ५. राहदानी नम्बर वा प्यान नम्बर राख्नु पनि असुरक्षित हुन्छ।

    ६. पुरानो पासवर्ड पुनः प्रयोग गर्नु हुँदैन। धेरै एपले भर्खरै प्रयोग गरेका पासवर्ड स्वीकार्दैन पनि। तर केही महिना पुरानो पासवर्ड राख्न पनि जोखिमपूर्ण हुन्छ। म्याद सकिएका पासवर्ड सूचीहरू डार्क वेबबाट वा ह्याकरद्वारा निकालिने डाटाबेसबाट प्राप्त गर्न सकिन्छ।

    ७. पासवर्डहरू अनलाइन वा इमेल ड्राफ्टमा लेखेर राख्नु हुँदैन। त्यसलाई इन्टरनेटजडित नभएका उपकरणमा लेखेर राखे मात्र ह्याकरबाट जोगिन सकिन्छ।

    ८. गुगल क्रोम जस्ता ब्राउजरहरूमा पासवर्ड ‘सेभ’ गर्न सकिन्छ। यो सुविधा धेरै उपयोगी हुन्छ। तर यसलाई प्रयोग नगर्दा नै राम्रो हुन्छ। यदि गल्तीले जोखिमपूर्ण वेबसाइट क्लिक भयो भने त्यसले सबै सेभ पासवर्डहरू असुरक्षित बनाउँछ।

    ९. उपलब्ध भएका ठाउँमा ‘टु फ्याक्टर अथेन्टिकेसन’ सुविधा प्रयोग गर्नु पर्छ। यसो गर्दा कुनै सामाजिक सञ्जाल वा इमेल जस्ता एकाउन्टमा दोस्रो तहको सुरक्षा प्रणाली हुन्छ। यदि एउटा पासवर्डबाट ह्याक भयो भने अर्को प्रणालीबाट खोलेर पुरानो पासवर्ड परिवर्तन गर्न सकिन्छ।

    १०. आफ्ना पासवर्ड हरेक महिना परिवर्तन गरे अझ सुरक्षित भइन्छ। यो काम झन्झटिलो हुन्छ तर पछि पछुतो मान्नुभन्दा अहिले सुरक्षित हुनु वेश हुन्छ।

    (टेक-हिन्दुस्तान टाइम्सको सहयोगमा)

    प्रतिकृया दिनुहोस्