Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/२१ गते
    २५६ पटक
    नयाँ दिल्ली ।

    भारतको तेलङ्गाना राज्यको राजधानी हैदरावाद नजिकै एक महिला चिकित्सकको बलात्कार र हत्यामा संलग्न भनिएका चार युवाको इन्काउन्टर विवादमा तानिएको छ ।

    उनीहरुलाई बलात्कार र हत्या भएको स्थानमै लगेको प्रहरीले उनीहरु भाग्न खोज्दा गोली चलाउनु परेको दावी गरेको छ । प्रहरीको गोली लागेर चारै जना मारिएपछि कयौँले प्रहरीको कदमको स्वागत र समर्थन गरेका छन् भने विरोधमा पनि उत्तिकै सशक्त आवाज निस्किन थालेको छ ।
    भारतको राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटनाको छानविनका लागि एउटा टिम परिचालन गरेको छ । आयोगका तर्फबाट एसएसपीस्तरको एक अधिकारीले छानविनको नेतृत्व गर्नेछन् । छानविनपछि उक्त समितिले प्रतिवेदन पेश गर्नेछ ।
    यस्तै, तेलङ्गाना उच्च अदालतले पनि राज्य सरकारलाई उक्त इन्काउन्टरमा मारिएका चारै जनाको शव आइतबार साँझ ८ बजेसम्म सुरक्षित राख्न र पोस्टमार्टमको भिडियो अदालतमा पेश गर्न आदेश दिएको छ ।

    मारिएका अभियुक्तका परिवारले भने अदालतमा मुद्दा चलाउनु अघि नै प्रहरीले मुठभेडमा उनीहरुको हत्या गरेको भन्दै प्रश्न उठाएका छन् । उनीहरुले प्रहरीको तर्कमा आफूहरु विश्वस्त हुन नसकेको जनाएका छन् ।

    इन्काउन्टरको समय
    साइबरावादका पुलिस कमिश्नर वीसी सज्जनारले पुलिस र अभियुक्तबीच शुक्रबार बिहान ५ः४५ देखि ६ः१५ बजेका बीच मुठभेड भएको बताए । यसअघि उनकै विभागका प्रहरीले बीबीसीलाई राति करिब ४ बजे प्रहरीले चारै अभियुक्तलाई जेलबाट घटनास्थल लगेको बताएका थिए ।

    सज्जनारले अभियुक्तहरुलाई एकाबिहानै घटनास्थलमा लैजानु परेको कारण खुलाउँदै भनेका थिए, ‘उनीहरुको सुरक्षाका बारेमा खतरा थियो, मानिसहरुमा उनीहरुप्रति आक्रोस थियो ।’ तर उनको तर्कमा दिल्लीका पूर्व पुलिस उपायुक्त मेक्सवेल परेरा भने सहमत छैनन् ।

    परेराले भने, ‘यो तर्क विश्वसनीय छैन, किनकि प्रहरीले दिउँसै यो काम आरामले गर्न सक्थ्यो, अतिरिक्त प्रहरी बलका साथ इलाका घेराबन्दी गर्न सकिन्थ्यो ।’

    उनले सज्जनारको भनाइमा असहमति जनाउँदै प्रश्न गरे, ‘के भिडले प्रहरीकै उपस्थितिमा उनीहरुको हत्या गर्न सक्थ्यो ? उहाँको भनाइको अर्थ के हो ?’

