Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    १११५ पटक

    लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल हुन्, अञ्जली अधिकारी । उनले करिब चार सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । प्रकाश सपुतको ‘बोल माया’ गीतबाट उनी धेरै दर्शकमाझ छाइन् । पछि ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ गीतमा नाचेपछि उनको मोडलिङ उचाई थप बढ्यो । उनीसँग गरिएको अन्तरंग कुराकानी : 

    तपाईंलाई त भ्याईनभ्याई छ है ? 

    पहिलेजस्तो त होइन । पहिले त जस्तो पनि गरिन्थ्यो, अहिले त सेलेक्टेड भिडियो मात्रै गर्छु ।

    तपाईंले त एकैदिन तीन वटासम्म म्युजिक भिडियोको सुटिङ भ्याएको कुरा छ, हो ? 

    पाँच वटासम्मै भ्याएको छु । त्यो त तीजको बेला हो ।

    कसरी सकिन्छ हौ त्यसरी काम गर्न ? 

    बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म ननस्टप काम गरेपछि सकिहालिन्छ नि !

    हैट्, नसकिने रहेछ । ऊर्जा कहाँबाट आउँछ ?

    रेडुबल खाएर (हाँस्दै) ! ढाँटेको होइन, म अलि बढी नै खान्छु रेडबुल । अर्को कुरा, फेरि यो हाम्रो काम हो । परेको बेलामा गर्नु पनि पर्छ ।

    एकै दिन त्यत्रो भिडियोको सुटिङ भ्याउनुको पछाडि मूल कारण पैसा नै हुन्छ होला, हैन ? 

    पैसा मात्रै पनि होइन । त्यो तीजको सिजनमा गरेको हो क्या ! अहिले त दिनमा एउटा काम पनि मुस्किलले हुन्छ ।

    झन प्रतिस्पर्धा उस्तै बढिरा’छ । आउने तीजमा पहिलेजस्तो नहोला । योभन्दा अघिल्लो वर्ष मैले महिनामा कम्तीमा पनि २५ वटा जति भिडियो त गरेकै हुन्थेँ । यो वर्ष अलि कम गर्ने सोचमा छु ।

    पैसाका लागि कति खेलियो अनि कलाका लागि कति ? 

    सबैले काम गर्ने भनेको पहिला त पैसाकै लागि हो । त्यसपछि अरु कारण आउने हुन् । कतिपय सम्बन्धका कारण पनि गर्नुपर्ने बाध्यता हुन्छ, कतिपय काम मनदेखि मन परेरै पनि गरिएको हुन्छ । मूल कारण त पैसै हो नि !

    मोडलिङ तपाईंको सानैदेखिको रहर हो ? 

    रहर नै हो । बच्चैमा कसैले ‘तँ ठूलो भएर के बन्छस्’ भन्दा ‘म हिरोनी बन्छु’ भन्थेँ । कस्तोसँग बिहे गर्छेस् भन्दा लाहुरेसँग गर्छु भन्थेँ । कहाँ बिहे गर्छेस् भन्दा पोखरा भन्थेँ (हाँस्दै) ।

    अहिले पनि रहर त्यस्तै हो ? 

    अब अहिले त भाग्यले कहाँ लेखेको छ त्यतै हुन्छ होला नि (मुस्कुराउँदै) !

    अनि, हिरोइन बन्ने रहर त अझै पूरा भइसकेको छैन नि ! अफर नआएरै हो कि रहर हराएर ? 

    अँ, ‘प्रसाद’ फिल्मको एउटा गीतमा नाचेँ तर फिल्ममा अभिनय नै गरिसकेकी छैन । तीन–चार वटा फिल्मबाट अफर आएकै हो । एउटा त चलेर हिट पनि भयो । ढिलोचाँडो हिरोइन त बन्ने नै हो (हाँस्दै) ।

    हालसालै दोहोरीकी व्यस्त मोडल करिश्मा ढकालले दोहोरीका मोडलहरु दोहोरी क्षेत्रबाटै हेलामा परेको अभिव्यक्ति राख्नुभयो ।

    फिल्मका हिरोइनहरुलाई लाखसम्म दिन पनि तयार हुने तर दोहोरीमै लागेका मोडललाई १०–१५ हजार दिन पनि कन्जुस्याइँ गर्ने उहाँको तर्क थियो ।

    तपाईं यसमा सहमत हो ? 

