Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२१ गते
    २४५ पटक
    कोहलपुर ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी बर्दियाले फेसबुकमा सह–संयोजक रेशम अधिकारीको नाम जोडेर गरिएको प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    जिल्ला सह–संयोजकको नाम जोडेर गत जेष्ठ १५ गते सामाजिक सञ्जाल फेसबुकमा मिसन रोकाया क्षेत्रीले जर्नादन शर्मा ‘प्रभाकर’को आडमा धाक–धम्कि देखाएर चन्दा संकलन गरिरहेको आरोप लगाएका थिए ।

    तथ्यहिन कुरा बाहिर आएको भन्दै मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियूले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ‘प्रभाकरको आडमा चन्दा संकलन गरेको भन्ने यस्ता गतिविधि साँच्चिकै सत्य हुन भने प्रमाणसहित कानुनी बाटो अबलम्बन गर्न मिसन रोकाया क्षेत्रीलाई अनुरोध गर्दछु’ जिल्ला संयोजक महेन्द्र पंगेनीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

    अन्यथा जिल्ला कमिटिका सह– संयोजक अधिकारीको व्यक्तिगत चरित्र हत्या गर्ने र संगठनको बदनाम गर्ने कार्य अनेरास्ववियू बर्दियालाई सह्य नहुने समेत उल्लेख गरिएको छ । अनेरास्ववियू बर्दियाले यस विषयमा सत्यतथ्य छानविन गरि आवश्यक कानुनी प्रक्रिया बढाउन समेत प्रशासन समक्ष माग गरेको छ ।

    सह–संयोजक अधिकारीले समेत सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने गरी आएको विषयमा कानुन उपचार खोज्ने बताएका छन् ।

    ‘हुँदै नभएको कुरालाई कसैले उचालेर सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गर्ने कुरा राखिएको छ’ उनले भने, ‘त्यसको कानुन उपचारको लागि प्रहरीमा उजुरी समेत दिइसकेको छु । सामाजिक सञ्जालमा हाल्ने र हाल्न नलाउने पक्कै पनि कानुन दायरामा आउलान् ।’

    प्रतिकृया दिनुहोस्