Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/३१ गते
    १६१८ पटक

    सत्ता राजनीतिमा खुमबहादुर खड्का शक्तिशाली रहँदा कहिल्यै चर्चा र विवादमा नआएकी शिला शर्मा खड्कालाई नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा मनोनयन गरिएपछि उनका बारेमा सर्वत्र जिज्ञाशा प्रकट भएको पाइएको छ ।

    खुमबहादुर खड्काले कसैलाई आफ्नो उत्तराधिकारी बनाउने सोच राखेका थिएनन् र स्वयम् शिलाले पनि उत्तराधिकारी बन्ने मानसिकता बनाउनुभएको थिएन ।

    खड्काको अप्रत्यासित निधनपछि पार्टी सभापति शेरबहादुर देउवाले शिला शर्मा खड्कालाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुलाई पार्टीभित्र सकारात्मक रूपमा लिइएको छ ।

    संविधानसभा सदस्यको जिम्मेवारीसमेत पूरा गरिसक्नुभएकी शिलाको जन्म वि.सं. २०१३ सालमा दाङमा भएको थियो । बल्लभ इन्टरकलेज बनारसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण उहाँको परिवारिक वातावरण राजनीतिक भएकोले सानै उमेरदेखि उहाँमा राजनीतिक चेत थियो । घरपरिवारका सबै सदस्य प्रजातान्त्रिक आन्दोलनमा आबद्ध थिए, त्यसको प्रभाव उहाँमा पनि राम्रैसँग परेको बुझिन्छ ।

    दश वर्षसम्म विद्यालय शिक्षिका भएर सेवा गर्नुभएकी शिलाले २०३६ सालको सङ्घर्षमा सक्रिय सहभागिता जनाउनुभएको थियो । शिक्षण सेवामा रहँदा उहाँ शिक्षक सङ्घ दाङको सदस्य पनि चुनिनुभएको थियो । काङ्ग्रेसको केन्द्रीय सदस्यमा मनोनयनपछि घटना र विचारसँग कुरा गर्दै नेतृ खड्काले भन्नुभयो, ‘पार्टीले नयाँ जिम्मेवारी सुम्पेको छ, दुःखको यो घडीमा थपिएको जिम्मेवारीलाई मैले सुखद मानेको छु ।

    देश बदल्ने सपना देखेर ‘उहाँ’ प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएको थियो, प्रजातन्त्र आएपछि पनि ‘उहाँ’ले उतारचढावपूर्ण अवस्थाको सामना गर्नुप¥यो । पार्टीले जे सोचेर जिम्मेवारी दिएको भए पनि मैले यसलाई चुनौतीको रूपमा लिएकी छु । अबको जिन्दगी पार्टी, प्रजातन्त्र र मुलुकको नाममा समर्पण गर्ने विचार गरेकी छु ।

    ० पति (खुबहादुर खड्का)को निधन हुनुभन्दा पहिले त तपाईं कतै सक्रिय देखिनुभएन, त्यतिबेलाचाहिँ पार्टी र प्रजातन्त्रको सेवा गर्ने इच्छा थिएन ?
    – मेरो श्रीमान्ले पूरै समय पार्टीकाममा दिने गर्नुभएको थियो । दुवैजना पार्टीकाममा मात्र लाग्दा घरको व्यवस्थापनमा समस्या पर्न सक्थ्यो । उहाँले पार्टी हेर्नुभयो, मैले घरको व्यवस्थापन सम्हालेँ ।

    यस्तो दुःखद घटना व्यहोर्नु नपरेको भए म घरव्यवस्थापनमै सीमित भइरहन सक्थेँ । अब त उहाँँको सपना पूरा गर्न पनि म पार्टीमा सक्रिय रहनुपर्छ भन्ने ठानेकी छु ।

    ० पति खुमबहादुर खड्कालाई कसरी सम्झनुहुन्छ र दुनियाले उहाँलाई कुन रूपमा सम्झिदिऊन् भन्ने चाहनुहुन्छ ?
    – जीवनको ३८ वर्ष मैले उहाँसँग बिताएँ । कहिल्यै गुनासो गर्ने ठाउँ दिनुभएन । सामान्य ढङ्गले बितेको भए बरु यति धेरै पीडा हुने थिएन कि जस्तो पनि लाग्छ । चौबीसै घन्टा ‘मिस’ गर्छु उहाँलाई ।

    गुनासो त हामीलाई मात्र गर्ने अवस्था नदिनुभएको होइन, पार्टीका हरेक साथीहरूको गुनासो तत्काल समाधान गर्ने तत्परता उहाँमा थियो । काङ्ग्रेसले एउटा प्रतिबद्ध र इमानदार कार्यकर्ताका रूपमा उहाँको स्मरण गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।

    ० तर, उहाँलाई त पार्टीकै कतिपय नेताहरूले तड्पाई–तड्पाई मारेको भनिन्छ ! तपाईंलाई त्यस्तो लाग्दैन ?
    – बीपी कोइरालाले पत्याएको मान्छे उहाँ । पार्टी, प्रजातन्त्र र देशबाहेक उहाँको दिल–दिमागमा अरू केही भएको महसुस मैले कहिल्यै गरिनँ ।

    मेरो श्रीमान्ले पूरा जीवन अर्पण गरेको पार्टी काङ्ग्रेसकै केही नेताले उहाँलाई यति खेदे कि सम्झिँदा अहिले पनि सम्हालिन गाह्रो हुन्छ । धेरै सताए उहाँलाई ।

    पार्टीभित्रैबाट त्यसरी नखेदिएको भए यति चाँडै उहाँको जीवन अन्त्य हुने थिएन जस्तो पनि मलाई लाग्छ । कहिल्यै पनि चुनावमा उम्मेदवार बन्न नपाइने कानुन बनाइदिएपछि उहाँलाई ‘शक’ भएको थियो । पञ्चायतविरुद्ध लड्नुभयो, वर्षौँसम्म जेल यातना भोग्नुभयो, अनेकौँ दुःखकष्ट व्यहोर्नुभयो, तर त्यसलाई उहाँले हाँसी–हाँसी स्वीकार गर्नुभएको थियो ।

    पञ्चायतले दुःख दिँदा मैले उहाँलाई कहिल्यै निराश र दुःखी देखिनँ । पार्टीकै साथीहरूले खेदेकोमा उहाँ धेरै दुःखी हुनुहुन्थ्यो । आफ्नैले खेद्न थालेपछि त्यसलाई सहजै स्वीकार गर्न उहाँले सक्नुभएन । जसले उहाँलाई दुःख दिए र मृत्युको मुखसम्म पु¥याए तिनलाई भगवान्ले क्षमा दिऊन् भन्ने चाहन्छु ।

    पार्टी कस्तो बनोस् भन्ने चाहनुहुन्छ नि ?
    – पार्टी एकताबद्ध र सक्रिय होस् । गुटबन्दी नहोस्, यो या त्यो धार नहोस् भन्ने चाहन्छु । पार्टी आफ्नो दृष्टिकोणमा स्पष्ट हुनुपर्छ, एजेन्डा स्पष्ट हुनुपऱ्यो । बीपीले स्थापना गर्नुभएको पार्टीमा बीपी नै उपेक्षित रहने स्थितिको अन्त्य होस् भन्ने चाहेको छु ।

    प्रतिकृया दिनुहोस्