आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/२९ गते
    ३३ पटक
    एजेन्सी ।

    कोरोना भाइरसको संक्रमणमा बढेपछि इजरायल सरकारले फेरि देशव्यापी रूपमा लकडाउन गर्ने घोषणा गरेको छ। संक्रमणको वृद्धिलाई नियन्त्रण तथा न्युनीकरण गर्न सरकारले तीन हप्ता लामो लकडाउन गर्ने निर्णय गरेको हो।

    कोरोना भाइरस संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न देशव्यापी लकडाउन गर्ने विकसित राष्ट्रमध्ये इजरायल पहिलो भएको समाचार संस्था एएफपीले लेखेको छ। त्यहाँ आउने शुक्रबारदेखि लकडाउन हुनेछ।

    गत मार्चमा इजरायलले कोरोना भाइरसको संक्रमणलाई फैलिनबाट रोक्न लगाएको कडा लकडाउनको तारिफसमेत भएको थियो।

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार टेलिभिजनमार्फत लकडाउनको घोषणा गरेका थिए। क्याबिनेटले तीन हप्तासम्म कडा लकडाउन गर्ने निर्णय गरेको र आवश्यकताअनुसार लम्ब्याउन सक्ने विकल्प समेत राखेको बताएका थिए।

    ‘हाम्रो उद्देश्य बढ्दो संक्रमणलाई रोक्नु र कम गर्नु हो,’ उनले भने। एएफपीका अनुसार अहिले इजरायलमा दैनिक चार हजार नयाँ संक्रमित थपिने गरेको छ।

    यहुदीहरू नयाँ वर्ष र ‘हाइ होलिडेज’ सुरू हुनु केही घन्टाअघि त्यहाँ लकडाउन गर्न लागेको हो।

    पहिलो चरणमा कोरोना नियन्त्रण गर्न सफल भएको बताए पनि अहिले संक्रमण बढेको भन्दै त्यहाँका नागरिक आन्दोलित छन्। संक्रमण नियन्त्रण गर्न प्रभावकारी काम नगरेको भन्दै आइतबार प्रधानमन्त्री नेतान्याहुको राजीनामा माग गर्दै प्रदर्शन भएका थिए।

    उनीहरूले विमानस्थल जाने बाटो बन्द गराएका थिए। प्रधानमन्त्री नेतन्याहु बहराइन र युएईसँगको सम्बन्ध सुधार्न एक सम्झौता पत्र हस्ताक्षर गर्न अमेरिका जान लागेका बेला उनीहरूले प्रदर्शन गरेका हुन्।

    इजरायलमा सोमबारसम्म एक लाख ५६ हजार ५ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार १ सय १९ जनाले ज्यान गुमाएका छन्।

    प्रतिकृया दिनुहोस्