Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/४ गते
    ९८ पटक
    रश्मिला थपलिया

    सधैंझैं अस्पताल गएँ । रुटिन अनुसार काम गरेर साथीहरुसँगै मिली खाजा खान मात्र के बसेकी थिएँ, फिभर क्लिनिकबाट कल आयो, ‘एकजना बिरामी आइसोलेसनको आइसियुमा आउँदै हुनुहुन्छ, बिरामीको अवस्था एकदमै नाजुक छ, सबैजना तयारी अवस्थामा बस्नु ।’

    खाजा खान नै छोडेर हामी हतारहतार आइसोलेसनको आइसियु पुग्यौं । कोरोना महामारीको सुरुवाती दिनदेखि नै स्टार अस्पतालले शंकास्पद बिरामी राख्नका लागि भनेर छुट्टै आइसोलेसन वार्ड, आइसोलेसन आइसियु बनाएको थियो ।

    शंकास्पद बिरामीहरु उपचार गर्न लैजाने र उपचार गराउने ठाउँ छुट्टै थियो । त्यो दिन पनि हामीले अस्पतालका सबै प्रोटोकल फलो गरेर बिरामीलाई आइसोलेसन आइसियुमा भर्ना गर्यौं ।

    बिरामीलाई थुप्रै अस्पताल घुमाएर कतै पनि उपचार गर्न नमानेपछि अन्तिममा स्टार अस्पताल ल्याइएको रहेछ । पिसिआर रिपोर्ट नभएको बहाना देखाएर अस्पतालहरुले उपचार गर्न मानेका रहेनछन् । बुझ्दा बिरामीको अवस्था पनि अन्तिम नै थियो । बिरामीलाई कोरोनाको शंका गरी उचित सावधानीका साथ सबै सुरक्षा प्रयोग गरेर उपचार सुरु गर्यौं । २९ वर्षका बिरामीलाई हामीले सक्ने जति सबै उपचार गर्दै गयौं ।

    त्यतिबेलासम्म स्टारमा पिसिआर मेसिन आइसकेको थियो तर हामीलाई पिसिआर परीक्षण गर्न सरकारले अनुमति भने दिइसकेको थिएन । त्यसले गर्दा बिरामीको कोभिड टेस्टको लागि नमुना निकालेर पाटन अस्पताल पठायौं । मेरो ड्युटी सकिए पनि सबै व्यवस्थापन गर्दागर्दै बेलुकाको ८ बजिसकेको थियो । एक त नर्स त्यसमाथि आइसियु इन्चार्ज भएको नाताले त्यत्तिकै छोडेर जान मलाई जिम्मेवारी र पेसाले दिएन ।

    सबै व्यवस्थापन सकेर घर जान्छु भन्दै गर्दा बिरामीको अवस्था झनै जटिल हुँदै गयो र अन्तिममा बिरामीको मृत्यु नै भयो । बिडम्वना, के कारणले बिरामीको मृत्यु भयो भन्ने थाहा नै पाउन सकिएन । हामीकहाँ पाँच घन्टामा आउने रिपोर्टको लागि दुई दिन कुर्नुपर्ने बाध्यता छ भने अर्कोतिर आफ्नै अस्पतालमा सबै साधन हुँदाहुँदै पनि अरुमा भर पर्नुपर्ने बाध्यता साकारले थपिदिएको छ ।

    बिरामीको मृत्यु भइसकेपछि अब कोरोना पोजेटिभ नै हो भनेर अस्पताल र सरकारले निकालेको प्रोटोकल अनुसार अस्पतालको शव राख्ने ठाउँमा लगेर राखियो । त्यसपछि चाहिँ बल्ल हामीलाई पनि डर लाग्न थाल्यो ।

    विश्व नै आतंकित भइइरहेको अवस्थामा सबै स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीहरु डराउनु स्वभाविक हो । त्यही डर कम गर्न व्यवस्थापन नहुँदासम्म म लगायत अन्य साथीहरू अस्पतालमै बस्यौं र अस्पतालको शव राख्ने ठाउँमा पठाइयो ।

    बिरामी राखिएको ठाउँ सबै निर्मलीकरण गरियो । शव लिएर गएको बाटो समेत सफा गरियो । साधारण बिरामी राख्ने ठाउँ र ल्याउने बाटो छुट्टै भएको कारणले गर्दा अस्पतालको रेगुलर काममा केही कमी भएन । त्यसपछि हामी सबै त्यो दिन अस्पतालमैं बस्यौं । अस्पतालले सुरुदेखि नै आइसोलेसनमा ड्युटी गर्ने स्टाफहरुलाई घर जाँदा जोखिम हुन्छ भनेर रिपोर्ट नआउन्जेल अस्पतालमै खाने, बस्ने व्यवस्था गरेको छ । हामी सबै पिसिआर रिपोर्टको प्रतीक्षामा बस्यौं ।

