Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/२२ गते
    ३५६ पटक
    नरैनापुर

    ‘०५३/५४ सालतिर राप्रपाबाट निर्वाचित सांसद प्रेमबहादुर भण्डारीले पोल गाडेर नरैनापुरमा बिजुली बत्ति बाल्ने सपना देखाए। पोल मात्र हेरेर बस्यौं। बत्ति आएन’, नरैनापुर ५ मोतिपुरका रियाज अहमद मुकेरी भन्छन्, ‘भण्डारीपछि निर्वाचित ज्ञानु केसी, मो.इस्तियाक राई, दिनेशचन्द्र यादवुसहित तीन जना सांसदले बिजुली ल्याउने चुनावी नारा मात्र बनाए। बिजुली आएन।’

    मंगलबार दिउँसो मोतिपुर गाउँको ट्रान्सर्फमरको स्वीच अन गरेर विद्युत् सेवा शुभारम्भ गर्न गएकी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनासँग मुकेरीसहितका स्थानीय खुसीले गद्गद् देखिए।

    ‘हामीलाई त बिजुली आउँछ भन्ने विश्वास नै थिएन’, बत्ति बलेको देखेपछि मोहम्मद हफिक खाँ भन्दै थिए, ‘दिदीको त नाम पनि नमूना, काम पनि नमूनै गरिदिनुभयो।’ विद्युत् प्राधिकरणले मोतिपुर गाउँका दुई सय घरमा तत्काल विद्युत् सेवा दिनसक्ने जनाएको छ। स्थानीयले तरकारी खेती गर्ने बताए।

    नेपालगन्ज–नरैनापुर हुलाकी सडकको किनारमा अहिले पनि सांसद भण्डारीले गाडेका ८ मिटरका होचा पोल ठाउँ ठाउँमा देख्न सकिन्छ। ११ मिटरको मुख्य लाइनको मुनी गाडिएका प्रयोगविहीन पोललाई स्थानीयले चुनावी पोलको संज्ञा दिएका छन्।

    पोल गाडेको झन्डै साढे दुई दशकपछि पुगेको विद्युत् सेवा नरैनापुर १ कट्कुइँयास्थित हुलाकी सडक किनार र सशस्त्र प्रहरी बलको बीओपी, नरैनापुर ३ को लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विस्तार भएको छ। नरैनापुर ५ को मोतिपुर गाउँ सहित चार ठाउँमा सांसद नमुनाले ट्रान्सर्फमरको स्वीच अन गरेर विद्युतीकरणको औपचारिक उद्घाटन गरिन्।

    विद्युत् सेवा शुभारम्भ गर्दा खुसीसहित भावुक बनेकी सांसद उनले नरैनापुरमा पोल गाडेर बिजुली ल्याउने चुनावी नारा अब सदाका लागि अन्त्य भएको बताइन्।

    लकडाउनलाई विद्युत सेवा विस्तारका लागि अवसरको रुपमा नलिएको भए नरैनापुरवासीले विद्युत सेवा पाउन अझै दुई वर्ष कुर्नुपर्ने अवस्था रहेको उनले बताइन्। नमूनाले भनिन्, ‘हुलाकी राजमार्ग र विजुली पुगेपछि अब नरैनापुर दुर्गम रहेन। यस क्षेत्रमा कृषिमा आधारित कलकारखाना खोलेर दुर्गम नरैनापुरलाई समृद्ध बनाइनेछ।’

    नरैनापुरवासीलाई अन्धकारबाट जोगाउन विद्युत् प्राधिकरणका तत्कालीन क्षेत्रीय प्रमुख मनोज सिंहले ठेक्का तोडेर विद्युत् सेवाका लागि ब्रेक थ्रु गरेको र वर्तमान क्षेत्रीय प्रमुख मुनिन्द्र ठाकुरले लकडाउनमै नरैनापुरमा विद्युत् विस्तार गर्ने आँट गरेकोमा सांसद नमूनाले धन्यवाद दिइन्।

    जिल्लाका ८ स्थानीय तहमध्ये विद्युत्बाट बञ्चित एक मात्र स्थानीय तह नरैनापुरको वडा नं. १ देखि ६ सम्म सेवा पुगेको छ। हुलाकी राजमार्गको दुबै किनारका बस्तीमा तत्काल विद्युत् पहुँच भएको छ। प्राधिकरणका क्षेत्रीय प्रमुख ठाकुर भन्छन्, ‘हुलाकी राजमार्गको दुबै किनारका दुई हजार घरमा तत्काल विद्युत् पुगेको छ। सशस्त्र प्रहरी, लक्षमणपुर प्राथमिक स्वास्थ्य केन्द्र, नरैनापुर गाउँपालिकालगायतका ठाउँमा बिजुली बाल्न सुरु भइसकेको छ। स्थानीयले मिटर जडान गरेर बत्ति बाल्न सक्छन्।’

    प्राधिकरणले विपन्न परिवारलाई निःशुल्क मिटर जडान गरिदिने र उनीहरुले १० युनिट भन्दा कम विद्युत खपत गरे शुल्क पनि तिर्न नपर्ने जनाएको छ। नरैनापुरमा मुख्य लाइनमा विद्युत् पुगे पनि अन्य गाउँमा भने असोज महिनासम्ममा बिजुली पुग्ने विद्युत प्राधिकरणले जनाएको छ। विद्युत् विस्तारको ठेक्का कार्तिकसम्म छ। ठेकेदार त्रिलोक धितालले सम्झौता अघि नै सबै काम सम्पन्न हुने बताए।

    नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साह विद्युत् सेवा पुग्नु आफ्नो र नरैनापुरवासीका लागि ठूलो खुसीको कुरा भएको बताउँछन्। वर्षौदेखिको नरैनापुरबासीको बिजुली बाल्ने सपना पूरा भएपछि अब सिँचाइसँगै उद्योगधन्दाको विकास गर्न बाटो खुलेको उनको भनाइ छ।

    विद्युत विस्तारको काम सुरु हुँदै गर्दा स्थानीयले घरमा वायरिङ गरिसकेका छन्। नरैनापुर ५ मटेहियाका रामचन्द्र मौर्यले भने, ‘तीन चार महिना अघि नै हामीले घरमा वायरिङ गरिसकेका थियौं। अहिले त बत्ति नै बलिसक्यो।’

    साभारः www.annapurnapost.com

    प्रतिकृया दिनुहोस्