Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/१९ गते
    २८३ पटक
    नेपालगञ्ज ।

    बाँकेको पछिल्लो समय लकडाउन प्रभावकारी हुन नसकेको भन्दै प्रशासनको आलोचना भएपछि स्थानीय प्रशासनले कडाई गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज शुक्रबारदेखि बिहान १० बजेपछि औषधी पसल बाहेक अन्य सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।

    बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा बिहीबार जारी सार्वजनिक सूचना अनुसार केही दिन अघि फितलो बनाइएको लकडाउन बिहीबारदेखि पूर्णरुपमा कडाईका साथ लागु गरिएको उल्लेख छ । सूचनामा आजदेखि बिहान १० बजेदेखि साँझैसम्म बाँकेका सबैक्षेत्र पूर्णरुपमा बन्द गरिनुका साथै अत्यावश्यक बाहेकका सवारीसाधनमा पूर्ण रोक लगाईने समेत उल्लेख छ ।

    औषधी पसल बाहेकका अन्य ब्यवसायीक निकायहरु पनि अब बिहान १० बजेपछि पूर्णरुपमा बन्द हुने स्थानीय प्रशासनले जानकारी दिएको छ । यसअघि बाँके प्रशासनले नै एक सूचना जारी गरि दिउँसो ४ बजेसम्मका लागि अत्यावश्यकका रुपमा रहेका मेडिकलदेखि खाद्यान्न लगायतका पसलहरु खुल्ला गरेको थियो भने शहरमा मानिसहरुको पनि निकै भीडभाड बढेको थियो ।

    लकडाउनको उल्लघंन भएको भन्दै सबैतिरबाट आलोचना बढेपछि बिहीबार बाँकेका केही सांसद सहित बसेको जिल्ला स्थित सुरक्षा संयन्त्रको बैठकले बाँकेमा लकडाउन थप कडाई गर्ने निर्णय गरेको हो ।

    कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बाँकेलाई सुरक्षित बनाउनुको साटो बाँके प्रशासनको लापरबाहीका कारण समग्र बाँके असुरक्षित भएको चौतर्फी आलोचना हुन थालेपछि बाँके प्रशासनले बिहीबार पुनः सूचना जारी गरि लकडाउन थप कडा पार्ने बताउनुपरेको थियो । कोभिड–१९ को संक्रमणबाट बाँकेमा अहिले सम्म एकजनामा पनि कोरोना भाइरस संक्रमण देखिएको छैन ।

    यद्यपी बाँके जिल्ला नेपाल–भारत सीमासंग जोडिएको कारण यहाँ कुनै पनि बेला कोरोना भाइरसको संक्रमण बढ्न सक्ने देखिएको छ । नेपाल–भारत सीमा पूर्णरुपमा बन्द गरिएपनि पछिल्लो समय यहाँका छोटी तथा चोरनाका र मुख्य भन्सारबाटै तरकारी तथा खाद्यान्न ढुवानीकर्ता भन्दै थुप्रै मानिसहरु नेपालगञ्जमा प्रवेश गरिरहेका छन् ।

    बाँके प्रशासन र प्रहरीले यसको रोकथाम गर्न सकेको देखिदैन । यसअघि समेत बाँके प्रहरीले लकडाउन उल्लघंन गर्ने सवारी साधन तथा व्यक्तिहरुलाई कारबाही गरेपछि प्रभावकारी भने बन्न सकेको थिएन । सरकारले लकडाउनको समय आगामी बैशाख २५ गतेसम्मलाई थप गरेको अवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्