Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१५ गते
    १४३ पटक
    काठमाडौं

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित सुस्मिता क्षेत्री थापाको हत्याको कारण आर्थिक पक्ष रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

    सुस्मिताका श्रीमान् रुपेन्द्र थापाको गत वर्षको असोज २३ गते मोटरसाइकल दुर्घटनामा नवलपरासीको दाउन्नेमा मुत्यु भएको थियो। सो बापतको क्षतिपूर्ति र बिमासहितका रकम श्रीमती सुस्मिताले लिएपछि उनको हत्या भएको पाइएको मकवानपुर प्रहरीले जानकारी गराएको हो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशील सिंह राठौरले हत्याको कारण मध्येको एक पक्ष चाँहि रूपन्द्रको मुत्युपछि आउने क्षतिपूर्ति र बिमासहितको रकमसमेत रहेको जनाए।

    क्षतिपूर्तिबापतको ५ लाख रुपैयाँ सुस्मिताले लिएकी थिइन्। तर रुपेन्द्रका बुबाआमासहित आफन्तले भने उक्त पैसा आफूहरूसमेत पाउनुपर्ने भन्दै विवाद गरेका थिए।

    त्यस्तै रुपेन्द्रले काम गर्ने क्लोज सिस्टम इन्टरनेसनल नेपाल प्रालि (सिएसआई) हेटौंडाबाट मृत्युपश्चात् पाउने बीमा, बोनस, तलबभत्ताबापत एकमुष्ठ ३८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ भुक्तानी लिने विषयमा श्रीमती सुस्मिता र ससुरा प्रकाश, सासू तुलसाबीच विवाद भएको थियो। सोही रकमका विषयमा विवाद हुँदा उक्त रकम अहिलेसम्म पनि भुक्तानी भएको छैन। जसकारण रुपेन्द्रको परिवार मिलेर हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

    सामाजिक सुरक्षा कोषबाट २०७६ कात्तिक देखि २०७७ बैसाख महिनासम्मको १७ हजार १ सयको दरले १ लाख ७७ हजार ९ सय ४८ रुपैयाँ सुस्मिताको ग्लोबल आइएमई बैंकको खातामा पेमेन्ट भएको थियो। यो विषयमा पनि उनीहरुबीच विवाद भएको थियो।

    नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट रुपेन्द्रको १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ इच्छ्याएको व्यक्ति रुपेन्द्रका बाबुले लिइसकेको पाइएको अनुसन्धानले देखाएको छ।

    मृतक सुस्मिताले पाउने सबै रकम निकाले घरपरिवारमा पनि दिनुपर्छ भनेर दबाब दिएपछि सोही विषयमा विवाद हुँदा उनको हत्या भएको देखिएको एसपी राठौरले जानकारी दिए।

    रुपेन्द्रको ससुरालीबाट घर फर्कने क्रममा दुर्घटनामा मृत्यु भएपछि सुस्मितालाई रुपेन्द्रको परिवारले ससुराली पक्षलाई दोष लगाउने गरेका थिए। बुहारीकै कारण छोराको ज्यान गएको भन्दै मानसिक यातना दिइएको समेत पाइएको प्रहरीले जनाएको छ।

    सुस्मिताको हत्या गर्नुको अर्को कारण भने ससुरा प्रकाश थापाबाट बाथरुममा जबरजस्ती करणी उद्योग गरेको पाइएको प्रहरीले जनाएको छ। उक्त कुराको पोल खुल्ने डरले हत्या भएको पनि हुनसक्ने देखिएको प्रहरीको भनाइ छ।

    प्रतिकृया दिनुहोस्