Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/७ गते
    १८२ पटक
    कोहलपुर ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका, ४ विनौनामा एक बालकको हत्या गरेर फालिएको अवस्थामा शवं फेला परेको छ ।

    गत चैत्र ५ गते विद्यालयबाट परीक्षा दिएपछि घर नफर्केका सोही ठाउँका ८ वर्षिय अरविन्द चौधरीको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान शवं फेला परेको हो । स्थानीय बासीले बच्चाको हत्या भएको आशंका गरेका छन् ।

    उनीहरुले बच्चाको शरीरका विभिन्न भागमा चोट देखिएकोले हत्या गरिएको दाबी गरेका हुन् । बच्चा हराएपछि नै अभिभावकले बच्चालाई कसैले गायब बनाएको आशंका गर्दै इलाका प्रहरी कार्यालय धामपुरमा खोजीका लागि जानकारी दिएका थिए ।

    मृतक अरविन्दका बुवा रामकुमार सुर्खेतमा ठेक्कापट्टाको काम गर्छन् । उनीसँग कसैको लेनदेन विवादको मुद्दाका कारण प्रहरीसम्म विवाद पुगेकाले त्यही विवादसँग पनि यो घटना जोडिएको आशंका पीडित परिवारले गरेको छ ।

    ‘स्कुलबाट नफर्किएपछि सबैले अपहरणको आशंका गरेका थिए, एक जना आफन्तले भने, ‘सबैतिर खोजी गरियो फेला नपरेर चिन्तित रहँदा आज यस्तो फेला प¥यो ।’ तीन दिनदेखि स्थानीयबासी र स्थानीय प्रहरीले खोजी जारी राखेका थिए ।

    सबैतिर खोज्दा पनि बालक नभेटिएको अवस्थामा शुक्रबार एक्कासी घरनजिकैको नालामा मृत फेला परेपछि स्थानीयहरुले हत्या गरिएको आशंका गरेका हुन् । स्थानीय नवज्योति बोर्डिङ स्कूल चिलहिरियामा कक्षा १ मा अध्ययनरत अरबिन्द घरको एक्लो सन्तान थिए ।

    यता इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए । ‘अहिले नै कसरी मृत्यु भएको भन्ने सक्ने अवस्था छैन ।

    पोखरीबाट हामीले शवं निकालेर पोष्टमार्टमका लागि पठाएका छौं’ उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि केही कारण खुल्नसक्छ ।’

    प्रतिकृया दिनुहोस्