Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१२ गते
    ६४ पटक
    काठमाडौं ।

    उत्तरी छिमेकी चीनले नेपालसँग जोड्ने भनिएको सिगात्से-केरूङ रेलमार्गको विस्तृत अध्ययन थालेको छ।

    चिनियाँ टेलिभिजन सिजिटिएनका पत्रकार सेन सिवेईले पछिल्लो समय चिनियाँ प्राविधिकहरूले उक्त रेलमार्गको अध्ययन गरिरहेका तस्बिर सार्वजनिक गरेका छन्।

    सिगात्सेदेखि केरूङसम्म पाँच सय किलोमिटर रेलमार्ग बनाउन चीनले यसअघि नै पूर्वसम्भाव्यता अध्ययन गरिसकेको थियो। यसपालि उनीहरूले विस्तृत इन्जिनियरिङ अध्ययन गरेको बताइएको छ।

    चीनले केरूङ सम्मको रेलमार्गको विस्तृत अध्ययन गरिरहेको कुरालाई नेपालमा पनि चासोका साथ हेरिएको छ। किनकी चीनले केरूङसम्म ल्याउने रेल रसुवागढी हुँदै काठमाडौं ल्याउने योजना प्रधानमन्त्री केपी शर्मा ओलीको छ।

    केरूङ-काठमाडौं रेलमार्गका लागि चिनियाँ प्राविधिकको टोलीले प्रारम्भिक अध्ययन पनि गरिसकेको छ।

    पछिल्लो समय सिगात्से-केरूङ रेलमार्गको विस्तृत अध्ययन गरिरहेकोबारे भने चिनियाँ पक्षले नेपाललाई औपचारिक जानकारी गराएको छैन।

    ‘यो औपचारिक जानकारी गराउनु पर्ने कुरा पनि होइन। हामीले पनि सामाजिक सञ्जालतिर देखेर थाहा पाएका हौं,’ रेलवे विभागका महानिर्देशक बलराम मिश्रले सेतोपाटीसँग भने,‘उहाँहरूले आफ्नोतिर अध्ययन गरिरहनु भएको होला तर नेपालतिरको प्रक्रिया भने अहिले रोकिएको छ।’

    गत मंसिरमा नेपाल र चिनियाँ अधिकारीहरूबीच काठमाडौंमा भएको बैठकले साढे २ वर्षभित्र केरूङ-काठमाडौं रेलमार्गको विस्तृत अध्ययन सक्ने समझदारी गरेको थियो।

    ‘केही समयपछि कोरोना भाइरसको महामारी सुरू भएकाले अहिलेसम्म केही प्रक्रिया अघि बढेको छैन,’ महानिर्देशक मिश्रले भने,‘अब अन्तर्राष्ट्रिय उडान सामान्य नहुन्जेल उहाँहरू पनि यहाँ आउने कुरा भएन। नेपालतिरको अध्ययन हुन अझै समय लाग्छ होला।’

    चिनियाँ पक्षले गरेको प्रारम्भिक अध्ययनको रिपोर्टमा ७२.२५ किलोमिटरको केरूङ-काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ लाग्ने र ९ वर्षमा बनाउन सकिने देखिएको छ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङको गत असोजमा भएको नेपाल भ्रमणका क्रममा पनि केरूङ-काठमाडौं रेलमार्गको अध्ययन गर्ने समझदारी भएको थियो।

    उक्त रेलमार्गमा अहिलेसम्म भएको अध्ययनको सबै खर्च चिनियाँ पक्षले व्यहोरेको छ। रेलमार्ग बनाउँदा लगानी कसरी जुटाउने भन्ने विषयमा अहिलेसम्म निर्णय हुन सकेको छैन।

    प्रतिकृया दिनुहोस्