    केन्द्रीय रिजर्भ पुलिस बलका पूर्वमहानिर्देशक प्रकाश सिंह आफ्नो पालाको केही मुठभेड र छापामारीको घटना स्मरण गर्दै भन्छन्, ‘अँध्यारोमा या एकाबिहानै प्रहरी कारवाहीको एउटा लक्ष्य हुन्छ, अपराधीलाई रङ्गेहात समात्नु ।

    तर यहाँ कसैलाई गिरफ्तार गर्नु थिएन । त्यसैले एकाबिहानैको समय प्रहरीले किन रोज्यो भन्ने यहाँ प्रष्ट छैन । दृष्य रि–क्रिएट गर्न त दिउँसै आरामले सकिन्थ्यो । दिउँसो अझ राम्रोसँग काम हुन्थ्यो ।’

    वरिष्ठ पत्रकार एन वेणुगोपाल राव प्रहरीले ‘सिन रि–क्रिएट’ गर्नु परेको तर्क गरेकोमा सहमत छैनन् । उनी यसलाई अनावश्यक मान्छन् । उनले भने, ‘सार्वजनिक रुपमा यी चारैजना महिला चिकित्सकको बलात्कार र हत्याका अभियुक्त थिए, प्रहरीले पनि एक साता अघि प्रेस विज्ञप्ति जारी गर्दै यी चारैजनाले आरोप स्वीकार गरेको दावी गरिसकेको थियो । चारै जनाले क्यामराको सामुन्ने अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको थियो ।’

    उनले अगाडि प्रश्न गरे, ‘चारै जनाले आफ्नो अपराध लिखित रुपमै स्वीकार गरिसकेको अवस्थामा प्रहरीले उनीहरुलाई घटनास्थलमा लगेर अनुसन्धान गर्नुपर्ने अवस्था किन आयो ? त्यो पनि अँध्यारोमा ।’

    प्रहरीको तयारी
    प्रहरीले चारै अभियुक्तलाई ३० नोभेम्बरमा गिरफ्तार गरेको थियो । त्यसपछि उनीहरुलाई चेल्लापली मजिस्ट्रेटका सामु पेश गरिएको थियो । प्रहरी कमिश्नर सज्जनारका अनुसार ४ डिसेम्बरका दिन उनीहरुलाई पुलिस हिरासतमा राखिएको थियो । ४ र ५ डिसेम्बरका दिन उनीहरुसँग सोधपुछ भयो ।

    सज्जनारले भने, ‘सोधपुछका क्रममा उनीहरुले पीडित महिलाको फोन, घडी, पावर बैङ्क घटनास्थलमा लुकाएको बताएका थिए । हामी तिनै सामानको खोजीमा घटनास्थलमा पुगेका थियौँ । १० जना प्रहरीको समूहले अभियुक्तहरुलाई घेरेर राखेको थियो, उनीहरु चारैजनाको हात खुला थियो ।’

    प्रहरीको अधिकारमाथि खुलेर कुरा गर्दै आएका परेरा शीर्ष अदालतको एक आदेशलाई अव्यवहारिक संज्ञा दिदैँ भन्छन्, ‘सर्वोच्च अदालतले अभियुक्तको हात बाँध्न नमिल्ने आदेश दिएको छ जबकि विश्वमै यस्तो कहीँ हुँदैन ।’

    यस अर्थमा भारतमा अभियुक्तलाई सबैभन्दा बढी मानवअधिकारको सुनिश्चितता रहेको उनको भनाइ छ । तर यही कुरा प्रहरीका लागि भने समस्या बनेको उनले बताए । ‘अदालत भन्छ, हत्कडी लगाउने होइन कि प्रहरीले अभियुक्तको हात समातेर हिँड्नु पर्छ, तर अदालतले प्रहरी जाँच अधिकारीलाई कयौं अधिकार दिएको छ, यो घटनामा प्रहरीले त्यस्ता अधिकार प्रयोगको इच्छाशक्ति देखाएको पाइदैँन,’ उनले भने ।

