आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/२८ गते
    ६० पटक
    कोहलपुर ।

    बाँकेमा केहीदिनयता जारी निषेधाज्ञा विस्तारै खुकुलो पार्दै लगिने भएको छ । समुदायस्तरमा नै कोरोना संक्रमण फैलिदैं गएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेको थियो ।

    निषेधाज्ञाको समय मंगलबार रातीबाट सकिने भएपनि शुक्रबार रातीसम्म थप गरिएको छ । निषेधाज्ञा थप गरिएपनि यो समयमा केही खुकुलो पार्ने निर्णय गरिएको हो ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले विस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने निर्णय गरेको थियो । निर्णय अनुसार आजदेखि अत्यावश्यक सेवा र अत्यावश्यक प्रकृतिका पसल व्यवसायहरु सञ्चालन गर्न पाइनेछ ।

    अन्य निर्णयहरुमा बैंक तथा बित्तिय संस्थाहरु आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी बिहिवारदेखि सेवा सञ्चालन गर्ने, शुक्रवारदेखि रेडिमेड फेन्सी तथा कपडा पसल र शनिवारदेखी अन्य सम्पूर्ण पसल सञ्चालन गर्ने रहेका छन् ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले शनिवारदेखि नै जिल्लाभित्र मात्र जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक समेत सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

    आइतवारदेखि भने सबै सार्वजनिक सेवा प्रवाह गर्ने निकायले सेवा सुरु गर्न सक्नेछन् । ‘यी सबै कामहरु सुचारु गर्दा अनिवार्य रुपमा सुरक्षा मापदण्ड भने अपनाउनुपर्छ’ प्रजिअ कुरुम्वाङले भने, ‘यो निषेधाज्ञा खुलेपछि राती ९ बजेदेखि विहान ५ बजेसम्म आवागमन गर्न पाइनेछैन ।’

    नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले प्रशासनले गरेको निर्णय सकारात्मक भएको बताए । ‘प्रशासनले गरेको निर्णयपछि विस्तारै एक सातायता बन्द रहेका उद्योग व्यवसायहरु सञ्चालनमा आउनेछन्’ उनले भने, ‘हामीहरुले सुरक्षाका मापदण्ड भने अनिवार्य रुपमा अपनाउनुपर्छ ।’

    नेपालगञ्जको सिल हटाइयो

    कोरोना भाइरस संक्रमण समुदायमै फैलिएपछि नेपालगञ्जमा लगाइएको सिल हटाइएको छ । गत साउन २४ गते शनिबार राती १२ बजेदेखि तीन दिनका लागि नेपालगञ्ज–कोहलपुर सडकखण्डको पूर्वी क्षेत्रलाई सिल गरिएको थियो ।

    सिल गरिएको अवधि मंगललबार राती १२ बजे सकिएको हो । आज बुधबारदेखि लागू हुनेगरी नेपालगञ्जको सिल हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

    नेपालगन्जमा कोरोना भाइरस बढि देखिएको क्षेत्रलाई पहिचान गरि उक्त क्षेत्र तीन दिनका लागि सिल गरिएको हो ।

    कोरोना भाइरस संक्रमणको अति जोखिम रहेका ती क्षेत्रलाई चारकिल्लामा राखेर सिल गरिएको थियो । सिल गरिएको क्षेत्रमा नेपाली सेना सहित, सशस्त्र प्रहरी र जनपद प्रहरी २४ सै घण्टा सुरक्षाकर्मी खटिएका थिए ।

    प्रतिकृया दिनुहोस्