Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/८/३ गते
    ११३ पटक

    फिल्म ‘लुट’ बाट नेपाली फिल्म क्षेत्रमा नयाँ पहिचान बनाउन सफल अभिनेता हुन् सौगात मल्ल। फिल्म उद्योगमा अभिनेताको परिभाषा बदल्न योग्य कालकार हु्न् सौगात मल्ल।

    हृ्रष्टपुष्ट ज्यान, अग्लो कद, गोरो छाला, चकलेटी अनुहार जस्ता विशेषता बोकेका पात्रलाई अभिनेताको दर्जा दिने फिल्म उद्योगमा फरक भरिभाषा सहित उदाएका पात्र हुन सौगात। सँगै अभिनेता दयाहाङ राई, निश्चल बस्नेत पनि।

    हुन त ‘कागबेनी’, ‘दासढुंगा’ र ‘के यो माया हो’ फिल्ममा ‘लुट’ अघि नै ठूलो पर्दामा देखिएको अनुहार हो सौगात मल्ल। तर, लुटले नेपाली फिल्म बजारमा जुन प्रकारको सफलता पायो त्यस भित्रका एक सफल सदस्य थिए सौगात।

    ‘लुट’ले फिल्म निर्माणमा मात्र नभएर, कलाकार छनोट र कथा बाचनमा पनि नयाँ आधार खडा गरिदियो। त्यसपछि सौगातको करियरग्राफ उकालो लाग्यो।

    लुट पश्चात सौगातले २८ वटा फिल्ममा काम गरिसकेका छन्। तर पछिल्ला वर्षयता उनको अभिनयको जादु चल्न सकेको छैन। फिल्म ‘फाटेको जुत्ता’ र ‘जय भोले’लाई छोड्ने हो भने सौगात बक्स अफिसमा चिप्लिरहेका छन्।

    उनै सौगात अब भने फिल्म ‘माछा माछा’मार्फत पर्दामा देखिन तयारीमा छन्। मंसिर २० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलर र एक आइटम गीत सार्वजनिक गरिसकिएको छ।

    फिल्मको उक्त आइटम गीत निमार्ण युनिटले सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै सार्वजनिक गर्‍यो। ‘म्याडम म्याडम’ बोलको आइटम गीतमा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, बिजय बराल, अनोज पान्डेयसँगै देखिएकी छन् अभिनेत्री सृष्टी श्रेष्ठ।

    सौगातकी प्रेमिका समेत रहेकी सृष्टी फिल्मको आइटम गीतमा भए पनि अटाएकी छन्। यस प्रसंगमा पत्रकार भेटघाटमा उपस्थित अभिनेता सौगात मल्लले आफ्नी प्रेमिकासँग अनस्क्रीन रोमान्स गर्न पाँउदाको खुसी साट्न भ्याए।

    उनले केही लजाएको भावमा, सृष्टीसँगै अनस्क्रीन अभिनय गर्न तथा, उनीसँगै बस्न पाँउदाको पल कति रमाइला र खुसी हुन्छन्, त्यसलाई व्यक्त गर्न कुनै शब्द नै नभएको बताए।

    तर, सौगातले उक्त गीतमा आइटम डान्सका लागि आफूले प्रेमिकालाई अफर नगरेको बताए। निर्माण युनिटले पनि सृष्टिलाई आइटम डान्सका लागि लिनुअघि सौगातलाई जानकारी नदिएको जनाएको छ।

    कार्यक्रममा सौगात लागायत अन्य कलाकारहरूको उपस्थिति रहेपनि सृष्टीको भने उपस्थिति थिएन।

    सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मलाई ‘द सिनेमा आर्ट’को ब्यानरमा निमार्ण गरिएको हो।

    प्रतिकृया दिनुहोस्