    साँच्चै भन्नुपर्दा रातभरि निद्रा लागेन, छट्पटी मात्रै भयो । भोलिपल्ट राति करिब १० बजेतिर खबर आयो, बिरामीको रिपोर्ट पोजेटिभ देखियो । हामी सबै पूर्ण सुरक्षामा थियौं तर पनि सबैको मनमा कताकता डरले डेरा जमाएको थियो । अब हामीलाई के हुने हो, कसो हुने हो भन्ने थियो । त्यो खबर सँगसँगै सुरु भयो हाम्रो क्वारेन्टाइन । सरकारी टोली आएर हाम्रो अस्पतालबाट शव लग्यो । भोलिपल्ट मृतकका सबै आफन्तको पिसिआर परीक्षण गर्न पठायौं ।

    मृतकका आफन्तहरुले माथिबाट शव हेरेर चित्त बुझाउनुपर्ने अवस्था आयो । शव लगिसकेपछि अस्पतालको पूर्व तयारीले गर्दा कुनै काममा पनि केही बाधा पुगेन । एकले अर्कोलाई हौसला दिँदै हामी उपचारमा संलग्न भएका सबै जना क्वारेन्टाइनमैं बस्यौं ।

    भोलिपल्ट मृतकका आफन्त सबैको रिपोर्ट नेगेटिभ आयो । त्यसले गर्दा हाम्रो मनोबल अझै बढेर गयो । क्वारेन्टाइनमा बस्दा साँच्चै मानसिक तनाव हुने रहेछ । सोच्दिन भन्दाभन्दै पनि अनेक कुरा मनमा खेल्दो रहेछ ।

    जति नै बलियो छु भने पनि रोगले मान्छेलाई गलाउँदो रहेछ । मैले त्यो अवस्था नजिकबाट नियालेँ । सबै कुराको उचित व्यवस्थापन हुँदा त हामीलाई १४ दिन कटाउन कति गाह्रो भयो भने अव्यवस्थित क्वारेन्टाइनमा बसेकाहरुलाई कति गाह्रो हुन्छ होला ।

    उनीहरु किन भागेका रहेछन्, किन झनै बिरामी हुँदा रहेछन् भन्ने कुराको महसुस मलाई बल्ल भयो । सरकारले क्वारेन्टाइनको उचित मापदण्ड पूरा नगरी एउटै कोठामै धेरै संख्यामा मान्छे राख्ने गरेको छ । त्यसले झनै कोरोना फैलिने अवस्था पक्कै पनि सिर्जना भइरहेको छ ।

    क्वारेन्टाइनलाई अझै व्यवस्थित गर्नु जरुरी देखिन्छ । दिन बित्दै गयो, अस्पतालको व्यवस्थापन टिमले हामीलाई केही कुराको कमी हुन दिएन । समयसमयमा डाक्टरहरु आएर काउन्सिलरको भूमिका पनि निर्बाह गर्नुभयो ।

    अस्पतालको सम्पूर्ण स्टाफले हौसला दिनुहुन्थ्यो । यसरी सबैको माया पाउँदा साँच्चै कोरोना लागे पनि जित्न सकिन्छ भन्ने महसुस गर्न थालियो । समय बित्दै गयो, सातौं दिन पिसिआर पठाउने दिन आयो । त्यतिबेलासम्म सरकारले हाम्रै अस्पताललाई पिसिआर गर्न पाउने मान्यता दिइसकेको थियो ।

    तर पनि आफैंले स्वाब संकलन गर्न नपाउने, सराकारीबाट कलेक्सन भएको स्वाब मात्र परीक्षण गर्न पाउने नियम बनाएको रहेछ, जसले गर्दा हाम्रो अस्पतालमै सबै तयारी हुँदाहुँदै पनि फेरि हाम्रो टेस्ट गर्न बाहिर पठाइयो । त्यहाँ पनि ५–६ घन्टामा हुनेमा २ दिनमा बल्ल रिपोर्ट आयो । टेस्ट गर्न दिएको समयदेखि रिपोर्ट नआउन्जेलसम्मको बीचको समय एकदमै पीडादायी र कष्टकर हुँदोरहेछ ।

    अस्पतालमै रहेको स्वास्थ्यकर्मीलाई त यति मानसिक तनाव हुन्छ भने अरुलाई कस्तो होला, कल्पना पनि गर्न सकिँदैन । यदि हाम्रै अस्पतालमा परीक्षण गर्न दिएको भए सायद हामीले त्यति धेरै लामो समय मानसिक तनाव लिँदै कुर्नुपर्ने थिएन होला । अस्पतालमा आएका शंकास्पद बिरामीको स्वाब पठाउँदा रिपोर्ट आउन ३–४ दिन लाग्दा झेल्नुपर्ने मानसिक तनावको कल्पना पनि गर्न सकिँदैन । बिडम्वना, यस्तो गम्भीर कुरा सरकारले बुझ्न सकेको छैन या बुझ पचाइरहेको छ ।