    यो मेरो गुनासो होइन है ! कति पारिश्रमिक लिने, कसरी काम गर्ने त्यो कलाकारमा भर पर्ने कुरा हो । पहिले फिल्मका कलाकारले दोहोरी भनेपछि अर्कै किसिमले हेर्थे ।

    अहिले उहाँहरु आफैँ दोहोरीमा नाच्न आउनु त गर्वको कुरा हो नि ! किन आपत्ति मान्नु ? म यसमा ‘जेलियस’ छैन । निर्माताले आफ्नो रोजाइअनुसार पारिश्रमिक निर्धारण गर्ने हो । चित्त बुझ्यो भने खेल्ने नत्र नखेल्ने ।

    तपाईं दोहोरी क्षेत्रको डिमान्डिङ मोडल हो ? 

    दोहोरी क्षेत्रमा जतिसम्म पच्छ, त्यति लिन्छु । आफ्नो स्ट्यान्डमा रहेर काम गर्छु ।

    कति लिनुहुन्छ, भन्न मिल्छ ? 

    त्यो पछि खुलाउँला नि (हाँस्दै) ! हुन्न ?

    मिल्छ भने भन्दिनुस् भन्ने हो ? 

    त्यही २० देखि २५ हजार लिइरहेकी हुन्छु । भिडियो र मेकर्स हेरेर पनि हुन्छ । मैले भनेँ नि, काम दुई किसिमको हुन्छ– एउटा धनको, अर्को मनको ।

    संघर्षका बेला त पैसा बिना पनि खेलियो होला ?

    पैसा बिना त होइन तर हजार, दुई हजारमा पनि खेलियो । त्यो पैसा पाउँदा पनि एकदमै खुशी लाग्थ्यो ।

    कसरी आइपुग्नुभयो मोडलिङ क्षेत्रमा ? 

    मेरो घर बर्दिया हो । चार वर्षअघि बासगढी भन्ने ठाउँमा महोत्सव चलिरा’को थियो । महोत्सवमा काठमाडौंबाट शंकर बिसी, बद्री पँगेनी, पशुपति शर्मा लगायत कलाकार आउनुभएको थियो ।

    बद्री दाइले त्यहाँनेर दोहोरीमा प्रतिस्पर्धा नै घोषणा गर्नुभयो । उहाँले म यहाँ स्टेजमा गाउँछु र स्टेज तल मेरो गीतमा जसले सबैभन्दा राम्रो र जर्बजस्त नाच्न सक्छ, त्यसलाई पाँच सय रुपैयाँ पुरस्कार दिन्छु भन्नुभयो ।

    म पनि पूरा दिल खोलेर नाचेँ । पछि फस्ट पनि म नै भएँ । पाँच सय रुपैैयाँ पनि पाएँ । पुरस्कार थापेपछि मैले उहाँहरु सबैलाई मेरो कलाकारिता रुचिबारे सुनाएँ । त्यसपछि बद्री दाइले ‘हुन्छ, सुरुमा एउटा गीतमा चान्स दिन्छौँ ।

    त्यसमा तिमीले राम्रो गर्न सक्यौँ भने जमिहाल्छौँ नत्र फेरि घर फर्कने’ भन्नुभयो । त्यसको केही समयपछि बद्री दाइकै एउटा गीतमा काम गर्ने मौका पाएँ । त्यसमा राम्रो भयो । बिस्तारै अफर बढ्दै गयो । त्यसरी यहाँसम्म आइपुगे ।

    दर्शकमाझ तपाईं बढी नोटिस्ड भएको त प्रकाश सपुतको ‘बोल माया’ गीतबाटै हो नि, हैन र ?

    हो । ‘बोलमाया’ बाटै हो । त्यसपछि ‘वनकी चरी’ले पनि धेरै चिनाउन मद्दत ग¥यो । चिनाउन हेल्प गर्ने अरु पनि थुप्रै गीत छन्, जस्तै ‘पसिना आइराछ’, ‘बत्ती बाल्नै पर्दैन ।’

    फिल्ममा नाच्नका लागि कसरी अफर आयो ? 

    निर्देशक शिव विक दाइको गीतको सुटिङ परेको थियो । उहाँले त्यतिबेला ‘वनकी चरी’ गीत सुनाएर, यो गीत कस्तो छ भनेर सोध्नुभयो । मैले राम्रो छ भनेपछि उहाँले ‘म तिम्रोलागि कुरा गर्दिन्छु’ भन्नुभएको थियो ।

    पछि मैले अभिनय गरेको ‘बोल माया’ गीत फिल्मको टिमलाई देखाउनुभएछ । मलाई त्यही गीतमा हेरेर लिने निर्णय गर्नुभयो ।

    भनेपछि ‘बोलमाया’ गीतकै कारण फिल्मको गीतमा नाच्न पाइयो ? 

