Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१४ गते
    ५५ पटक
    ओखलढुंगा ।

    १० वर्षका बालकले बलात्कार गरे भनेर सुन्दा अचम्म लाग्छ तर ओखलढुंगामा यस्तै घटना भएको छ । नाबालक पनि बलात्कारमा संलग्न ! जोकोहीलाई पत्याउन गाह्रो हुन्छ । त्यसमा चार वर्षीया बालिकालाई बलात्कार गरेको कुरा ।

    पटकपटक बालिका बलात्कारको विषयलाई लिएर एक हप्तादेखि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा एक जना नाबालक प्रहरी निगरानीमा छन् । उनलाई बलात्कारको आरोपमा गाउँले र पीडित बालिकाको आफन्तले केही दिनअघि प्रहरीको जिम्मा लगाएका थिए । करिब ९–११ वर्षका बालक प्रहरीसँगै बस्छन्, प्रहरीसँगै खान्छन् ।

    उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानका लागि राखिएको आफूसँगै राखिएको प्रहरीको भनाइ छ । उनलाई नाबालक भएकै कारण हिरासतमा नराखी अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्का बताउँछन् । बालकविरुद्ध छिमेकीकै छोरी चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

    गत हप्ता प्रहरीमा परेको उजुरी अनुसार असारको ३१ गते उनले बलात्कार गरेका हुन् । उजुरीकै आधारमा ती नाबालकलाई प्रहरीमा ल्याएपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । बालक र उनको उमेर हेर्दा पत्याउनै नसकिने घटनाले आफैंलाई आँशु आएको प्रहरी प्रमुख खड्काले बताए ।

    यस्तो उमेरको बच्चाले कसरी बलात्कार गर्ला भन्ने प्रश्न आइरहेको भए पनि बलात्कृत भनिएकी बालिकाको बयान र उनीहरुका आफन्तको उजुरीले गर्दा उनलाई प्रहरीकोमा ल्याउनुपरेको खड्काले बताए । प्रहरीसँगको बयानमा बालकले आफूले अन्य मान्छेहरु यौन क्रियाकलापमा संलग्न भएको देखेपछि यस्तो क्रियाकलाप गरेको बताएका छन् ।

    यसबाट अभिभावक वा अरु जोकोहीले बालबालिकाले देख्ने गरी यौन क्रियाकलापमा संलग्न हुँदा बाल मानसिकतामा कस्तो असर पर्ने रहेछ भन्ने विषय सोच्न बाध्य बनाएको डिएसपी खड्काले बताए । बालकलाई सरकारी वकिलकहाँ बयान गराएपछि अभिभावकको जिम्मा लगाएर घर पठाउने तयारी छ ।

    जिल्ला सरकारी वकिल लेखनाथ ढकालले यो घटना अहिले अनुसन्धानकै क्रममा रहेको कारण उनको जन्मदर्ता मगाउने काम गरेको छु । त्यसपछि बयान लिएर के गर्ने भन्ने अहिले भन्न सकिने अवस्था नरहेको बताए । शारीरिक र मानसिक दुवै अवस्थालाई आधार मान्ने हो यस घटनाका अभियुक्तलाई प्रहरीसम्म ल्याउनै नपर्ने केही अधिकारकर्मीले बताए ।

    कानुनी रुपमा ती बालकलाई सरकारी वकिलले बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने अधिवक्ता गुरुबहादुर बस्नेतले बताए । १२ वर्षभन्दा माथिकालाई सुधार गृहमा पठाउनुपर्ने र १० वर्ष मुनिकालाई अपराध नमानिने भएकोले यस बीचका नाबालकलाई बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने उनले बताए ।

    पछिल्लो समय सहमतिमा हुने शारिरिक सम्बन्धमा दरार आएपछि बलात्कारको आरोपमा मुद्दा दर्ता गर्ने चलन बढेको समेत कानुन व्यवसायी बताउँछन् । पहिले सहमतिपछि नमिलेर बलात्कारका उजुरी आउने क्रम बढेको उनीहरुको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्