Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१५ गते
    ४३ पटक
    काठमाडौं।

    व्रत (उपवास) नेपाली समुदायमा नौलो होइन। विभिन्‍न देवी देवताको उपासना गरेर हप्ताको निश्‍चित बार व्रत बस्‍ने चलन छ नेपाली समुदायमा।

    पछिल्लो समय भने उपवासको क्रम चले पनि उद्देश्य फरक छ। धार्मिक आस्थाका कारण भन्दा पनि मानिसहरू स्वास्थ्यका लागि व्रत बस्‍न थालेका छन्। मोटोपन घटाउन होस् वा अन्य स्वास्थ्य समस्यासँग जुध्‍न, यस्तो उपवास उपयोगी बन्‍ने गरेको छ।

    त्यसैले त नेपालमा अहिले ‘इन्टरमिटेन्ट फास्टिङ’ लोकप्रिय हुँदैछ। खासगरी तौल घटाउने उपायको रूपमा यसको लोकप्रियता बढिरहेछ।

    यसको अभ्यास गर्नेमध्ये एक हुन्, लक्ष्‍मी ग्रुपका प्रबन्ध निर्देशक निरञ्‍जन श्रेष्‍ठ। उनले नियमित रूपमा १६ घण्टाको ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्छन्। ४५ वर्षीय श्रेष्‍ठले फास्टिङ गर्न थालेको ६ महीना जति भयो।

    यो ६ महीनाको अवधिमा उनले आफ्नो ८ केजी तौल घटाएका छन्। त्यस्तै ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्न थालेपछि उनले आफ्नो आत्मबल बढेको महशुस गरेका छन्।

    “पहिले मलाई एकाग्र नहुने समस्या भइरहेको थियो,” निरञ्‍जन भन्छन्, “अहिले मेरो एकाग्रता बढेको छ। कुनै पनि कुरामा ध्यान दिन सक्ने भएको छु।”

    श्रेष्‍ठ ‘इन्टरमिटेन्ट फास्टिङ’बारे पढेर थाहा पाएको बताउँछन्। उनले जापानी कोष वैज्ञानिक योशिनोरी ओहसुमीको लेखहरू पढेका रहेछन्। सन् १९४५ मा जन्मिएका ती वैज्ञानिकले सन् २०१६ मा ‘फिजियोलोजी तथा मेडिसिन’तर्फ नोबल पुरस्कार पनि पाएका थिए।

    उनले व्रत बस्दा शरीरका कोषहरू भोकाउने र भोकाएका कोषले शरीरमा भएका हानिकारक कोषलाई नष्‍ट गर्छ भन्‍ने पत्ता लगाएका थिए। व्रत बस्दा कोषहरूमा ऊर्जा, आपूर्ति र पोषणको अभाव हुन्छ।

    त्यसपछि उनीहरूले आफ्नो अनावश्यक पोषक तत्व र उर्जा कम गरेर जीवन धान्छन्। उनीहरूले कोशिकाहरूमा भएको हानिकारक एवं विषाक्त प्रोटिनहरू खपत गरेर उर्जाको रूपमा बदलिदिन्छ। ओहसुमीले यही तथ्य पत्ता लगाएका थिए।

    ‘इन्टरमिटेन्ट फास्टिङ’ गरेपछि शरीरलाई विकारमुक्त बनाउनुका साथै तौल घटाउने र मधुमेह, मुटुरोग, डिमेन्सिया लगायत विभिन्‍न रोगबाट बचाउने उनको अनुसन्धानले देखाएको थियो।

    जापानी बैज्ञानिक योशिनोरी ओहसुमीको यही खोज पढेर निरञ्‍जन पनि यसतर्फ आकर्षित भएका हुन्। उनी व्रत बस्दा अन्य तागतिलो खानेकुरा खाँदैनन्। सामान्य दिनहुँ खाने खानेकुरा नै खान्छन्। “नियमित १६ घण्टाको फरकमा खान थालेको ६ महीना भयो, यसले नकारात्मक असर गरेको छैन,” उनले भने, “अब यो अवधि बढाएर २४ घण्टा गर्ने सोचमा छु।”

    नयाँ पत्रिकाका विजनेश क्रिएटिभ सम्पादक सुजित महत पनि एक वर्षदेखि ‘इन्टरमिटेन्ट फास्टिङ’ गरिरहेका छन्। उनी हप्ताको एकपटक व्रत बस्छन्। जसले गर्दा शरीरको तौल घटाउन मद्दत मिलेको उनले बताए।

    “मैले नियमित ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्न थालेपछि साथीहरूले तिम्रो शरीर घटेको छ भन्‍ने प्रतिक्रिया दिएका थिए,” उनी भन्छन्, “मैले ३६ घण्टासम्म पनि यो व्रत बसेको छु। गर्दै जाँदा सकिँदो रहेछ।”

    सुजितले पनि लेखहरू पढेकै आधारमा ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्न थालेका थिए। निरञ्‍जन र सुजितले कुनै डाक्टरसँग भने यसबारे परामर्श लिएका छैनन्। तर नेपालमा केही संस्थाहरूले डाइट प्लान नै बनाएर मानिसहरूलाई दिने र उनीहरूको तौल घटाउन मद्दत गर्ने गरेका छन्। यसैमध्येको हो, न्युट्रिफिट नेपाल। यहाँ तौल घटाउन चाहने मानिसहरूले सम्पर्क गरेर परामर्श लिने गर्न सक्छन्।

