Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/१८ गते
    २०० पटक
    नेपालगञ्ज ।

    बाँकेको नेपालगञ्जमा भव्य समारोहका बिच आइतबारबाट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण सुरु भएको छ । प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए ।

    उनले प्रदेशलाई चिनाउनका लागि यस खालका खेलकुद आवश्यक रहेको भन्दै प्रदेश सरकारबाट सक्दो सहयोग हुने बताए । आइतबार नै भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफले विजयी सुरुवात गरेको थियो ।

    पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लवलाई ३–१ सेटमा पराजित गरि विजयी सुरुवात गरेको हो । एपिएफले २३–२५, २७–२५, २५–१७ र २५–२३ को प्रतिष्पर्धात्मक सेटमा आर्मीलाई पराजित गरि विजयी सुरुवात गरेको थियो ।

    प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लव, नेपाल आर्मी, सशस्त्र प्रहरी, आयोजक नेपालगञ्ज ६, न्यू डायमण्ड र भारतीय टिम गरि ६ समूहको सहभागिता रहेको मुल आयोजक समितिका संयोजक प्रदेश सांसद कृष्ण केसी ‘नमूना’ले जानकारी दिइन् ।

    उनका अनुसार प्रतियोगिताका विजेतालाई रु. दुई लाख, उपविजेतालाई रु. एक लाख र तृतीय स्थान हासिल गर्नेलाई ५० हजार नगद, ट्रफी र पदकले पुरस्कृत गरिनेछ । यसैगरी बिभिन्न विधामा उत्कृष्टलाई पनि नगदले पुरस्कृत गरिनेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

    प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथोमा भारतीय रेलवे टिम तथा पाँचौंमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेका थिए । यसपटकको प्रतियोगितामा दक्षिण एशियाली अन्य देशबाट टोली सहभागी हुने निश्चित भएपनि कोरोना भाईरसका कारण अन्तिम समयमा सहभागी हुन नसकेको र विदेशी टोलीको रुपमा यसपटक भारतको एउटा समूह मात्रै सहभागी रहेको सांसद नमूनाले जानकारी दिइन् ।

    प्रतियोगिता आगामी फागुन २२ सम्म सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस्