Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२३ गते
    ४०१ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा आइतबारदेखि जारी आन्दोलन ६ बुँदे सहमतिसँगै टुंगिएको छ । सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सरकार समक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेको थियो ।

    कोहलपुरको पिपरीमा रहेको कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा बिहान १२ बजेदेखि बसेको वार्ता बेलुका ५ बजे ६ बुँदे सहमति गर्दै टुंगिएको हो । ‘विभिन्न ६ बुँदे सहमति गरिएको छ’ बाँकेका प्रजिअ खड्काले भने, ‘अब कार्यन्वयनको पाटोमा ध्यान सबैले दिनुपर्छ ।’

    आइतबार बिहान त्रिभुवन मावि अगाडि ना २ ख ९४५९ नम्बरको ट्रकले सोही विद्यालयमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई किचेर गम्भिर घाइते बताएको थियो । सोही घटनापश्चात कोहलपुरमा आइतबारबाट आन्दोलनले उग्र रुप लिएको हो ।

    विभिन्न माग राख्दै विद्यार्थी तथा अभिभावकहरु आइतबार र सोमबार आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको क्रममा घाइते भएका विद्यार्थी तथा अन्यहरुको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने सहमति भएको छ ।

    सहमति अनुसार दुर्घटनामा परेर दुवै खुट्टा गुमाएकी छात्रा चन्दको शिक्षा दिक्षासहित जीवनयापनको लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न गृह मन्त्रालयमा अनुरोध गरिने उल्लेख छ ।

    यस्तै, घाइते विद्यार्थी, सर्वसाधारण, सुरक्षाकर्मीलाई सुस्वाथ्यको कामना गर्दै सद्भाव वातावरण सिर्जना गर्न प्रहरी प्रशासन सबै राजनीतिक दल, नागरिक समाज, शिक्षक विद्यार्थीहरु लगायत सबै सरोकारवाला पक्षले पहल गर्नका सद्भाव ¥यालीको आयोजना गर्ने, घटना उग्र हुन नदिन प्रहरी प्रशासन र विद्यार्थीबीच कहाँ, कसले, कुन कुन ठाउँमा कमजोरी भयो छानबिन गर्न न्यायिक समिति गठन गर्नका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने, घटनामा आगजनी, तोडफोड भइ पुगेको क्षतिपूर्ति उपलब्ध गराउन सरकार समक्ष अनुरोध गर्ने, घाइतेको उपचार, क्षतिपूर्ति तथा राहतको लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, शैक्षिक संस्था लगायत सरोकारवाला सबैले आ–आफ्नो तह र तप्काबाट आवश्यक पहल गर्ने निर्णय भएको थियो ।

    प्रतिकृया दिनुहोस्