    अँ, त्यस्तै भयो ।

    मोडलिङ क्षेत्रमा लागेको यो चार वर्षलाई आफैँले समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?

    संघर्ष गर्नुपर्ने रहेछ । सबैले सहयोग गर्छन् भन्ने हुन्न । नयाँनयाँ मान्छेहरुसँग नयाँनयाँ ठाउँमा चिनजान हुन्छ । त्यहाँ कति जनाले प्रेम गर्नुहुन्छ, कति जनाले गर्नु हुन्न । त्यो पनि सहनुपर्छ ।

    एउटा छोरी मान्छे भएर इन्डस्ट्रीमा लागिसकेपछि विभिन्न खाले प्रश्नहरु उठ्छन्, त्यसलाई पनि सहनुपर्छ । जस्तो, मेरै गाउँघरमा पनि म दोहोरीमा नाच्न आइपुगेको पचेको थिएन । मेरै घरमा ममीलाई छरछिमेकले प्रश्न गर्थे । समाज त त्यस्तै हुनेरै’छ । ए छोरीलाई त्यहाँ पठाइस्, अब बिग्रिन्छे, अब भत्किन्छे, अब बर्बाद हुन्छे भन्दै टिप्पणी गरेछन् ।

    अरु त अरु मेरो ममीलाई ड्याडी र दाइलेसम्म टर्चर दिनुभयो त्यतिबेला । तर ममीको पूरा सहयोग थियो । बाबाको सपना त मलाई स्टार्फ नर्स बनाउने थियो तर हिरोनी बन्न भागेर काठमाडौं आइपुगेँ । उहाँ पनि रिसाउनुभएको थियो । जब मेरा भिडियोहरु रिलिज हुन थाले, त्यसपछि उहाँ पोजिटिभ हुन थाल्नुभयो । अहिले त ममीभन्दा बढी मेरो भिडियो बाबाले सेयर गर्नुहुन्छ ।

    बिहे गर्ने उमेर त भइसक्यो होला नि ? 

    कहाँ हुनु ? ०५४ साल असोजकी त हुँ । बल्ल २२ वर्ष पुग्दैछु ।

    २२ मात्रै ? 

    हेर्दामात्रै बूढी देखिने हो (हाँस्दै), मान्छे त सानै हो नि ! तर मान्छेहरुले मलाई दिदी नै भनेको मनपर्छ । रेस्पेक्ट गरेजस्तो लाग्छ क्या (हाँस्दै) !

    विश्वभर अहिले मीटू मुभमेन्ट चलिरहेको छ । हालै शुक्रवारसँग रंगमञ्चका कलाकारले त्यहाँ हुने यौन दुव्र्यवहारबारे खुलेर अनुभव सेयर गरे ।

    दोहोरी क्षेत्रमा पनि चान्स मार्न खोज्नेहरुको कमी छैन । त्यस्ता मान्छेहरुको सामना तपाईंले कत्तिको गर्नुप-यो ?

    सुरुमा आउँदाखेरी नै जग बलियो भएर होला मलाई कसैले हेप्न सकेन । सिनियर दाइहरु बद्री पंगेनी, पशुपति शर्मा, शंकर बिसीहरुको सपोर्ट थियो, त्यही भएर पनि कसैले केही गर्ने हिम्मत गरेन ।

    सायद म अर्कै माध्यमबाट आएको भए मलाई पनि त्यस्तो प्रयास हुन्थ्यो होला, नहुने होइन । छोरी मान्छेहरुलाई चान्स मार्न कसले खोज्दैन र, खोजिहाल्छ नि ! तर, आफू सचेत हुनपर्छ त्यस्तो कुरामा । एकपल्ट कार्यक्रममा जाँदाखेरी आयोजकका दाइहरुले बसेर वाइन खाऊ न, हुक्का तानौँ न, रुमसँग पु¥याइदिउँ ? जस्ता प्रस्ताव गर्न थाल्नुभएको थियो ।

    टचसम्म गर्न खोज्नुभएको थियो । त्यो बेलामा म अझै बच्चै थिएँ । उहाँको नियतमा समस्या देखेपछि तत्कालै शंकर दाइ (बिसी)लाई फोन लगाएर मलाई यस्तोयस्तो भनिरा’छ भनेर सुनाएँ ।

    शंकर दाइले फोन देऊ, म कुरा गर्छु भन्नुभयो । लास्टै झपार्दिनुभएछ । त्यसपछि चुप लाग्यो । त्यसैले म सधैँ भन्छु, सहेर बस्नुहुन्न । कि आफैँले प्रतिकार गर्नुपर्छ, आफैँ  सकिँदैन भने सिनियर दाइहरुलाई तत्कालै सुनाएर भए पनि एक्सन लिनुपर्छ ।

    शक्ति र सत्तामै हुनेहरुबाट नै धेरै दुव्र्यव्यहार हुने गरेको पाइन्छ । सिनियरहरुबाटै तपाईंलाई कहिल्यै समस्या भएन ?

