Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/१९ गते
    २१२ पटक
    नेपालगन्ज ।

    नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ ।

    कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् । भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

    महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै छ सय जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ । नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए ।

    प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो ।

    स्थानीय प्रशासनले चार स्थान सिल गर्ने निर्णय गरेपछि अहिले प्रहरीले सिल गर्ने कामलाई तिव्रता दिएको छ । बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले धम्बोझीको मस्जिद क्षेत्र सिल गरिएर सकिएको बताए ।

    ‘अहिले पनि हामीले शंकास्पद स्थानहरुमा सिल गरिरहेका छौं’ उनले भने, ‘अहिले धम्बोझीको मस्जिद क्षेत्र सिल गरेर अन्य क्षेत्र सिल गर्न जाँदै छौं ।’ प्रहरीले डोरीको सहायताले सिल गर्दै सूचना टाँस गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्