    प्रकाश सिंह अदालतको आदेश उद्धृत गर्दै भन्छन्, ‘यस्तो अवस्थामा जाँच अधिकारीले नेतृत्व गर्छ, उसले सबैकुरा रेकर्ड गर्छ, जनशक्ति कम भएको वा त्यस्तै कुनै विशेष मौकामा उसले चाहेको अवस्थामा अभियुक्तको हात बाँध्ने निर्णय लिन सक्छ तर त्यसका लागि उसले वरिष्ठ अधिकारीसमक्ष जायज कारण खुलाएर अनुमति लिनु पर्छ र त्यसलाई डायरीमा नोट गर्नुपर्छ ।’यो घटनामा प्रहरीसँग अभियुक्तको हात बाध्न सक्ने अधिकार प्रयोग गर्नका लागि यथेष्ट कारण रहेको उनको दावी छ ।

    ‘उनीहरुको हात बाँध्न सकिन्थ्यो, तर अदालतको आदेशको मूल भावनालाई नबुझिकन तेलङ्गाना पुलिसले यस्तो किन ग¥यो भन्ने प्रश्नको जवाफ उनीहरुले अनुसन्धानका क्रममा दिनुपर्नेछ,’ उनले भने । अभियुक्तमाथि भौतिक दबाब बनाइराख्न प्रहरीले जति तयारी गर्नुपर्ने थियो, त्यो नभएको उनको तर्क छ ।
    मुठभेडको दावी
    परेराले पुलिस कमिश्नर सज्जनारको एउटा दावीलाई संदिग्ध मानेका छन् । सज्जनारले चारै अभियुक्तले प्रहरीमाथि डन्डा, ढुङ्गाले हमला गरेको र दुई प्रहरीको हतियार खोसेको कारण प्रहरीले जवाफी कारवाहीमा गोली चलाउनु परेको दावी गरेका थिए ।

    परेरा भन्छन्, ‘प्रहरी हिरासतमा रहेका अभियुक्तको हातमा डन्डा र ढुङ्गा कहाँबाट आयो ? चार अभियुक्तमाथि १० प्रहरी त्यति कम त हुँदैन, जहाँ अभियुक्तले उसको हतियार खोस्न सकोस् । यदि प्रहरीले गरेकै दावी सही हो भने पनि सिनियर अधिकारीको निर्णयमाथि प्रश्न उठ्न सक्छ, यस्तो लापरवाही किन गरियो भनेर ।’

    प्रकाश सिंह पनि अभियुक्तले प्रहरीको हतियार खोस्न सक्नेमा आशङ्का गर्छन् । उनले भने, ‘यिनीहरु पुलिस हुन् कि रमिते ? २० वर्षका केटाहरुले कसरी पेस्तोल खोस्न सक्छन् ? ड्युटीमा पुलिसले सावधानी अपनाउनु पर्दैन ? ती केटाहरुले हतियार खोसेकै हुन् भने कति राउन्ड गोली फायर गरे भन्ने कुरा पुलिस किन भन्न सक्दैन ?’

    पत्रकार वेणुगोपालको तर्क बेग्लै छ । ‘उनीहरु अपराधी थिए भन्नेमा शङ्का छैन, तर चारै अभियुक्त तनावमा थिए, उनीहरुको उमेर २० कै आसपास थियो । जेलमा उनीहरुलाई खाना दिइएन भन्ने कुरा पनि आएको छ, उनीहरुलाई राखिएको ब्यारेकमा रहेका अन्य कैदीले उनीहरुमाथि कुटपिट गरेको कुरा पनि प्रकाशमा आएको छ ।

    मानिसहरु उनीहरुले वकिल पाउनु हुँदैन भनिरहेका थिए । दुई दिनदेखि उनीहरु न्यायिक हिरासतमा थिए । यस्तोमा प्रहरीसामु उनीहरुले यस्तो हरकत गरेनन् भनेर झट्ट मानिहाल्न पनि सकिदैँन ।’

    यद्यपि उनले अर्को गम्भीर प्रश्न उठाएका छन्, ‘चारै अभियुक्तलाई यो पक्का थाहा हुनु पर्छ कि पुलिसबाट भागेको खण्डमा पनि भिडले उनीहरुलाई जिउँदै जलाउन सक्छ । त्यसैले उनीहरुले भाग्ने कोसिस किन गरे होलान् र ?’

