Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/१७ गते
    ६० पटक
    नेपालगञ्ज ।

    संघिय सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटका बारेमा बाँके नेपालगञ्जका उद्योगी, व्यवसायी र अर्थशास्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

    नेपालगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार बजेटका विषयमा भर्चुअल छलफलमा आयोजना गरेको थियो । छलफलमा सहभागिले बजेटमा स्वास्थ्य, कृषि, पर्यटन र साना तथा मझौला उद्योगका लागि राहात महसुस गर्ने कार्यक्रम ल्याएको बताएका थिए ।

    तर ठूला उद्योग, रोजगारी सिर्जना गर्ने र ‘टे«डिङ बिजनेश’ लाई उकास्ने विषयमा बजेटले बिशेष योजना ल्याउन नसकेको उनीहरुले औल्याए । उनीहरुले प्रदेश राजधानी केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिदा बाँकेले उल्लेखिय केही नपाएको पनि बताएका छन् । ‘यो बजेटले कोरोनाका कारण ध्वस्त भएको अर्थतन्त्रलाई पुर्नजिवन दिने सम्भावना म देख्दिन ।’

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यले भने, ‘मैले अपेक्षा गरे अनुसारको बजेट आएन ।’ उनले बजेटमा साना तथा मझौला उद्योग, कृषी र स्वास्थ्यलाई भने प्राथमिकतामा राखिएको बताए । पूर्व केन्द्रीय सदस्य आचार्यले पुरानै आयोजनाको निरन्तरता बाहेक बाँकेलाई यसपटकको बजेटले उल्लेखिय कुनै योजना समेट्न नसकेको बताएका थिए ।

    महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाईले कोरोनाका कारण प्रभावित ठूला औद्योगिक क्षेत्रलाई बजेटले सम्बोधन नगरेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा हेल्थ सेक्टरलाई प्राथमिकतामा राख्ने कुरा नयाँ होइन । यो जरुरी नै थियो ।

    तर अर्थतन्त्रका लागि उपलब्धीमुलक हुने देखिएन ।’ प्रसाईले हरेक योजना प्रदेश राजधानी केन्द्रीत राखिएकाले नेपालगञ्ज जस्ता शहर पछि परेको बताए । महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेका लागि पुरानै योजना समेटिएको बताउँदै नयाँ कुरा केही नआएको बताए । श्रेष्ठले भने, ‘सुख्खा बन्दरगाह, सिक्टा जस्ता योजनालाई निरन्तरता दिने भनिएको छ ।

    यो नयाँ होइन पुरानै हो ।’ नेपालगञ्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्यले विषम परिस्थितीमा आएको बजेटलाई सन्तोषजनक नै मान्न सकिए पनि निजी क्षेत्रका लागि भने अपेक्षाकृत नभएको दाबी गरे ।

    संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बाँकेका लागि नयाँ योजना आउने अपेक्षा गरेपनि त्यसो नभएकाले निरास बनाएको बताए । मन्सुरीले भने, ‘हामीलाई पहिले जस्तै अहिले पनि ठगिएको महसुस गरिएको छ ।’

    छलफलमा बोल्दै अर्थशास्त्री कमानसिंह बोहरा, भुवनेश्वर लामिछाने, कोषराज रेग्मी, लेखापरीक्षक करिम खान, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले बजेट परम्परागत शैलीमा आएको र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न खासै प्रभावकारी योजना आउन नसकेको बताएका थिए ।

    छलफलमा संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, महासचिव चिरञ्जीवी ओली, पूर्व उपाध्यक्ष दुर्गा भण्डारी, कोषाध्यक्ष हरिलाल न्यौपाने, कार्यसमिति सदस्य भिम रानाभाट, टंकप्रसाद शर्मा, भिमलाल कँडेल लगायतले बोलेका थिए ।

    प्रतिकृया दिनुहोस्