Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    ४३ पटक
    काठमाडौं

    भिस्तारा एयरले काठमाडौं–दिल्ली उडान थाल्ने भएको छ। आगामी माघ २८ गतेबाट उसले काठमाडौं–दिल्ली रुटमा हवाई सेवा थाल्ने भएको हो। आजैदेखि सो एयरको टिकट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।

    सो अवसरमा भिस्ताराका कार्यकारी प्रमुख लेस्ली थेङले यो उडानले पर्यटन भ्रमण वर्ष २०२० लाई सघाउने बताए। दिल्ली–काठमाडौं–दिल्लीको दुईतर्फी हवाई भाडा भारु ९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

    त्यस्तै काठमाडौं–दिल्ली–काठमाडौंको भाडादर नेपाली १६ हजार ९९९ रुपैयाँ तोकिएको छ। व्यवसायिकतर्फ, दिल्ली–काठमाडौं–दिल्लीको भाडादर भारु ३९ हजार ९९९ रुपैयाँ तथा काठमाडौं–दिल्ली–काठमाडौंको भाडा नेपाली ६१ हजार ९९९ रुपैयाँ तोकिएको छ।

    दिल्लीबाट दैनिक दिउँसो २ बजे उडेको जहाज काठमाडौंमा सवा ४ बजे अवतरण गर्नेछ। त्यस्तै काठमाडौंबाट साँझ सवा ५ बजे उडेको जहाज दिल्लीमा पौने ७ बजे अवतरण हुनेछ।

    टाटा सोन्स र सिंगापूर एयरलाइन्सको जोइन्ट भेन्चर कम्पनी टाटा एसआईए एयरलाइन्सले ‘भिस्तारा’ नामबाट उडान भर्दै आएको छ। यसमा टाटा सोन्सको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी ४९ प्रतिशत एसआइएको छ।

    ३४ गन्तव्यमा यसले हवाई सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीले ३२ एयरबस र ७ बोइङमार्फत दैनिक २ सयभन्दा बढी उडान भर्ने गरेको कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्