    सरकारले त्यही रिपोर्टको कारणले बिरामीको उपचारमा कत्तिको असर गर्छ भन्ने बुझ्न जरुरी छ । सेकेण्डसेकेण्डमा बिरामीको अवस्था परिवर्तन हुन्छ । झन् २–३ दिन कुर्नु पर्दा उपचार ढिला हुन गए मान्छेको ज्यान तलमाथि हुन सक्छ । यस्ता कुरालाई गम्भीरतापूर्वक लिनु जरुरी छ । कम्तीमा अनुमति पाइसकेका ल्याबहरुलाई टेस्ट गर्ने अनुमति दिएको खण्डमा भने पक्कै पनि बिरामीले समयमै उचित उपचार पाउने छन् । पिसिआर रिपोर्ट बिना अस्पतालको गेट नखोल्दिने काम पनि बन्द हुने थियो होला ।

    १४ दिनपछि पिसिआरको रिपोर्ट नेगेटिभ आयो, खुसीले बुरुक्क उफ्रिँदै घर आएँ । बाटोभरि सोचें, मेरो परिवारले त केही भन्दैन तर समाजले मलाई राम्रो नजरले हेर्छ त ? अस्पतालमा कोरोनाका बिरामी आएको छ भन्ने सुनेर कति स्टाफलाई घर लगेर छोड्दिनुस् भन्ने कुरा पनि सुन्न आएको हो । म त अझै १४ दिन क्वारेन्टाइनमा बसेर आएको एक मान्छे ।

    तर घर फर्किँदा मैले केही फरक पाइनँ । कोरोनाको सुरुवाती दिनहरुमा केही फरक अनुभव भएको महसुस गरे ता पनि अहिले मलाई समाज र परिवारका सदस्यले गरेको व्यवहारले झन् थप हौसला बढेको छ ।

    कुनै रोग लाग्नासाथ परीवार तथा आफन्त र समाजका केही व्यक्तिहरुले असामान्य व्यवहार गर्दै आएका छन् । हालै मात्र क्वारेन्टाइनबाट फर्केको व्यक्तिलाई गाउँलेले गाउँमै छिर्न दिएनन् भन्ने खबर सुनेको थिएँ । १४ दिन क्वारेन्टाइनमा बस्दा मानसिक पीडा सहेर बसेकाहरुलाई आफ्नै घररकोठा छिर्न नपाउँदा झन् कति पीडा होला ।

    यो कुरा हामी सबैले बुझ्नु जरुरी छ । सके हौसला दिउँ, साथ दिउँ, नसके कम्तीमा उनीहरुलाई निरुत्साहित हुने काम र कुरा नगरौं । १४ दिनको क्वारेन्टाइन र २ दिन घर बसाइपछि आज म पुनस् काममा फर्किएको छु ।

    नयाँ जोस, जाँगर र हिम्मतका साथ काम गर्ने अठोट अझै ताजा भएर आएको छ । म लगायत मेरा साथीहरुलाई झन् काम गर्ने नयाँ ऊर्जा थपिएको छ, यो ऊर्जालाई निरन्तर बिरामीको सेवामा खर्चिन तयार छु । एउटा बिरामी बचाउन नसके पनि अर्को आउने बिरामीलाई बचाउन सकुँ भन्ने हामी सबैलाई लागेको छ । अब कसरी काम गर्दा आफू सुरक्षित भइन्छ र बिरामीको पनि उपचार गर्न सकिन्छ भन्ने नयाँनयाँ सोच आएको छ । त्यही नयाँ सोच, ऊर्जा र हिम्मतलाई काँधमा राखेर फेरि लागिपर्नेछौं ।

    यो १४ दिनको क्वारेन्टाइन बसाइमा मैले सिकेको सबैभन्दा ठूलो र असल कुरा भनेकै जिन्दगीमा जति सुकै आपतविपत आउन् तर हिम्मत कहिल्यै हार्नुहुन्न भन्ने हो । सेल्फ मोटिभेट हुनु एकदम जरुरी छ । रोग लाग्न सक्छ तर हिम्मत हार्नु कदापि हुँदैन । त्यसैले यो अमूल्य जीवन कसैको कारणले गर्दा व्यर्थमा खेर नफालौं । जीवन निकै सुन्दर छ ।

    आफू पनि बाँचौ र अरुलाइ बचाऔं । अन्त्यमा, आफू र परिवारलाई जोखिममा राखेर मजस्तै कोरोनाको लडाइँमा अग्रपंक्तिमा खटिनु हुने सम्पूर्णलाई हार्दिक नमन ।

    (थपलिया स्टार अस्पतालकी आइसियु र पोस्ट अपरेटिभ वार्ड इन्चार्ज हुन् ।)

    प्रतिकृया दिनुहोस्