    मलाई त्यस्तो भएन । किनभने मैले ती सिनियरहरु सबैलाई आफ्नो अभिभावक बनाएँ ।

    पछिल्लो समय दोहोरी गीत एकदमै फोहोरी भएको देखिन्छ । सहमत हुनुहुन्छ ?

    केही समयअघिसम्म व्यापक थियो तर अहिले सुधार भएको छ ।

    द्विअर्थी र भद्दा शब्दले भरिएका त्यस्ता गीतहरुमा एक समय तपाईंले पनि खुब नाच्नुभयो । अप्ठेरो लागेन ?

    अधिकांश गीत त्यस्तै निस्किन्थे । भ्यूज पनि त्यस्तैका बढी आउँथे । घरमा आर्थिक अवस्था एकदमै कमजोर थियो । त्यसैले नाच्न पथ्र्यो, नाचियो । तैपनि अप्ठेरो त लाग्थ्यो ।

    घरमा ममी, ड्याडीदेखि दाजुभाइ सबले हेर्थे, अप्ठेरो त भइहाल्छ नि ! तैपनि त्यो बाध्यता थियो । अहिले सम्झिदा त्यस्तो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ ।

    तीन वर्षअघि एउटा इन्टरभ्यूमा तपाईंले मोडलिङमा आउनुअघि ब्वाइफ्रेन्डसँग ब्रेकअप भएको बताउनुभएको रहेछ । अहिले त नयाँ बनाइसक्नुभयो होला ? 

    थ्याङ्क गड, त्यतिबेला ब्वाइफ्रेन्डले ब्रेकअप दियो र त म अहिले यहाँसम्म आइपुगेँ । ब्वाइफ्रेन्डलाई बोकेर हिँडेको भए त कहाँ पुग्थे कहाँ ! यो क्षेत्रमा आइपुग्न त रत्तिभर सपोर्ट थिएन । कि इन्डस्ट्री कि मलाई रोज रे ! मैले इन्डस्ट्री रोजेँ ।

    अहिले को छ नि ब्वाइफ्रेन्ड ?

    छैन हौ (हाँस्दै) ।

    अनुहारले प्रस्टै भनिराछ, ढाँट्नुभयो ? 

    मैले अहिले मेरो ब्वाइफ्रेन्ड छ भनेँ भने भोलि उसले मलाई छोड्यो भने (हाँस्दै) ? त्यसैले छैन क्या !

    अघि लाहुरे बिहे गर्ने रहर सुनाउँदै हुनुहुन्थ्यो । पक्कै लाहुरे नै होला ? 

    यत्रो संकेत गरेपछि त बुझ्नुपर्ने हो । ब्रिटिस आर्मी हो । अहिलेलाई त्यति बुझ्नुस् ।

    यो मनोरञ्जन क्षेत्रको के कुराले चित्त दुख्छ ? 
    अस्ति एउटा अवार्डमा कपाललाई कर्ली बनाएर गएकी थिएँ । अंग प्रदर्शन गरेको थिइनँ तर कपाललाई लिएर हेर्न नहुने, पढ्नै नसकिने कमेन्ट्स आएको थियो ।

    लङ ड्रेस लाएकी थिएँ तर कपाल त्यस्तो गरेको भन्दैमा त्यसरी गाली गर्नुभयो कि घरबाट ममी ड्याडीसम्मको फोन आयो । मान्छेहरुले मुखै छाडेर गाली गरेका थिए । लास्टै चित्त दुखेको थियो त्यो बेलामा ।

    अर्चना पनेरुदेखि दुनियाँको पोर्न मुभी हेर्न हुने, मेरो कर्ली कपाल हेर्न नहुने ? कहाँको नियम हो त्यो ? मलाई त्यत्तिकै चित्त दुखेको होइन क्या ! ममीले रुँदै फोन गर्नुभयो, यो काम नै छोड्दे भनेर । अनि चित्त दुख्दैन त, आफैँ भन्नुस् न ।

    प्रतिकृया दिनुहोस्