Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१ गते
    ८५ पटक
    कोहलपुर ।

    भारत लगायत अन्य मुलुकबाट आउनेलाई सेवा दिने उदेश्यले कोहलपुरमा स्थापना गरिएको होल्डिङ्ग एरियालाई बाँके युनेस्को क्लबले आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    प्लान इन्टरनेशनलको सहयोगमा सो सामाग्री बुधवार हस्तान्तरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।

    कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरीएको लकडाउनको बेलामा भारत लगायत तेस्रो मुलुकबाट आउने नेपालीलाई लक्षित गरी कोहलपुर चौराहमा स्थापना गरिएको होल्डिङ्ग एरियालाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

    कोहलपुर चौराहामा स्थापना गरिएको होल्डिङ्ग एरियामा बुधवार अपरान्ह आयोजना गरिएको एक औपचारिक कार्यक्रमका विच कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्णबहादुर थापालाई प्लान ईन्टरनेशनल नेपालका नेपालगञ्ज एरिया म्यानेजर मिना पराजुली, बाँके युनेस्को क्लवका सरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष राजेन्द्र चौधरी लगायतले सो सामाग्री हस्तान्तरण गर्नु भयो ।

    वडा अध्यक्ष थापालाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा ४५ वटा खानेपानीको जार, ५ वटा झुल, ५ वटा बेड कभर, १० प्याकेट सर्जिकल मास्क, २० प्याकेट सेनेटरी प्याड, ५०० मिलिलिटरको ५ बोतल सेनिटाइजर, एउटा हात धुने स्टेशन र एउटा होर्डिंग बोर्ड रहेका छन् ।

    सामाग्री बुझ्दै वडा अध्यक्ष थापाले बाँके युनेस्को क्लबले यस अघि पनि विभिन्न दातृ निकायको सहयोगमा बाँकेमा थुप्रै स्वास्थ्य सामाग्री दिएकोले संस्थाप्रति आभार व्यक्त गर्दैहोल्डिङ्ग एरियालाई सामाग्री दिएकोमा धन्यवाद दिनुभयो ।

    सो अवसरमा बाँके युनेस्को क्लवका संरक्षक प्रवेज अलि सिद्दिकी र प्लान ईन्टरनेशनल नेपालका नेपालगञ्ज एरिया म्यानेजर मिना पराजुलीले कोभिड १९ को महामारी विरुद्धको संघर्षमा सरकारलाई सहयोग गर्ने मानवीय उदेश्यका साथ स्वास्थ्य सामाग्री दिंदै आएको बताउनु भयो ।

    गत असार ४ गतेदेखि सञ्चालनमा आएको सो होल्डिङ्ग एरियामा पूर्वपश्चिम राजमार्ग हुँदै मलेशिया, कतार, साउदी लगायतका तेस्रो मुलुक र भारतबाट आएका समेत गरेर १ हजार बढीले सेवा लिएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र होल्डिङ्ग एरियाका सुरक्षाकर्मीको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्