Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/९/२४ गते
    १६० पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा बिहीबारदेखि सुरु भएको तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी एवं पर्यटन महोत्सव २०७६ भद्रगोल हुने देखिएको छ ।

    कोहलपुर क्षेत्रका व्यवसायीहरुको चर्को विरोधका बिच बिहीबारबाट सुरु भएको महोत्सव कमजोर व्यवस्थापनका कारण भद्रगोल हुने देखिएको हो । बिहीबारको उद्घाटन समारोहमा समेत अत्यन्तै कमजोर व्यवस्थापन थियो ।

    महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति र महिला उद्यमी संघ कोहलपुर रहेको छ । महोत्सव मुल आयोजक समितिका संयोजक हेमविक्रम जिसीले मंगलबार पत्रकार सम्मेलन नै गरेर महोत्सव अहिलेसम्मकै भव्य हुने बताएपनी उद्घाटन समारोह नै अहिलेसम्मकै भद्रगोल भएको थियो ।

    महोत्सवको संघिय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका थिए । आयोजकको कमजोर व्यवस्थापनका कारण उद्घाटन समारोहमा बोल्ने अतिथीहरु रोस्टम छोडेर बाहिर आएर बोल्नुपरेको थियो । रोस्टम पछाडी उभिएर बोल्दा अगाडिका दर्शकहरुले देख्ने बातावरण नभएपनी अतिथीहरु रोस्टम छोडेर बोल्न बाध्य भएका थिए ।

    सम्रगमा आयोजकको व्यवस्थापन कमजोर रहेको कोहलपुर ४ बाट महोत्सव अवलोकन गर्न आएका रामकृष्ण रावलले बताए । ‘प्रचार गरिएजस्तो महोत्सव व्यवस्थापन देखियो’ उनले भने, ‘यस्तो व्यवस्थापन आगामी दिनमा पनी हुने हो भने दर्शकहरुले दुख पाउनेछन् ।’ अग्लो रोस्टमले गर्दा उद्घोषक र बोल्ने अतिथीहरुलाई देख्न समस्या भएको उनले बताए ।

    महोत्सवको साउण्ड सिस्टमको कारण महोत्सव स्थलभित्र नै रहेका मानिसहरुले राम्रोसँग सुन्न सकेनन् ।

    बुधबार साँझदेखि परेको वर्षाका कारण महोत्सव स्थल हिलाम्मे भएको थियो । तर आयोजकले अतिथीहरु हिड्ने बाटोमा भुस हालेर सहज बनाएपनी स्टल, दर्शक आउने बाटो र महोत्सव परिसरमा भने कुनै मतलब गरेको थिएन ।

    ‘हिलोका कारण कहिल्यै नपाएको दुख पाइयो’ महोत्सव स्थलमा भेटिएका बैजनाथ गाउँपालिका १ बाट आएकी धनसरा रानाले भनिन्, ‘आफु हिड्ने बाटोमा भुस हालेर राम्रो बनाएका छन् तर महिला बालबालिका हिड्ने बाटोमा चाही किन हालेनन् कुन्नी ?’

    यस बिषयमा महोत्सव आयोजक मुल समितीका संयोजक जिसी र सचिवालय संयोजक चिन्तामणी उपाध्याय (सिएम) लाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन । महोत्सवको उद्घाटन समारोहमा कोहलपुर क्षेत्रमा अधिकांश उद्योगी तथा व्यवसायीहरुको उपस्थिती थिएन ।

    प्रतिकृया दिनुहोस्