Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/६ गते
    १३५ पटक
    युएई ।
    मानसिक सन्तुलन गुमाएकी एक नेपाली महिला युएईमा भेटिएकी छिन् ।
    करिब चार महिनादेखि दुवईको अस्पतालमा उपचारार्थ रहेकी अन्दाजी ४०/४५ वर्षकी यमकुमारी थापा दुबईको रसिद अस्पतालमा उपचारको क्रममा भेटिएकी हुन् । स्थायी ठेगानाको बारेमा सोधपुछ गर्दा कहिले गोरखाको सतिपिपल त कहिले हरमटारी बताउने थापालाई गत अक्टोबरमा अचेत अवस्थामा एम्बुलेन्समार्फत अस्पताल ल्याइएको गल्फ न्यूजमा उल्लेख गरिएको छ ।
    गल्फ न्युजलाई उद्धृत गर्दै सामाजिक अभियन्ता अबु बकर भन्छन्, ‘थापाको मस्तिष्कको अप्रेशन भइसकेको छ । तर उनले पुराना कुराहरु सम्झिन सकिरहेकी छैनन् । उथापासग कुनै आफन्त वा साथी पनि छैनन्। उनको रोजगारदाता को हुन् भन्ने पनि पत्ता लगाउन सकिएको छैन । बिगत ४ महिनादेखि हामी थापाका आफन्त, रोजगारदाता वा साथीहरु भेट्टाउने प्रयासमा छौं ।’
    गल्फ न्युज लगायत अन्य सोसल मिडियाहरुले उक्त समाचार प्रकाशित भएपछि नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल र गोरखा समाज युएईका सम्रक्षक उत्तम अधिकारी रसिद अस्पताल पुगेर थापालाई भेटेका छन् ।
    हेर्दा सामान्यजस्तै देखिने तर उनले पुराना कुराहरु सबै बिर्सिएकोले निकै समस्या भएको गोरखा समाज युएईका सम्रक्षक उत्तम अधिकारीले रातोपाटीलाई बताए ।
    उनी निकै त्रसित अबस्थामा छिन्।कहिले गोरखा त कहिले पोखरा घर बताउने थापा आफूले के बोलेको छिनमै बिर्सिन्छिन् । तीन छोरा एक छोरी भएको, कहिलेकाहीँ श्रीमानको घर पोखरा बताउने उनी वैदेशिक रोजगारीको लागि युएई आएको र कुन कम्पनीमा काम गरेको समेत पत्तो छैन ।
    अधिकारीका अनुसार हिजो सोमबार नै अस्पतालले डिस्चार्ज गरेको भएपनि आफन्त र सम्बन्धित निकाय नभएकोले उनलाई अस्पतालमै राखिएको छ ।
    उनीसँग पहिचान खुलाउने कुनै पनि कागजपत्र र राहदानी नभएकोले नेपालको ठेगाना पत्ता लगाउन नसकिएको अधिकारी बताउँछन् । उनले नेपाली दुतावससँग आबुधावीमा सम्पर्क गरिसकेको र दुताबासले अस्पतालसँग समन्वय गरि बिरामीको पहिचान गरेर नेपाल पठाउने बताएको अधिकारीले बताए ।
    सिर्जनाले भनिन्, ‘यमकुमारी मेरी आमा हुन्’
    मानसिक सन्तुलन गुमाएर रसिद अस्पताल दुबईमा उपचार गराइरहेकी बेबारिसे यम कुमारी थापा आफ्नी आमा भएको सिर्जना थापाले बताएकी छिन् । उनले उनकी आमा यमकुमारी थापाको गोरखाबाट जारी भएको नागरिकता नम्बर ५२६९९ र राहदानी नम्बर ४८६५२७७ भएको दाबी गरेकी छिन् ।
    गोरखा जिल्ला गोरखा नगरपालिका फिनाम–८ ढुङ्गाडे घर भएकी यम कुमारी रोजगारीको लागि चार बर्ष पहिले युएई गएको छोरी सिर्जना बताउँछिन् ।
    बुबा लालबहादुर थापासहित तीन दाजु र एक बहिनी र उनी गोरखा बस्दै आएका छन् । एक महिना अघिसम्म सम्पर्क रहेकी आमा यमकुमारी एक्कासी सम्पर्क्विहिन भएपछि उनी युएई गएको म्यानपावरमा सम्पर्क गरेको सिर्जना बताउँछिन् ।
    तर म्यानपावरले यमकुमारीको कुनै डाटा नभएकोले सम्पर्क गर्न नसकिने बताएको थियो । युएई रहेकी आमा यमकुमारीसँग एक महिना पहिला टेलिफोनमा कुरा गर्दा आफूलाई रक्तचाप बढेकोले बिरामी भएको जानकारी गराएकी थिइन् ।
    उनले घरमा काम गरेकाले त्यस्तो भएको र घरको काम छोडेर कम्पनीमा भिसा लगाउने तयारीमा रहेको समेत जानकारी दिएकी थिइन् । शहिद लखनथापा गाउँपालिका–७ बुङकोटका वडाअध्यक्ष सरण श्रेष्ठले यम कुमारी थापालाई नेपाल ल्याउँन गाउँपालिकाबाट सम्पुर्ण सहयोग गर्ने बताएका छन् ।
    उनको घर गोरखा नपा ढुङ्गागाडे र माइतीघर साबिक बुङ्कोट–४ वयाक भएको थापालाई नेपाल ल्याउन पहल गर्ने बताएका छन् । उनको श्रीमान् लालबहादुर थापा मानसिक सन्तुलन गुमाएकी यमकुमारी आफ्नो श्रीमती हुन् भन्दै परराष्ट्रमा निबेदन दिन काठमाडौं आएका छन् ।
    प्रतिकृया दिनुहोस्