Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/८ गते
    १७१ पटक
    कोहलपुर ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् ।

    गोरखापत्र प्रकाशनद्वारा बुधबार आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उनले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको बताए ।

    ‘सरकारले काम गरिरहेको छ, एउटा त आजैको गोरखापत्र कोहलपुर संस्करणको कुरा हेरौँन । यो पनि काम हो । त्यसैले हामीले भनेका छौँ, हरेक दिन एककदम अगाडि ।

    अब देश पछाडि फर्किन सक्दैन’, मन्त्री बाँस्कोटाले भने । गोरखापत्र सरकारी नभई जनता र राज्यको भएको उल्लेख गर्दै उनले भने, ‘गोरखापत्र सरकारी होइन । गोरखापत्रले सबैका कुरा समेट्छ ।

    सबैका कुरा यसमा आउँछ, पढ्दै नपढेर सरकारीकरण ग¥यो भन्नु गलत कुरा हो ।’ मन्त्री बाँस्कोटाले विगतमा अन्य दलले सञ्चारमाध्यमको दुरुपयोग गरे पनि अहिले त्यस्तो अवस्था नरहेको उल्लेख गर्दै ‘विगतका सरकारले जे जस्तो गरे पनि हामीले त्यसो गरेका छैनौं,’ भने ।

    हरेक देशमा मिडिया सरकारको पनि हुने गरेको प्रसंग जोड्दै उनले नेपालमा केही भयो भने राज्यको आधिकारिकताको लागि स्वतन्त्रतासहित एउटा राज्यको मिडियाको रुपमा गोरखापत्रलाई विकास गर्न खोजेको उनले बताए ।

    मन्त्री बाँस्कोटाले गौरवपूर्ण इतिहासलाई वर्तमानका चुनौतीसँग एकाकार गराएर गोरखापत्र मिडियाको बजारमा सरकारको साँख र काखमा हुर्केर होइन, प्रतिष्पर्धा र पहलकदमीको आधारमा श्रेष्ठ बन्नुपर्ने बताए ।

    ‘यो सत्ता पक्षको होइन, जनताको प्रिय पत्रिका बन्छ । त्यसैको सिलसिलामा विराटनगरमा पक्की भवन र छापाखानासहित प्रकाशन शुरु गरिसकेको र कोहलपुरमा पनि भवन बनाउनका लागि बोलपत्र भइसकेको छ,’ उनले भने, ‘सडकका खाल्डा देखाउन गोरखापत्रले डराउनु पर्दैन तर पिच गरिरहेको छ भने त्यो पनि देखाउन सक्नुपर्दछ ।’

    ‘एक आँखो प्रेस हुँदैन । एक आँखो चिम्लिने त शिकारी हुन्छ । प्रेसले चाहिँ दुईवटै आँखा खुल्ला गर्नु पर्दछ,’ उनले भने, ‘तर अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ, तर जति ठोके पनि केही फरकै पर्दैन । हामी काम गरिरहन्छौँ र काम गर्न छोड्दैनौँ ।’

    प्रतिकृया दिनुहोस्