Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/८ गते
    १५३ पटक
    नेपालगन्जः

    कोरोना भाइरसको जोखिम बढेसगैं बाँके प्रशासनले नेपालगन्ज ‘लक डाउन’ गरेकोछ । बाँके प्रशासनले नेपालगन्ज ‘लक डाउन’ गरेसगैं अब नेपालगन्जका सम्पूर्ण पसल व्यवसाय बन्द हुनुका साथै सर्वसाधरणको आवागमन पनि रोकिनेछ ।

    आईतबारदेखि लागु हुनेगरि बाँके प्रशासनले नेपालगन्जका खाद्यान्न, औषधि लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।

    संक्रमणको यो कठिन घडीमा कोरोनाको उच्च जोखिम भएको नेपालगन्जलाई सुरक्षित पार्न ‘लकडाउन’ गर्नुपर्ने अवस्था आएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको कोरोना पूर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्क फोर्सको वैठकले यस्तो निर्णय गरेको हो ।

    बजार बन्द गराउनका लागि आईतबार बिहानदेखी माईकिङ्ग सहितको सूचना जारी गरिने नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले सेतोखरीलाई जानकारी दिइन् ।

    यस्तै बैठकले बैठकमा नेपालगन्ज बजार बन्द गर्ने, आईतबारसम्म लायन्स डेण्टल अस्पतालमा ४० बेडसहितको र खजुरा क्यान्सर अस्पतालमा आइसोलेसन स्थापना गर्ने, वडास्तरमा क्वारेन्टाइनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आइसोलेसनका लागि आम नागरिकमा आव्हान गर्ने, कोरोना विरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने लगायतका निर्णय गरिएको छ ।

    यस्तै बैठकले जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि माथिल्लो निकायमा कुटनैतिक पहल गर्नका लागि अनुरोध गर्ने निर्णय गरेकोछ ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्क फोर्सको निर्णय यस्ता छन्,

    १) खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने

    २) आइतवारसम्म लायन्स डेन्टल अस्पतालमा आईसुलेसन स्थापना गर्ने । आईसुलेसन ४० बेडको हुनेछ ।

    ३) वडास्तरमा क्वारेन्टाईनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आईसुलेसनका लागि आम नागरिकमा आव्हान गर्ने

    घ) कोरोना विरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने

    बैठकमा सीमा नाका तत्काल सिल गर्न सहभागीको अपिल ।

    बैठकमा प्रदेशसभा सदस्य कृष्णा केसी,नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, नेकपा बाँकेका सचिव अशोक कोइराला, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, जिल्ला प्रहरी प्रमुख एसपी वीरवहादुर वली लगायतको सहभागिता । उपप्रमुख मगरका अनुसार बजार बन्दको निर्णय आइतवारदेखि कार्यान्वयन हुनेछ ।

    के हो ‘लकडाउन’ ?
    विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा हेरिएको ‘लकडाउन’ कुनै पनि मुलुकका लागि बाध्यात्मक परिस्थिति हो । अर्को शब्दमा भन्दा यो ‘होम क्वारेन्टाइन’को अवस्था हो ।

    छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरूपमा ‘जनता कर्फ्यु’ लगाउने निर्णय गरिसकेको छ । जानकारहरूका अनुसार अहिले हुने चर्चा भएको ‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा हो ।

    ‘लकडाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ । ‘लकडाउन’ भएको अवस्थामा विभिन्न क्षेत्रको भौतिक सम्बन्ध निश्चित समयका लागि विच्छेद सम्भावना रहन्छ ।

    ‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो । त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ ।

    यसबाहेक स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित भइसकेका छन् । शुक्रबारबाट देशभरका अदालतसमेत बन्द भएका छन् । सार्वजनिक यतायतमा पनि सुरक्षा अपनाइएको छ । सरकारले निश्चित समयका लागि होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र सरकारी कार्यालयसमेत बन्द गरेकोछ ।

    प्रतिकृया दिनुहोस्