आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/२८ गते
    ८३ पटक
    नेपालगञ्ज ।

    कोरोना कहर बढेसँगै नेपालगञ्ज कारागारबाट केही कैदीबन्दी र थुनुवालाई अन्य जिल्लाका कारागारमा सारिएको छ । केही कैदीबन्दी र थुनुवाहरुमा कोरोना संक्रमण देखिएपछि कारागारलाई आइसोलेसन सेन्टर बनाउने उद्देश्यले उनीहरुलाई अन्य कारागारमा सारिएको हो ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मंगलबार नेपालगञ्ज कारागारमा रहेका महिला कैदीबन्दी र थुनुवाहरुलाई अन्य जिल्लाका कारागारमा पठाइएको जानकारी दिए । कारागारमा रहेका महिला कैदीबन्दी र उनका आश्रीत नाबालक एक गरी ३१ जनालाई दैलेख कारागार पठाइएको छ ।

    त्यसैगरी कारागारमा रहेका १५ जना थुनुवा र एक नावालक आश्रीत गरी १६ जनालाई बर्दियाको कारागारमा पठाइएको कारागारका जेलर देवेन्द्रमान श्रेष्ठले बताए । २ सय ५० पुरुष र ५० जना महिला गरी ३ सयको कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल दोब्बर बढी ७ सय ७० पुरुष र ४५ महिला र दुई आश्रित नावालक गरी ८ सय १७ जना कैदीबन्दी तथा थुनुवा रहेका थिए ।

    कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी र थुनुवाको चाप रहेको कारण उनीहरुको व्यवस्थापनमा कठिन भएको गुनासो आउने गरेको थियो । सोही समयमा नै कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनसँगको समन्वयमा कारागार प्रशासनले महिला कंैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया कारागारमा सारेको हो ।

    कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङको आधारमा जाँच हुँदा संक्रमितको संख्या बृद्धि हुनसक्ने आंकलन गरी महिला कैदीबन्दीलाई अन्य सारेर सोही स्थानलाई कैदीबन्दीहरुको आईसोलेसन बनाउने तयारी गरिएको छ ।

    केही दिनअघि कारागारमा रहेका केही कैदीबन्दी र थुनुवाहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनीहरुलाई गनापुरमा निर्माणाधिन खुल्ला कारागारमा आइसोलन सेन्टर स्थापनामा गरेर राखिएको छ ।

    प्रतिकृया दिनुहोस्