Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/२६ गते
    ८१५ पटक
    खगेन्द्र दाहाल । बर्दिया ।

    अहिलेका युवाहरुमा रोजगारी भन्ने वित्तिकै कि त सरकारी जागिर कि त विदेश नै सोच्छन् । सबै युवाहरु पनि कमाउन यी दुई बाटोमै दौडिरहेका छन् ।

    धेरैजसो विदेशबाट असफलता हातमा लिएर पनि फर्केका छन् । कति फेरी फर्के भने कतीले विदेशमा हण्टर खाँदै आफ्नै ठाउँमा रोजगारीको सम्भावना देखि लगानी गरेर स्थापीत हु्न्छन् ।

    पेढेलेखेर जागिर खाने र विदेशमा मात्रै पैसा कमाउनुपर्छ भन्ने मान्यतालाई बर्दियाका एक युवा किसानले तोडेका छन् । पटक पटक असफलता हात लागेपछि अन्त्यमा पशुपालन व्यवसाय अपनाएका बर्दियाका प्रेम लामिछानेले बाख्रापालन व्यवसायबाटै मनग्य आम्दानी लिन थालेका छन् ।
    बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का लामिछानेको अहिले आफ्नै बाख्रा फार्म छ । २८ वर्षिय युवा किसान लामिछाने व्यवसायमा आउनुअघि वैदेशिक रोजगारीमा थिए ।

    विदेशमा हुँदा पैसा कमाएपनि उनले आफ्नै ठाउँजस्तो सम्मान र सहज वातावरण नपाउँदा यतै बस्ने निधो गरे । अंग्रेजी विषयमा डिग्री गर्न काठमाडौ छिरेका प्रेम घरको आर्थिक अवस्था निकै कमजोर भएपछि उतैबाट झण्डै चार बर्ष जति बैदेशिक रोजगारीमा साउदि अरब पुगे, काम गरे र पैसा पनि कमाए ।

    विदेशमा १६ घण्टा सम्म कठोर परिश्रम गर्न परेको सुनाउँदै उनले भने, ‘सोचेजस्तो विदेशमा पैसा कमाउन सजिलो रहेनछ, धेरै दुःख गर्नुपर्छ, केही भइहालेमा पनि आफ्नो भन्ने कोही छैन । त्यसैले मैले आफ्नै ठाउँमा केही गर्ने सोच अनुसार बाख्रा पाल्ने निधो गरेँ ।’विदेशबाट घर आएपछि पनि उनले नेपालगन्जमा मदिराको डिलर सन्चालन गरे । अनुभव विनाको नयाँ व्यवसाय भएकै कारण उनले मदिरा व्यवसायमा निकै घाटा बेहोर्नुप¥यो । विदेशमा कमाएको पैसा सबै मदिरा सञ्चालन गर्दा नै खर्च भयो । फेरी जापान जाने तयारी गरिरहेकै अवस्थामा त्यसै विचमा प्रेम बाँके, बर्दिया, सुर्खेत लगायतका क्षेत्रमा किसानले गरेको प्रगति अवलोकन गरे ।

    रेडियोबाट पनि थुप्रै किसानहरु घरमै बसेर प्रगती गरेको सुने । कृषकहरुको मेहनत र उत्पादन देखेर आकर्षित भएका लामिछानेले अन्नतः विदेश जाने सपना त्यागे र बाख्रा पालनतिर लागे । विगत ६ महिना अघिबाट उनले स्थानीय स्तरमै व्यवसायिक बाख्रापालन सुरु गरेका छन् ।

    ‘शुरुमा बाख्रा पालन गर्दा मेरो मनमा कतै मैले यो यवसाय सुरु गरेर गल्ती त गरेन भन्ने पनि लागेको थियो, तर अहिले निकै खुशी छु, आफ्नै ठाउँमा थोरै समयमा पनि सफलता पाएकोले गौरवाम्भित समेत भएको छु’ उनले भने ।

    युवा किसान लामिछानेको बाख्रा फार्ममा हाल ६० बढि खसि,बोका,बाख्रा, पाठापाठी पुगिसकेका छन । ‘बाख्रा पाल्न सुरु गरेपनि मलाई घरकाले बौलायो पनि भने, सबै पढेर जागिर खाए तर हातमा सर्टिफिकेट हुँदा हुँदै पनि बाख्रा गोठालो भयो भन्ने परिवारको पिरालो थियो । तर अहिले यता राम्रो हुँदा परिवार सबैको साथ पाएको छु,’ उनले आफ्नो अनुभव बताए ।

    लामिछानेले अहिले घरमै रोजगारी पाएका छन । कृषक लामिछाने आफु मात्र नभएर उनका घरपरीवार र एकजना गाउकै व्यक्तीले समेत रोजगारी पाएका छन् । बाख्रा पालन गरेरै ठाकुर बाबा नगरपालिकामा कहलिएका लामिछानेलाई विभिन्न सरोकारवाला निकाय व्यक्तीहरुले समेत हौसला प्रदान गर्दे आएका छन् । विदेशमाभन्दा यहि बसेर आत्मसम्मान मिल्ने भएकाले अब विदेश नजाने लामिछानेले बताए ।

    उनले भने, ‘म अहिले यही खुशी छु, मलाई धेरैले चिन्न थालेका छन् । प्रेमलाई डिग्री सम्मको अध्ययन गरेका भाई रमेशले सघाइरहेका छन । मेरो काम हेरेर अन्य युवाहरुले पनि बाख्रा पालन गर्ने सोच बनाएका छन् ।’ उनले आफ्नो बाख्रा फार्ममा विभिन्न उन्नत जातका बाख्रा विभिन्न जिल्लाबाट खरीद गरेर ल्याएका छन् । नेपालमा पनि राम्रो फस्टाएको बोयर जातको बोका समेत लामिछानेले बाख्रा फार्ममा भित्राएका छन् ।

    बार्षिक दश लाख बढि आम्दानि गर्ने उदेश्यका साथ बाख्रा पालन गरीरहेका प्रेमले एक वर्षमै सय बढी बाख्रा आफ्नो फर्ममा हुने बताए । प्रेमले बाख्रा पालन गर्नकै लागी डेढ विगाह क्षेत्रफलमा विभिन्न जातका डाले घाँसका विरुवा र भुई घाँस लगाएका छन् ।

    छोटो समयमै ठाकुरबाबा नगरपालिका क्षेत्रमै नमुना व्यवस्थित रुपमा चिनिएको उक्त बाख्रा फार्मलाई कृषक लामिछानेले स्थानिय तहमा प्रेसिका एग्री फार्मको नाममा दर्ता गरेरै सन्चालन गरीरहेका छन । ‘बर्दिया जिल्लाकै नमुना बाख्रा फार्मको रुपमा चिनाउने गरी मेहेनत गरीरहेको छु’ उनले भने ।

    प्रतिकृया दिनुहोस्