Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/१३ गते
    ८६ पटक
    नेपालगञ्ज ।

    एचआईभी जाँच गराउँन लाज नमान्न सरोकारवालाहरुले सबैलाई आग्रह गरेका छन् । एचआईभी चेक गराउन लाज मान्ने प्रवृत्तिले यो रोग न्युनिकरण गर्न गाह्रो हुने गरेको भन्दै उनीहरुले एचआईभी भए नभएको जाँच गराउँनुपर्नेमा जोड दिएका थिए ।

    बाँकेको नेपालगञ्जमा बिहीबार विश्व एड्स दिवसका अवसरमा पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा सरोकारवालाहरुले उक्त कुरा बताएका हुन् । भेरी अस्पताल नेपालगञ्जका एचआइभी र एड्स फोकल पर्सन डा. संकेत रिसालले एचआइभी र एड्सका बारेमा गलत प्रचार फैलिएको बताए ।

    ‘अहिले पनी हाम्रो समाजमा एचआइभी र एड्सका बारेमा गलत भ्रम रहेको छ’ उनले भने, ‘यसलाई चिर्नको लागि सञ्चार माध्यम तथा पत्रकारहरुले ठुलो भुमिका हुन्छ ।’ एचआइभी जाँच गराउन अहिले पनी धेरै जनाले लाज मान्ने गरेको डा. रिसालले बताए ।

    ‘अहिले पनी समाजमा एचआइभी भए नभएको जाँच गराउन लाज मान्ने गरिन्छ’ उनले भने, ‘यो अन्य रोगहरु जस्तै नै हो समयमा नै अस्पताल पुगे एचआइभी र एड्सलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।’ चेक जाँच गराउन लाज नमान्न आग्रह गर्दै उनले शंका लागे एचआइभी परीक्षण गराउन आग्रह गरे ।

    यो रोग लागेर बाँके जिल्लामा उपचार गराइरहेका मध्ये हालसम्म १४५ जनाको मृत्यु भैसकेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन् २००४ देखि हालसम्म (१५ बर्षमा) बाँके जिल्लामा ११ सय १ जना एचआइभी र एड्सका विरामीहरु फेला परेका छन् ।

    हाल भेरी अस्पताल नेपालगन्जमा ४६१ जना विरामीले नियमित औषधी सेवन गरिरहेको जनाउँदै ५१२ जनाले अन्य जिल्लास्थित अस्पतालहरुबाट औषधी लिएर सेवन गरिरहेको बताइएको छ । गत आर्थिक बर्ष २०७५÷०७६ मा मात्र ८९ जना नयाँ रोगीहरु फेला परेको जनाउँदैे धेरै प्रयासहरु गरिंदै आएपनि रोगीहरु फेला पर्ने क्रम बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    एचआइभी र एड्स लागेका दम्पत्ति मध्येका १४ जना महिलाहरुले गत आर्थिक बर्षमा जन्माएका बच्चाहरु मध्ये १३ जनामा एचआइभी संक्रमण नदेखिएको जनाउँदै जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत अंगद बहादुर शाहीले उपचार र राम्रो निगरानीका कारण सो सफलता मिलेको बताए ।

    यो निकै सराहनीय उपलब्धी हाँसिल भएको जनाउँदै एचआइभी र एड्स लागेका दम्पत्तिले पनि निरोगी बच्चा जन्माउन सक्छन् भन्ने प्रमाणित भएको शाहीको भनाई थियो ।

    प्रतिकृया दिनुहोस्