    साथै यहाँ उनीहरूलाई डाइट प्लान दिइने गरिन्छ। जसलाई नियमित पछ्याएर तौल घटाउन सकिने डाइटिसियन प्रियंका सैंजुले बताइन्। बीएन्डबी अस्पतालमा क्लिनिकल डाइटिसियनको रूपमा काम गर्ने उनी न्युट्रिफिट नेपालमा पनि काम गर्दै आएकी छन्। उनी इच्छुक मानिसलाई तौल घटाउन मद्दत गर्छिन्।

    यही न्युट्रिफिट नेपालसँग जोडिएर एक २३ वर्षीय युवकले आफ्नो तौल घटाएका छन्। ८८ केजी भएका ती युवकले ४ महीना डाइट प्लान पछ्याए र साथै ४५ मिनेट सामान्य रूपमा हिँडे। जसको कारण उनले ४ महीनामा २३ केजी घटाएको प्रियंकाले बताइन्।

    छोटो समयका लागि व्रत बस्दा कम क्यालोरी खाइन्छ। जसले शरीरको तौल नियन्त्रणसँग सम्बन्धित केही हर्माेनको सुधार गर्न मद्दत गर्छ। मोटाउनु भनेको शरीरमा ‘क्यालोरी’ बढी मात्रामा जम्मा हुनु हो। केही नखाएपछि शरीरले यही संग्रहित क्यालोरीबाट आफूलाई चाहिने तत्व प्राप्त गर्दछ। व्रत बस्दा ‘मेटाबोलिज्म’मा पनि परिवर्तन आउँछ।

    इन्सुलिन घट्दा मोटोपन घटाउन सजिलो बनाउँछ। व्रतका बेलामा ‘ग्रोथ हर्मोन’हरू पाँच गुणासम्म बढ्न सक्छन्। यस्ता हर्मोनले बोसो घटाउन सहयोग पुर्याउँछन्।

    यो व्रत बस्दा शुरूमा हप्तामा २५० ग्राम तौल घटाउन सकिन्छ भने यो क्रम निरन्तर चलाइयो भने प्रतिहप्ता ७५० ग्राम तौल घटाउन सकिन्छ। यो व्रत बस्दा कम्मरको बोसो हप्तामा चारदेखि सात प्रतिशतसम्म घटाएको देखिएको प्रियंकाले बताइन्।

    पोषणविद् डा. अरुणा उप्रेतीका अनुसार नेपालमा परम्परागत रूपमा धार्मिक महत्वका हिसाबले मानिसहरू हप्ताको एक दिन वा महीनाको एक दिन व्रत बस्दै आएका छन्। त्यसैले इन्टरमिटेन्ट फास्टिङ नेपालमा नयाँ होइन।

    “पहिले तौल घटाउन व्रत बस्दैनथे, आध्यात्मिक रूपमा बस्थे,” उनी भन्छिन्, “अहिलेको जस्तो पहिलेका मानिसहरू नराम्रा खानेकुराहरू खाँदैनथे। त्यसैले मोटोपन घटाउन आवश्यक पनि थिएन। तर अहिले विभिन्‍न खानासँगै विभिन्‍न समस्या देखिएपछि फेरि व्रत बस्‍न थालिएको छ।”

    मध्यम र धनी वर्गले नेपालमा इन्टरमिटेन्ट फास्टिङ गरेको अरुणा बताउँछिन्। गरीब वर्गले यसै पनि खाना कम खाने र शारीरिक अभ्यास धेरै गर्ने भएकाले उनीहरूले यो व्रत नअपनाउने उनको तर्क छ।

    अरुणाका अनुसार यो व्रत बस्‍नु अघि वा पछि कुनै पनि पोषणयुक्त खानेकुरा खाने भन्‍ने योजना बनाउन पर्दैन। उनी भन्छिन्, “हामीले खाने सामान्य दाल, भात तरकारी खाएर पनि यो व्रत बस्‍न सकिन्छ।”

    इन्टरमिटेन्ट फास्टिङमा बढी प्रयोगमा आएका तीन विधिहरू यस्ता छन् :

    १६-८ विधिः

    यो विधि अपनाउँदा दिनको दुईपटक खाना खानुपर्छ। यसमा कति समयको अन्तरमा खाने भन्‍ने नियम हुन्छ। जस्तो, दिउँसोको १२ बजे र रातको आठ बजे खाने। दोस्रो दिन पनि यही तालिका पछ्याउने। यसो गर्दा ८ घण्टा खाना र १६ घण्टा व्रत हुन पुग्छ।

    इट स्टप इट विधिः

    यो विधि अपनाउँदा प्रत्येक साताको एक वा दुई दिन २४ घण्टाको व्रत बसिन्छ। उदाहरणका लागि आज राति खाना खाएपछि सीधै भोलि राति मात्र खाने।

    ५-२ विधिः 

    यो विधि अपनाउँदा हप्ताको दुई दिन ५००-६०० क्यालोरी मात्र खाने र बाँकी पाँच दिन सामान्य रूपमा खाना खान सकिन्छ।

    उपवास नबसेका बेला पनि कम खाना खाँदा क्यालोरीको मात्रा कम भई शरीरको तौल र पेटको ‘फ्याट’ घट्न जान्छ। व्रतको यो विधिमा खाना नखाए पनि पानी भने प्रशस्तै खानुपर्छ।

    प्रतिकृया दिनुहोस्