Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/३/४ गते
३२९ पटक
टीकापुर ।

घोडाघोडी नगरपालिकाको सुखडमा दयाराम चौधरीको करिब डेढ बिघाको एउटा प्लट जहाँ अन्न फल्थेन । वर्षको धेरै समय बाँझै राख्नुपर्ने बाध्यता थियो । यो जमीनको प्रयोग कसरी गर्ने भन्ने दयारामलाई सधै चिन्ता थियो । व्यावसायीक रुपमा टर्की पालन गर्न थालेपछि भने उनको बन्जर जमीनको पुरै सदुपयोग भएको छ ।

करिब डेढ विघाको प्लटमा उनले कागती खेती गरेका छन् र त्योसंगै करिब ७ सय टर्की पालेका छन् । उनले भने, ‘थाइल्याण्ड, भियतनाम, भारतलगायत धेरै ठाउँका कृषि फर्म घुम्दा धेरै थरीका चरा पालेको देखे । २ महिनासम्म भारतमा चरा पालनको अध्ययन गर्दा जंगली तरिकाले टर्की पाल्न सक्ने सम्भावना देखें र यही टर्की पालन सुरु गरे ।’

उनले रोपेका कागती, मलेसियन साललगायत बोटबिरुवा हुर्किसकेका छैनन् । साना बोटविरुवालाई टर्की चराले नोक्सान पुर्‍याउन सक्ने भएकोले उनले हाल टर्की खोरमै राखेका छन् । उनले भने, ‘पहिला बोटविरुवा हुर्काउन पर्ने थियो । मैले यो दुवै कुरा संगसंगै गरे । टर्की हुर्कीसके । बिरुवा हुर्केन । बोटविरुवा हुर्कीसकेपछि खोरको काम अण्डा पार्न र चल्ला उत्पादन गर्न प्रयोग हुन्छ ।’

टर्की पालन व्यवसाय सुरुको अवस्था भएकाले योबाट धेरै आम्दानी लिन नसकेको उनी बताउँछन् । उनले भने, ‘अहिले लगानी र आम्दानी बराबरको हाराहारीमा छ । विगतको सिकाइ र भोगाइले आगामी दिनमा राम्रो आम्दानी लिन सकिन्छ भन्ने विश्वास बढेको छ ।’ टर्की चरा ब्रोइलर कुखराको जस्तो दाना खुवाएर पाल्न निकै महंगो हुने भएकाले यसलाई एग्रो फोरष्ट्रिका रुपमा पाल्ने योजना रहेको उनले सुनाए । उनले भने, ‘टर्की पालनका बारेमा यो भेकमा जानकार कोही भएनन्। यसको व्यवसायिक खेतीबारे जान्न मैले करिब १ लाख भारु खर्च गरें ।’

चौधरीले प्रदेश ७ मा पहिलो टर्की फर्म कैलालीमा सञ्चालन गरेका हुन् । उनका अनुसार नेपाली कानुनले चराको बेचबिखनमा रोक लगाएको छ । तर टर्की चरामा बन्देज छैन । त्यसैले यसको व्यावसायिक पालनबाट चराको मासुको स्वाद उपभोक्तालाई दिन सकिन्छ ।

एउटा टर्की चरा १ वर्षमा ८/९ किलोसम्म हुने र पोथीले वर्षमा ८० वटासम्म अन्डा दिने उनले सुनाए । उनका अनुसार यो चराको मासुमा कोलेस्टेरोलको मात्रा एकदमै कम हुने हँुदा उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका बिरामीका लागि पनि फाइदाजनक छ ।

टर्कीको मासु बिक्रीमा खासै समस्या नरहेको चौधरीले बताए । ‘काठमाडौंका स्टार होटलमा यसको मासु प्रतिकिलो ३ हजारमा बिक्री हुन्छ । यहाँ भने प्रतिकिलो ८ सयमा बिक्री हुँदै आएको छ,’ उनले भने ।

अहिले मासु बिक्री गर्दै आएका चौधरी आगामी दिनमा यसको चल्ला उत्पादन गरी बेच्ने सुरमा छन् । ‘चल्ला उत्पादनका लागि मेसिन आइसकेको छ,’ उनले भने, ‘एउटा किसानले घरमा कुखुरा पालेजस्तै टर्की चरा पाल्न सक्ने भएकाले घर–घरमा पाल्न लगाउँछु र यसको मासु विक्री गर्ने जिम्मा आफैले लिन्छु ।’ एउटा टर्कीको चल्ला ५ सयमा किन्न पाइन्छ ।

घरमा लोकल कुखुरा पालेजस्तै २० वटा मात्र पाले पनि वर्षमा लाख आम्दानी सजिलै गर्न सकिने उनले बताए । उनले भने, ‘यहाँका घरघरै जसो लोकल कुखुरा पालिएका छन् । लोकल कुखुरा चरेजस्तै टर्की पनि दिनभरी चर्छन । साँझ लोकल कुखुराको जस्तै खोरमा बस्छन् । बिना लगानी किसानले आम्दानी लिन सक्छन् ।’

प्रतिकृया दिनुहोस्