Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/२७ गते
    २२३ पटक

    लामो समयदेखि के विश्वास गरिँदै आइएको थियो भने, चराले गन्ध थाहा पाउँदैन, त्यसले देखेको भरमा मात्र आफ्नो शिकार पत्ता लगाउँछ । तर पछिल्लो चरणमा वैज्ञानिकहरुले पत्ता लगाएका छन्, चराले गन्ध थाहा पाउँदैन भन्ने कुरा पूर्ण सत्य होइन ।

    पहिले पहिले विश्वास गरिँदै आएजस्तो अधिकांश चराहरुले गन्ध थाहा नपाउने, फगत देखेको भरमा मात्र शिकार पत्ता लगाउने कुरा साँचो हो तर चराका केही प्रजातिहरुले गन्धलाई राम्ररी ठम्याउन सक्छ र त्यसको आधारमा उसले आफ्नो शिकार पनि पहिल्याउँछ ।

    टर्की गिद्ध

    उदाहरणको लागि, टर्की गिद्ध (Turkey Vulture, जसको वैज्ञानिक नाम Cathartes aura हो) ले देखेर मात्र हैन, गन्धको आधारमा पनि आफ्नो शिकार थाहा पाउन सक्छ ।

    विशेष गरी अमेरिकी महाद्वीपमा पाइने यस गिद्धले आफ्नो आँखाले पहिल्याउन नसक्ने अवस्थामा रुख पात वा अन्य त्यस्तै वस्तुहरुले ढाकिएको सिनोलाई पनि गन्धको आधारमा पत्ता लगाउँछ ।

    रोचक त के छ भने, गिद्धहरुको संसारमा अन्य गिद्धहरुले चाहिँ यसरी गन्धको आधारमा शिकार पहिल्याउन सक्दैन । उनीहरुले देखेको भरमा मात्र आफ्नो भोजन ठम्याउँछ ।

    किवी

    गन्ध थाहा पाउने प्रणाली राम्ररी विकसित भएको अर्को चरा किवी (Nocturnal kiwi) पनि हो ।

    न्यूजिल्याण्डमा पाइने यस चरामा गन्ध थाहा पाउने प्रणाली अति राम्ररी विकसित भएको हुन्छ । यही प्रणालीको मद्धतले यस चराले माटोमुनि रहेको कीरा फट्यांग्राहरुलाई पत्ता लगाएर आफ्नो भोजन बनाउँछ ।

    अन्य चराहरुभन्दा नितान्त भिन्न रुपमा यस किवी चरामा गन्ध थाहा पाउने अंग (Nasal membranes) राम्ररी विकसित भएको हुन्छ । यो अंग यसको टुप्पोको पुछारमा रहेको हुन्छ ।

    प्रतिकृया दिनुहोस्