Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२० गते
    ७८ पटक
    मुम्बई ।

    भारतीय फिल्म बाहुबलीका अभिनेता तथा दक्षिण भारतीय सुपर स्टार राणा दाग्गुबाती विवाहको तयारीमा छन् ।

    आफ्नो केही वर्ष लामो प्रेमलाई सार्थक तुल्याउँदै उनले दुई महिनापछि विवाह गर्दै छन् । सो विवाहको तयारीमा आफू र परिवारका सदस्यहरू जुटेको अभिनेता राणाले बताएका छन् ।

    अभिनेता राणाले मिहिका बजाजसँग विवाह गर्दै छन् । उनीहरूबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको बताइएको छ । यी दुईको प्रेमबारे मिडियामा बेलाबेलामा समाचार आए पनि उनीहरूले त्यसलाई बेवस्ता गर्दै आएका थिए । तर, परिवारले उनीहरूलाई विवाह गर्न सुझाव दिएपछि आगामी ८ अगस्टमा विवाह गर्दै छन् ।

    आफूहरूले विवाहको साइत तोकिसकेकाले त्यो मितिसम्म लकडाउन खुकुलो हुने विश्वास यी अभिनेताको छ । दक्षिण भारतीय सुपर स्टारका रूपमा परिचित राणाले कैयौं सुपरहिट फिल्म साउथमा दिएका छन् ।

    बाहुबलीमा भल्लालदेव जस्तो नकरात्मक पात्रका रूपमा प्रस्तुत भए पनि उनी दक्षिण भारतीय फिल्ममा उम्दा नायक हुन् ।

    अभिनेता राणा र मिहिकाले गतसाता २१ मे मा दुवै परिवारको उपस्थितिमा इंगेजमेन्ट गरेका हुन् । सो इंगेजमेन्टपछि आफूहरू विवाहको तयारीमा जुटेको अभिनेता राणाले बताएका छन् ।

    राणाकी हुनेवाला श्रीमती मिहिका फिल्म क्षेत्रकी हैनन् । उनी इन्जियिनर तथा इन्टेरियर डिजाइनर हुन् । उनको आफ्नै व्यवसाय छ । तर, पनि आफूलाई फिल्म मन पर्ने र अभिनेता राणालाई पतिको रूपमा पाउँदा साह्रै खुसी लागेको उनले बताएकी छन् ।

    प्रतिकृया दिनुहोस्