Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
    १८७९ पटक
    नेपालगञ्ज ।

    बाँकेको नेपाल भारत सिमा नाका जमुनाहाबाट ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । २४ घण्टाभित्र प्रहरीले भारतबाट नेपालगञ्ज ल्याउँदै गरेको ठूलो परिमाणको विभिन्न लागुपदार्थसहित चार जनालाई पक्राउ गरेको हो ।

    बिशेष सुचनाको आधारमा बाँके प्रहरी, जमुनाहा प्रहरी र लागुऔषध ब्युरोको टोली संयुक्त रुपमा ठूलो परिमाणको लागुऔषधसहित ओसारपसार संग्लनलाई पक्राउ गर्न सफल भएका हुन् ।

    शनिबार साँझ सिमावर्ती बजार रुपैडिहाबाट नेपालगञ्ज आउँदै गरेका कैलाली टिकापुर नगरपालिका १ का विष्णु पुरी र शिवराज पुरी १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परे ।

    भे ९ प ६५२९ नंम्बरको स्कुटीको अगाडिको टायर कभरमा लुकाएर उनीहरुले ब्राउन सुगर ल्याएका थिए । पक्राउ परेकाहरु नातामा दिदिभाई भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए ।

    त्यसैगरी त्यसको केही बेरमा नै नेपालगञ्जतर्फ आउँदै गरेका भारत बहराईच थाना मोतिनगरका २५ बर्षिय अब्दुल रसिद नामका चाँद बाबुलाई २ सय ग्राम ब्राउन सुगर सहित प्रहरीको फन्दामा परे ।

    बिशेष सुचनाको आधारमा उनीलाई कुरिरहेको प्रहरीले लामो समयसम्म शरिरभरी खानतलासी लिएको थियो । सुचना पाएको प्रहरीले पुरै शरिर खानतलासी गर्दा समेत कतै लागुऔषध ब्राउन सुगर फेला पार्न सकेन ।

    अन्तमा प्रहरीले उनले प्रयोग गरेको हेल्मेटमा प्रहरीले आखाँ लगायो । यो अप्रेशनमा संग्लन एक प्रहरीका अनुसार चाँद बाबुले हेल्मेट भित्र प्वाल पारेर भित्र ब्राउनसुगर लुकाएका थिए ।

    प्रहरी उपरीक्षक ओलीले यो ब्राउनसुगर कारोबारीहरुबिच पैसामा कुरा नमिल्दा सुचना लिक हुँदा प्रहरीले समात्न सफल भएको बताए । ‘२ सय ग्राम ब्राउन सुगरको मुल्य नमिल्दा यसको सुचना प्रहरीलाई प्राप्त भयो’ उनले भने, ‘पक्राउ परेकाले २३ लाख र किन्ने २२ लाख दिन्छु भन्नेमा कुरो नमिल्दा कुरा बाहिरिएको हो ।’

    आइतबार बिहान जमुनाहा नाकाबाटै नै प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित इन्जेक्सन सहित एक जनालाई नियन्त्रणमा लिएको थियो । नेपालगञ्ज २ घरबारीटोलका २२ वर्षिय नगेन्द्र रानालाई डाईजेपाम ९५, लोरी १ सय र ईमिमिग्रेन १ सय पिस ईन्जेक्सन सेरेलेक्स र सोनपापडि मिठाईको बट्टामा प्याकिङ्ग गरी ल्याउदै गरेको अवस्थमा नियन्त्रणमा लिएको हो ।

    प्रहरी उपरीक्षक ओलीले प्रहरीले लागुऔषध कारोबारीहरुका डिलर खोजिरहेको बताए । ‘जिल्लामा विभिन्न स्थानहरुमा लागुऔषधका धन्दा चल्ने ठाउँहरुमा प्रहरीले नजर लगाइरहेको छ’ उनले भने, ‘पछिल्लो केही समययता मात्र हामीले तीन जना ठूला डिलर पक्राउ गर्न सफल भएका छौं ।’

    चालु आर्थिक वर्षको माघ महिनासम्म १ सय ५९ लागु औषध कारोबारीलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । ‘१ सय ८ मुद्धामा ६ भारतीय नागरिकसहित १ सय ५९ जनालाई पक्राउ गरेका छौं’ प्रहरी उपरीक्षक ओलीले भने, ‘त्यसमा ५ महिला र १ सय ४८ नेपाली नागरिक छन् ।’

    चालु आवको हालसम्म ६ सय ८ ग्राम ७ सय ४५ मिलिग्राम ब्राउनसुगर, ९ सय ९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७ सय ७५ ग्राम गाँजा, ३ सय एमएल कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको बाँके प्रहरीले जनाएको छ ।

    प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा १ सय ३७ लागुऔषध मुद्दामा १ सय ८०, आव २०७४/०७५ मा १ सय ४५ मुद्धामा ३ सय १० र आव २०७५/०७६ मा २ सय ४९ मुद्दामा ३ सय ७६ जना लागु औषध कारोबारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको थियो ।

    प्रतिकृया दिनुहोस्