    घाइते प्रहरी
    प्रहरी कमिश्नर सज्जनारले पत्रकार सम्मेलनमा जनाएअनुसार चारै अभियुक्तको इन्काउन्टरमा प्रहरीलाई करिब १० मिनेट समय लागेको थियो । अर्थात् खुला मैदानमा यसबीचमा प्रहरी र अभियुक्तबीच भिडन्त भइरह्यो ।

    यो भिडन्तको अन्त्यमा प्रहरीको गोली लागेर चारै अभियुक्तको मृत्यु भयो तर एउटा पनि पुलिस गोली लागेर घाइते भएन । प्रहरी कमिश्नरका अनुसार मुठभेडमा दुई प्रहरी घाइते भएका छन्, जसलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको टाउको डन्डा र ढुङ्गाबाट चोट लागेको छ ।

    दिल्ली प्रहरीका पूर्व आयुक्त परेरा भन्छन्, ‘प्रहरी कमिश्नरको यो भनाइ लाजमर्दो देखिन्छ । म दिल्ली पुलिसमा हुँदा उत्तर प्रदेशका अपराधी दिल्लीमा आएर आत्मसमर्पण गर्दथे, किनकि उनीहरु उत्तर प्रदेश पुलिसले आत्मसमर्पणका बाबजुद आफूहरुको हत्या गर्न सक्छ भन्ने ठान्थे ।

    देशको कानुनले अपराधीलाई पनि आफ्नो दलिल पेश गर्ने अधिकार दिन्छ । उनीहरुलाई यसबाट वञ्चित गर्न सकिदैँन ।’
    प्रकाश सिंह सर्वोच्च अदालतको निर्देशनअनुसार यो घटनाको जाँच हुने बताउँछन् ।

    प्रत्येक पटक उस्तै कथा
    तेलङ्गानाका वरिष्ठ पत्रकार वेणुगोपाल यस्ता घटना बारम्बार हुन थालेको बताउँछन् । उनले भने, ‘तेलङ्गाना पुलिस (यसअघि आन्ध्र प्रदेश पुलिस) को यस्तो कहानी इतिहासमा धेरै पटक सुनिएको छ, उनीहरु यस्तो कुरामा निपुण छन्, सन् १९६९ पछि उनीहरु इन्काउन्टरको यस्तो संदिग्ध मुद्दा धेरै सुनाउँदै आइरहेका छन् ।’

    यस प्रकारको मुठभेड सुरुमा नक्सलवादीविरुद्ध हुने गरेको उनको भनाइ छ । ‘किनकि नक्सलवादीमाथिको यस्तो मुठभेडमा समाजले कहिल्यै प्रश्न गर्दैनथ्यो, तर २००८÷०९ पछि प्रहरीले यस्तो रणनीतिलाई आमरुपमै प्रयोग गर्न थाल्यो ।’

    उनी आफ्नो प्रदेशमा भएको पहिलो इन्काउन्टरको इतिहास स्मरण गर्दै भन्छन्, ‘यो कहानी १९६९ देखि सुरु भएको हो, त्यतिबेला आन्ध्र प्रदेश पुलिसले कलकत्ताबाट आएका सीपीआई (एमएल) का सात सदस्यलाई रेलवे स्टेशनमा उत्रिनेबित्तिकै गिरफ्तार गर्छ र लगत्तै गोली हानेर मारिदिन्छ ।

    त्यतिबेला प्रहरीले इन्काउन्टरको जुन कहानी सुनाएको थियो, आज पनि इन्काउन्टरमा त्यही कहानी कायम रहेको तर पात्र, मिति र स्थानमात्र फरक हुने गरेको छ ।’

    #बीबीसी हिन्दीबाट

    प्रतिकृया दिनुहोस्